काठमाडौं। नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय भेला आजबाट सुर्खेतमा सुरु हुँदै छ। सुर्खेतमा हुने भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायतले सम्बोधन गर्ने कांग्रेस मुख्यालय सानेपाले जनाएको छ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि सुरु हुने कर्णाली प्रदेशस्तरीय भेलामा कर्णालीबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्य, प्रदेश कार्यसमिति पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख सहभागी हुनेछन्।
प्रतिष्ठानका सदस्य प्रकाश लामिछानेका अनुसार, भेलामा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने विषयमा केन्द्रित भएर छलफल हुनेछ।
प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत बहस हुनेछ। भेलाले सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्ययोजना तय गर्नेछ। नागरिकमैत्री बजेट निर्माण, समावेशी विकास तथा पार्टी र जनप्रतिनिधिबीच प्रभावकारी समन्वयका विषयमा छलफल हुनेछ ।
दुईदिने छलफलपछि ‘सुर्खेत घोषणापत्र’ जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने कांग्रेसले बताएको छ ।