काठमाडौं। नेपालको व्यापारिक क्षेत्रमा चुरोटमा एकाधिकार जस्तै कायम गरेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्राइभेट लिमिटेडले आम्दानीमा नयाँ रेकर्ड कायम गरेको छ। मुख्यतया चुरोट र सुर्तीजन्य पदार्थको बिक्रीबाटै कम्पनीले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँको कारोबार गर्न सफल भएको हो।
नेपालमा सबैभन्दा बढी राजस्व बुझाउने निजी क्षेत्रको उद्योगका रूपमा परिचित सूर्य नेपालको यो सुदृढ वित्तीय अवस्था र बजारमा रहेको वर्चस्वलाई ध्यानमा राख्दै रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले यसको साख मूल्यांकन (क्रेडिट रेटिङ) मा ‘ए वान प्लस’ प्रदान गरेको छ। यो रेटिङले कम्पनीसँग आफ्नो वित्तीय दायित्व पूरा गर्ने उच्चतम क्षमता रहेको र कर्जा जोखिम न्यून रहेको पुष्टि गर्छ। कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन बैंक कर्जा सीमाका लागि यो रेटिङ गराएको हो।
चुरोटको एकलौटी बजार र ५ वर्षको व्यापारिक ग्राफ
सूर्य नेपालको आम्दानीको झण्डै ९० प्रतिशतभन्दा बढी हिस्सा चुरोटको व्यापारले ओगटेको छ। विगत ४० वर्षदेखि यो क्षेत्रमा सक्रिय कम्पनीले सस्तोदेखि महँगोसम्मका मूल्यका चुरोट उत्पादन गरी बजारमा आफ्नो पकड जमाएको छ। कम्पनीको पछिल्लो ५ वर्षको वित्तीय विवरण हेर्दा व्यापार निरन्तर उकालो लागेको देखिन्छ।
आर्थिक वर्ष २०७९/८० (सन् २०२३) मा कम्पनीले २८ अर्ब ९९ करोड रुपैयाँको कारोबार गरेकोमा सन् २०२४ मा २८ अर्ब ८१ करोड ८० लाखको व्यापार गरेको थियो। सन् २०२५ मा आइपुग्दा कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतभन्दा बढीले वृद्धि भई ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ पुगेको छ।
कम्पनीका सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, शिखर फिल्टर किंग्स, खुकुरी फिल्टर, पाइलट र चौतारी जस्ता ब्राण्ड नेपाली उपभोक्ताबीच अत्यधिक लोकप्रिय छन्। देशभर फैलिएको १५० भन्दा बढी प्रत्यक्ष डिलरको सञ्जाल र अत्याधुनिक उत्पादन प्लान्टका कारण कम्पनीले बजारको हरेक कुनासम्म आफ्नो पहुँच पुर्याएको छ। यद्यपि कम्पनीले अगरबत्ती र प्याकेज्ड खाद्यान्नको पनि व्यापार गर्छ, तर कुल आम्दानीमा ती क्षेत्रको योगदान निकै कम छ।
ऋणमुक्त वित्तीय संरचना र नगद मौज्दात
सूर्य नेपालको सबैभन्दा सबल पक्ष यसको ऋणमुक्त अवस्था हो। कम्पनीले बैंकहरूबाट कुनै पनि दीर्घकालीन ऋण लिएको छैन। सन् २०२५ को मध्य जुलाईसम्मको तथ्यांकअनुसार कम्पनीको गियरिङ रेसियो मात्र ०.०१ गुणा छ, जसको अर्थ कम्पनी पूर्ण रूपमा आफ्नै पूँजी र आन्तरिक नाफामा टिकेको छ। कम्पनीसँग बैंक निक्षेपमा ४ अर्ब ९७ करोड, ट्रेजरी बिलमा १ अर्ब र नगद मौज्दातमा २१ करोड गरी कुल ६ अर्ब रुपैयाँभन्दा बढी तरल सम्पत्ति रहेको छ। कम्पनीको ब्याज तिर्ने क्षमता ३७० गुणा रहनुले यसको वित्तीय सुरक्षाको असाधारण स्तर झल्काउँछ।
लगानीकर्ता र व्यवस्थापकीय नेतृत्व
सूर्य नेपालमा भारतको ठूलो बहुराष्ट्रिय कम्पनी आईटीसी लिमिटेडको ६१ प्रतिशत सेयर स्वामित्व छ। बाँकी ३९ प्रतिशत हिस्सा नेपाली संस्थागत र व्यक्तिगत लगानीकर्ताको रहेको छ।
आईटीसी इन्डिया चुरोट उत्पादनमा विश्वकै अग्रणी कम्पनीमध्ये एक भएकाले यसको प्राविधिक ज्ञान र अनुसन्धानको लाभ सूर्य नेपाललाई मिल्दै आएको छ। कम्पनीको नेतृत्व अध्यक्ष सञ्जीव पुरीले गरिरहनुभएको छ, जो आईटीसी इन्डियाका पनि अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्।
नयाँ क्षेत्रमा लगानीः होटल र मह निर्यात
चुरोटको व्यापारबाट आर्जित ठूलो नाफालाई कम्पनीले अहिले अन्य क्षेत्रमा विविधीकरण गर्न थालेको छ। सूर्य नेपालले अहिले होटल व्यवसायमा प्रवेश गर्ने योजना बनाएको छ, जसका लागि आवश्यक अर्बौंको पूँजीगत खर्च आफ्नै आन्तरिक नाफाबाट व्यवस्थापन गर्ने कम्पनीको तयारी छ।
कम्पनीको मुख्य प्रवर्द्धक भारतको आईटीसीसँग त्यहाँ विशाल होटल सञ्जाल सञ्चालन गरेको लामो अनुभव र विशेषज्ञता भएकाले सूर्य नेपालले सोही प्राविधिक दक्षतालाई नेपालमा उपयोग गर्नेछ। विशेष पक्ष के भने, यस होटल परियोजनाका लागि कम्पनीले बैंकबाट ऋण नलिई आफ्नै आन्तरिक स्रोत (नाफा) बाट अर्बौंको पूँजी परिचालन गर्ने लक्ष्य राखेको छ, जसले कम्पनीको ऋणमुक्त छविलाई कायम राख्न मद्दत गर्नेछ।
त्यसैगरी कम्पनीले कृषिमा आधारित व्यवसायलाई पनि नयाँ उचाइमा लैजाने प्रयास गरेको छ। यसै वर्षदेखि सूर्य नेपालले मरानी ब्राण्डमा प्रिमियम महको निर्यात सुरु गरेको छ। उच्च गुणस्तरको नेपाली महलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएर कम्पनीले वैदेशिक मुद्रा आर्जनमा समेत आफ्नो योगदान बढाएको हो।
चुरोटको व्यापारमा रहेको उच्च कर र कडा नियामक व्यवस्थाका कारण हुन सक्ने जोखिम कम गर्न कम्पनीले होटल र मह निर्यात जस्ता क्षेत्र रोजेको हो। यी नयाँ लगानीले सूर्य नेपाललाई केवल एक चुरोट उत्पादकको पहिचानबाट माथि उठाई एक बहुआयामिक र ‘भ्यालु एडेड’ व्यावसायिक घरानाका रूपमा स्थापित गर्ने रेटिङ रिपोर्टले औंल्याएको छ।
चुनौती र कडा नियामक व्यवस्था
चुरोटको व्यापार अत्यन्तै नाफामूलक भए तापनि यसमा सरकारी कर र नियामक व्यवस्थाको ठूलो चुनौती छ। नेपालमा चुरोटको बट्टामा ९० प्रतिशत भाग चेतावनीमूलक स्वास्थ्य सन्देशले ढाक्नुपर्ने नियम विश्वकै कडा मध्येको एक हो। यसले गर्दा कानुनी रूपमा सञ्चालित उद्योगलाई ब्राण्डिङ गर्न गाह्रो हुने र अवैध रूपमा भित्रिने विदेशी चुरोटको बजार बढ्न सक्ने जोखिम छ।
साथै, चुरोटमा बर्सेनि बढ्दै जाने अन्तःशुल्क र कडा कर नीतिका कारण पनि कम्पनीको सञ्चालन खर्च बढ्दै गएको छ। यद्यपि बलियो ब्राण्ड इमेज र उत्कृष्ट वितरण प्रणालीका कारण सूर्य नेपालले यी चुनौतीका बीचमा पनि आफ्नो नाफा र साखलाई नयाँ उचाइमा पुर्याइरहेको छ। इक्रा नेपालको यो रेटिङ पुनर्पुष्टिले कम्पनीको व्यावसायिक भविष्य लामो समयसम्म सुरक्षित रहने संकेत गरेको छ।