काठमाडौं। जेनजीको आन्दोलनसँगै देशको राजनीतिक अवस्था फेरिएको छ। पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते संसदीय निर्वाचनको मिति तय गरिसकेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी समूहले गरेको आन्दोलनबाट तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेलिकप्टरमार्फत भागे। सत्ता साझेदारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तिमाथि कुटपिट भए।
आन्दोलनमा आक्रोशित भिडले शीर्ष नेतादेखि अधिकांश नेताहरूको घरमा तोडफोडसँगै आगजनी गरिदिए। नेताहरूलाई आर्मी हेड्क्वाटरमा राखेर सुरक्षा दिइएको थियो। जटिल राजनीतिक अवस्थासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सबै केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशनको तयारी गर्न आग्रह गरे।
आन्दोलनमा घाइते भएका कांग्रेस सभापति देउवा अझै सार्वजनिक भएका छैनन्। उनले पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएर उपसभापति पूर्णबहादुर खड्कालाई अध्यक्षता दिँदै नेतृत्व छाड्ने संकेत गरे।
आन्दोलनको दुई हप्तापछि भक्तपुरको गुण्डुबाट सार्वजनिक भएका उनी विभिन्न कार्यक्रममार्फत अन्तरिम सरकारको आलोचना गरी संसद पुर्नस्थापन हुनुपर्ने माग राख्दै आएका छन्।
यसैबीच, दुई दिनको आन्दोलनबाट सत्ताच्यूत भएका एमाले अध्यक्ष ओली पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको अन्तरिम सरकारमाथि खनिँदै आएका छन्। आन्दोलनको दुई हप्तापछि भक्तपुरको गुण्डुबाट सार्वजनिक भएका उनी विभिन्न कार्यक्रममार्फत अन्तरिम सरकारको आलोचना गरी संसद पुर्नस्थापन हुनुपर्ने माग राख्दै आएका छन्।
अन्तरिम सरकारमाथि कटाक्ष
बिहीबार गुण्डुमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले वर्तमान सरकारमाथि खनिए। उनले कार्की नेतृत्वको सरकार नेपाली नभएको दाबी गरे।
‘यो नेपालीको सरकार होइन,’ ओलीले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि संसद् भंग गर्न सर्त राख्नुभयो। संसद् भंग गर्ने पूर्वसर्त राखेर जनताको सर्वोच्च सार्वभौम संस्थाको र लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री बन्नुभयो। उहाँलाई राम्ररी थाहा छ- संविधानको व्याख्या गरेर आउनुभएको हो। केके गर्नुभयो त्यो उहाँलाई थाहा छ।’
हामी जेलनेल भोगेर आएका हौँ। हाम्रा लागि यो नयाँ कुरा होइन। देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौँ। हामीलाई जिस्काइरनु पर्दैन।
ओलीले प्रधानन्यायाधीश र न्यायाधीश बनेका व्यक्ति प्रधानमन्त्री वा मन्त्रीको कुर्सीमा बस्न मिल्ने व्यवस्था संविधानमा नरहेको टिप्पणी गरेका थिए। यस्तै, उनले आफूलाई पक्राउ गर्न अनेक डर देखाएको आरोप लगाएका थिए।
उनले आफू जेलनेल खाएर आएको बताउँदै सरकारको धम्कीबाट नडराएको बताए। ‘हामी जेलनेल भोगेर आएका हौँ। हाम्रा लागि यो नयाँ कुरा होइन। देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौँ। हामीलाई जिस्काइरनु पर्दैन। हामीले जनताको शासन भनेर ल्याएका हौँ। लडेका हौँ,’ उनले भने।
गौरीबहादुर नेतृत्वको आयोग अस्वीकार
जेनजीको आन्दोलनमा भएका दमनमाथि छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। विशेष अदालतका पूर्वअध्यक्ष कार्की नेतृत्वको आयोगमाथि पनि अध्यक्ष ओली खनिएका छन्।
आयोगका अध्यक्षमा रहेका कार्की आफै पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति झुकाव राख्दै आएका थिए। यसैबीच ओलीले उनी नेतृत्वको आयोगमाथि समेत प्रश्न गर्दै अस्वीकारको नीति लिएका हुन्।
आफू प्रधानमन्त्री हुँदा जेनजीको आन्दोलनलाई दबाउन ओली नेतृत्वको सरकारले ठूलो मात्रामा गोली प्रहार गरेको थियो। आन्दोलनको पहिलो दिन १९ जनाले युवाले ज्यान गुमाएका थिए। घटनामा झण्डै पाँच सय घाइते भएका थिए। पछिल्लो समयसम्म आइपुग्दा आन्दोलनमा परी मृत्यु हुनेको संख्या ७४ जनाको पुगिसकेको छ। सोही घटनाको छानबिन गर्न बनेको आयोगमाथि ओलीले प्रश्न गर्दै अस्वीकार गरेका हुन्।
‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने। अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने। यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन। स्वीकार्य छैन,’ उनले भने।
जेनजी विद्रोहका क्रममा समितिका अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए।
जेनजीको आन्दोलनपश्चात एमालेको नेतृत्व छाड्न केही नेताले दबाब दिइरहेका बेला ओलीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक बसेका थिए।
यसैबीच, ओलीले आफूलाई पक्राउ गर्नका लागि नक्कली आयोग गठन गरेको दाबी गर्न भ्याए। ‘नेकपा एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन। किनकि आयोगमा राखिनु, बस्नुभन्दा अगाडिको प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु पर्दैन थियो। एउटा मान्छे अहिलेको अहिले विरोधीबाट निष्पक्ष हुन सम्भव छ?,’ उनले प्रश्न गरे।
पार्टीभित्र विरोध-पद नछाड्ने ओलीको अडान
जेनजी आन्दोलनसँगै आफ्नै पार्टी नेतृत्वको सरकार सत्ताच्यूत भएपछि एमालेभित्र अध्यक्ष ओलीको विकल्प खोजिनुपर्ने माग बढ्दै गएको छ। एमालेका नेताहरूले पार्टी जोगाउनका लागि नयाँ नेतृत्वको खोजी हुनुपर्ने माग राख्दै आएका छन्। तर, ओलीले आफूले सकुञ्जेल अध्यक्ष नछाड्ने अडानमा छन्।
जेनजीको आन्दोलनपश्चात एमालेको नेतृत्व छाड्न केही नेताले दबाब दिइरहेका बेला ओलीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक बसेका थिए। बैठका ओलीले आफूले इमान र विचारमा पार्टीको शिर कहिले निहुरिन नदिने बताउँदै पद नछाड्ने स्पष्ट सन्देश दिएका हुन्।
‘जबसम्म म सक्छु, त्यो बेलासम्म रहन्छु। नसकेपछि छोडिदिन्छु म। यतिबेला पार्टीमा सर्वोच्च नेताको खाँचो छ। अनावश्यक हल्ला मच्चाइरहेका छन्,’ बैठकमा उनले भनेका थिए। प्रदेश र जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा ओलीले स्पष्ट रुपमा पार्टी अध्यक्षको पद नछाड्ने सन्देश दिएका हुन्।