काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक बिदा तथा कार्यालय समयसम्बन्धि नयाँ व्यवस्था सार्वजनिक गरेको छ। मानव संशाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको निर्णय बमोजिम अब प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिइने भएको हो।
सूचनाअनुसार उक्त व्यवस्था २०८२ चैत २३ गतेदेखि लागू हुनेछ। यससँगै बैंक तथा वित्तीय संस्थाहरूको कार्यालय र कारोबार समय पनि परिवर्तन गरिएको छ।
नयाँ व्यवस्थाअनुसार कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिने छ। यस्तै, बैंकिङ कारोबार समय पनि सोही दिनहरूमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।
त्यसैगरी, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको जाडो समयावधिमा भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म रहने उल्लेख गरिएको छ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिँदै सेवाग्राहीलाई पनि सोहीअनुसार सेवा लिन अनुरोध गरेको छ।
राष्ट्र बैंकको यो आन्तरिक निर्देशनलगत्तै अन्य वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले पनि भोलिदेखि कार्यालय समय परिवर्तन भएको भन्दै आफ्ना कर्मचारीहरूलाई बिहान ८:४५ बजेभित्रै कार्यस्थलमा उपस्थित भइसक्न आन्तरिक परिपत्र जारी गरेका छन्।
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले गरेको यो निर्णयलाई कार्यान्वयन गर्न बैंकहरूले बिहान एक घण्टाअगावै सेवा सुरु गर्ने तयारी गरेका हुन्। जसअनुसार सर्वसाधारणका लागि बैंकिङ कारोबारको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ।