काठमाडौं। झापामा सञ्चालित पाँचतारे होटल मेची क्राउनबाट क्षमादेवी ग्रुप बाहिरिएको छ। २०७७ असोजबाट सञ्चालनमा आएको पाँचतारे होटल मेची क्राउनबाट आफ्नो ११ प्रतिशत शेयर बेचेर क्षमादेवी ग्रुप बाहिरिएको हो।
सञ्चालनमा आएको करिब ६ वर्षपछि बाहिरिएको क्षमादेवी ग्रुपको सम्पूर्ण शेयर सञ्चालक एवं निर्देशक बलराम सापकोटाले नै लिएका छन्। योसँगै अव सो होटलको सबैभन्दा बढी सेयर स्वामित्व सञ्चालक सापकोटाको भएको छ। क्षमादेवी ग्रुपको ११ प्रतिशत शेयर लिएसँगै सापकोटाको मात्र ५१ प्रतिशत पुगेको छ।
‘क्षमादेवी ग्रुपको सेयर लिएसँगै मेरो ५१ प्रतिशत पुगेको छ,’ सञ्चालक सापकोटाले भने ‘बाहिरको सञ्चालकहरूलाई बेच्नुभन्दा ग्रुपमा सल्लाह गर्दा मलाई नै लिनु भन्ने प्रस्ताव आएपछि लिएको हुँ।’ उनले क्षमादेवी ग्रुपलाई कति पैसा दिएर सेयर स्वामित्व लिएको भने खुलाउन चाहेनन्।

मेची क्राउनमा सापकोटा सहित पवित्रा कुमार कार्की र मेरिगोल्ड ज्वेलर्सको संयुक्त लगानी रहेको छ। २०७७ असोजबाट औपचारिक रूपमा सञ्चालनमा आएको सो होटलको सुरुवाती लगानी १ अर्ब ५० करोड रुपैयाँ रहेको थियो। सञ्चालनमा आएको छोटो समयमै पर्यटकको चाप बढेसँगै होटलले तत्कालीन समयमा ६० करोड रुपैयाँ लगानी गरेर १०० वटा कोठा थप गरेको थियो।
यससँगै होटलमा २ सय ५ वटा कोठा रहेका छन्। कोभिडपछि होटल व्यवसाय संकटमा परिरहेका बेला मेची क्राउनले राम्रो व्यापार गरेको थियो।
भारतभन्दा सस्तो मूल्यमै विवाह गर्न सकिने भएकाले पनि धेरैको रोजाइ नेपाल पर्दै आएको छ। भारतीय सीमा नजिकै रहेकाले पनि धेरैले मेची क्राउनलाई वेडिङ डेस्टिनेसन बनाइरहेका छन्।
त्यति मात्र होइन, मेची क्राउनमा नेपालकै सबैभन्दा ठुलो क्यासिनो ‘भेगास’ रहेको छ। भेगास सञ्चालक कम्पनीको भारत गोवामा पनि सञ्जाल रहेकाले धेरै भारतीय मेची क्राउनको क्यासिनोमा खेल्न आउने गरेका छन्।

होटल रहेको स्थानबाट भारतको बागडोरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र १२ किलोमिटरको दूरीमा छ। सो विमानस्थल हुँदै बढी मात्रामा भारतीय र बंगलादेशी नागरिक नेपाल आउने गरेका छन्। पूर्वी नाका काँकडभिट्टादेखि भारत, बंगलादेश र भुटान छोटो दूरीमा रहेकाले त्यहाँका पर्यटक आउने गरेका छन्।
होटलमा पाँच सुइट रूम, १० भिल्ला, २० क्लब रुम र ७० डिलक्स रुम छन्। दुई वटा रेस्टुरेन्ट, ब्यांक्वेट हलसहित हेलिप्याडको सुविधासमेत छ।आठ बिघा क्षेत्रफल ओगटेको मेची क्राउन परिसरमा १ हजार वृक्षारोपण गरिएको छ। यसले वातावरण सुहाउँदो बनाउन सहयोग पुगेको छ। त्यस्तै, स्विमिङ पुल, स्पा सेन्टर, स्टिम बाथ, जिम हल, टेनिस कोर्ट, ब्युटी पार्लर सहित हेलिप्याड समेत भवन परिसरमै छन्।
