काठमाडौं। बेलायतस्थित केम्पटन पार्क रेस कोर्समा आयोजना गरिएको १६औँ नेपाली मेला यस वर्ष विशेष धुमधामका साथ सम्पन्न भएको छ।
नेपाली समुदायको सांस्कृतिक एकता र विविधतालाई प्रस्तुत गर्ने यो भव्य मेला हिमालय जेटको प्रायोजनमा सम्पन्न भएको हो।
हिमालय जेटका अध्यक्ष तथा नेपाली व्यवसायी दिपेन्द्र गुरुङको लगानीमा सञ्चालनमा आउन लागेको यो वायुसेवा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेलालाई निरन्तर सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले आगामी १० वर्षसम्म यस मेलालाई प्रायोजन गर्ने यसअघि घोषणा गरेको हो।

बेलायतमा आधारित हिमालय जेटले यसै वर्षदेखि लण्डन, युरोप र अष्ट्रेलियाबाट नेपालमा सीधा उडान गर्ने तयारी थालिसकेको छ। दोस्रो चरणमा विश्वका प्रमुख पर्यटकीय शहरसम्म आफ्नो गन्तव्य विस्तार गर्ने तयारी कम्पनीले गरेको छ।

साथै सन् २०२७ देखि क्यासिनो डेस्टिनेशनको रुपमा मोन्टे कार्लोदेखि मकाउ र लस भेगासमा पनि उडान गर्ने कम्पनीको योजना रहेको छ।
तमु घी यूकेको आयोजनामा भएको मेलामा ४४ भन्दा बढी नेपाली संघसंस्थाले आफ्ना परम्परागत झाँकी र नृत्य प्रस्तुत गरेका थिए। मगर समुदायले कौरा, सारंगा, टप्पा, मयुर पैसारी नाच प्रस्तुत गरे भने नेवार समुदायले सापारु (गाईजात्रा), धिमे नाच र घिन्ताङ घिसी प्रस्तुत गरेका थिए। लिम्बु समुदायले हाक्पारे, धान नाच र च्याब्रुङ देखाए भने किरात समुदायले साकेला नाच प्रस्तुत गर्दै मेलाको रौनक बढाएका थिए।
साथै साना बालबालिकाले वाद्य–यन्त्र बजाएर नेपाली मौलिक पहिचान झल्काएका थिए। मेलामा प्रस्तुत नृत्य र झाँकीमध्ये पासा पुचः गुथी यूकेले एम्बासडर कप जित्दै प्रथम स्थान हासिल गर्यो। किरात याक्थुङ चुम्लुङ यूके दोस्रो र किरात राई यायोख्या यूके तृतीय बने।

झाँकीतर्फ मगर संघ यूके द्धितिय रह्यो भने निर्णायक मण्डलमा साहित्यकार, पत्रकार, अभिनेत्री र कलाकारहरूको सहभागिता थियो। कार्यक्रमका बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे आफ्नो मन्तव्य राखेका थिए।
उनले भने, “कृपया बेलायतमा बस्ने हरेक नेपालीले हरेक वर्ष कम्तीमा आफ्ना तीन जना ब्रिटिश मित्रहरुलाई नेपाल पठाउने प्रयास गर्नुहोस्। आफू जन्मिएको मुलुकको सेवाका लागि आफूसँग रहेको ज्ञान, सीप र प्रविधि नेपाल स्थानान्तर गर्नुहोस्। सम्भव भएसम्म बेलायतमा नेपाली खाना पकाउनुहोस्, नेपालबाट आयात भएका कपडा लगाउनुहोस् र नेपाली भाषा–संस्कृति र चाडपर्व दोश्रो र तेश्रो पुस्तामा स्थानान्तरण गर्नुहोस्। बेलायतमा तपाईं जहाँ भए पनि नेपालको ब्रान्ड एम्ब्यासडरको रूपमा प्रस्तुत हुनुहोस्।”
राजदूत घिमिरे र हिमालय जेटका अध्यक्ष दिपेन्द्र गुरुङका तर्फबाट प्रतिनिधि केभिन हाडले विजयी टोलीलाई ट्रफी र पदक वितरण गरेका थिए। आयोजक तमु घी यूकेका अध्यक्ष जुमकाजी गुरुङ र संयोजक कमल गुरुङले यो ऐतिहासिक मेलालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

‘मिनी नेपाल’ बनेको चर्चित अनि महंगो उक्त बेलायती खेल भेन्यू झण्डै १५ हजार दर्शकले खचाखच थियो। नेपाली खाना, च्यारिटी र अन्य व्यापारिक गरी ७५ स्टलमा किनमेल र खान दिनभर झुम्मिरहे, आगन्तुक।
यस पटकको नेपाली मेला हेर्न बेलायतस्थित विभिन्न कुटनीतिक मुलुकका प्रतिनिधिसँगै दक्षिण कोरियाली र उत्तर कोरियनको समूहसमेत आएको थियो।
