काठमाडौं। गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनले बैंक तथा वित्तीय संस्थाको एक खर्ब रुपैयाँ कर्जा जोखिममा परेको छ। विभिन्न बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गरेका निजी व्यवसायिक प्रतिष्ठानका तोडफोड तथा आगजनी हुँदा बैंकको एक खर्ब चार अर्ब रुपैयाँ बढी जोखिममा परेको हो।
जेनजी प्रदर्शनबाट प्रभावित ऋणीलाई राहतको प्योकज राष्ट्र बैंकले गत असोज १० गते ल्याइसकेको छ। जसमा राष्ट्र बैंकले जेनजी प्रदर्शनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले कार्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न व्यवस्था गरेको छ।
जेनजी प्रदर्शन प्रभावितका लागि उक्त सहुलियत दिइएको हो। प्रदर्शन प्रभावितले मात्रै यस्तो सहुलियत उपयोग गर्न राष्ट्र बैंकले निजी क्षेत्रको छाता संगठन र बैंक तथा वित्तीय संस्थाबाट प्रभावित ऋणी व्यवसायीको तथ्यांक संकलन गरिरहेको छ।
उनीहरूलाई कुल एक खर्ब ५४ अर्ब रुपैयाँ कर्जा बैंकहरुले प्रभाव गरेका थिए।
क्यापिटल नेपाललाई प्राप्त तथ्यांकअनुसार जेनजी प्रदर्शनमा प्रभावित ६१२ जना ऋणीहरू छन्। उनीहरूलाई कुल एक खर्ब ५४ अर्ब रुपैयाँ कर्जा बैंकहरुले प्रभाव गरेका थिए।
जसमा एक खर्ब ४ अर्ब रुपैयाँ ऋण बक्यौतामा छ भने ३७ अर्ब रुपैयाँ बढी कर्जा लगानी जेनजी प्रर्दशनका कारण पूर्ण नोक्सानीमा छन्। यी ऋणीहरुलाई बैंक तथा वित्तीय संस्थाले स्वयम् प्रभावको मूल्यांकन गरेर ऋण तिर्न सहुलियत दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित बताउँछन्।
‘राष्ट्र बैंकले तोकेको शर्तहरुको अधिनमा रहेर बैंकहरुले प्रभावितको स्वयम् मूल्यांकन गरेर राष्ट्र बैंकले व्यवस्था गरेको सहुलियत दिन सक्ने छन्,’ राष्ट्र बैंक प्रवक्ता पण्डितले क्यापिटल नेपालसँग भने, ‘राष्ट्र बैंकले ऋणीलाई दिन सक्ने भनेको सहुलियत बैंकले दिने हो। त्यसको विवरण लिएर मूल्यांकन नियामकले गर्छ।’
बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई जेनजी प्रदर्शनले अति प्रभावित, मध्यम र न्यून प्रभावित गरेर नियामकले निर्धारण गरेको सुहलियत दिनुपर्ने उनको भनाइ छ। ‘कोभिडको समयमा प्रभावितको वर्गीकरण राष्ट्र बैंकले गरिदिएको थियो। अहिले प्रभावितलाई बैंकले आवश्यक सहुलियत दिन सक्छन्,’ उनले भने।
प्रदर्शन प्रभावित बैंकका ऋणी व्यवसायीमध्ये करिब २४ अर्ब रुपैयाँ बिमाले कभर गर्ने देखिएको छ
राष्ट्र बैंकले सम्बन्धित इजाजत पत्र प्राप्त संस्थालाई जेनजी प्रदर्शन प्रभावको यकीन गरी २०८२ पुस मसान्तसम्म ऋणको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ। यस्तो कर्जालाई २०८२ असार मसान्तमा रहेकै वर्गमा राखेर कर्जा नोक्सानी गर्नुपर्ने भनिएको छ।
जेनजेड आन्दोलनमा सहभागी प्रदर्शनकारीले निजी तथा सार्वजनिक सम्पत्तीमा आगजनी तोडफोड गर्दा करिब एक खर्ब रुपैयाँ बढीको क्षति भएको अनुमान विभिन्न निकायहरुले गरिरहेका छन्। जसमा बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकोमध्येमा ३७ अर्ब रुपैयाँ पूर्ण रुपमा क्षति भएको हो।
प्रदर्शन प्रभावित बैंकका ऋणी व्यवसायीमध्ये करिब २४ अर्ब रुपैयाँ बिमाले कभर गर्ने देखिएको छ। बाँकी १३ अर्ब रुपैयाँ बिमा नभएको प्रारम्भिक अध्ययनले देखाएको छ। साथै, प्रदर्शनमा वाणिज्य बैंकहरुतर्फ ५२ वटा शाखा, एक सय वटा एटिएम मेसिन र ७३ वटा विस्तारित शाखामा क्षति पुगेको छ।