काठमाडौं। सरकार गठन भएको १ सय दिन पुरा हुँदासम्म निजी क्षेत्रसँग संवाद नगरेको र बेवास्था नगरेको गुनासो बढेसँगै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर भेट गरिरहेका छन्। सरकार गठन भएसँगै निजी क्षेत्रका विभिन्न व्यक्तिहरूलाई पक्राउ, धरपकड गर्ने गरेको र जेल हाल्ने काम भैरहेको भन्दै निजी क्षेत्र त्रसित भएको गुनासो बढेसँगै प्रधानमन्त्री शाहले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायत विभिन्न निजी क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरूसँग निरन्तर रूपमा भेट गरी गुनासो सुनिरहेका हुन्।
तर, निजी क्षेत्रको गुनासो र समस्या सुनिरहँदा अहिलेसम्म प्रधानमन्त्री शाहले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भने समेटेका छैनन्। अर्थात् मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेको अर्थमन्त्री वाग्लेलाई नै बाहिर राखेर प्रधानमन्त्रीले निजी क्षेत्रसँग भेट गरिरहेको र समस्या सुनिरहेपनि समस्या समाधानका लागी आधिकारिक निकाय नै बाहिर रहेको भन्दै जनगुनासो बढिरहेको छ।
हुन त प्रधानमन्त्री आफैमा कार्यकारी पद हो। तर, कार्यान्वयन गर्ने निकाय अर्थ मन्त्रालय नै रहेकोले अर्थमन्त्रीलाई बाहिर राखेर गरेको संवाद र दिएको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन नहुने आशंक्काहरु उब्जिरहेको छ। यही आशंक्काहरुलाई चिर्न अर्थमन्त्री वाग्लेले मंगलबार दिउसो साढे ३ बजे विभिन्न उद्योगी एवं व्यवसायहीहरुसँग भेट्न लागेका हुन्। अर्थ मन्त्रालय श्रोतका अनुसार प्रधानमन्त्री शाहसँग भएको भेट र त्यहाँबाट आएका निर्देशनहरूलाई कार्यान्वयन गर्नका लागि निजी क्षेत्रका व्यक्तिहरूसँग भेट्न थालेका हुन्।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको तर्फबाट आउने गुनासोलाई द्रुत गतिमा कसरी सम्बोधन गर्न सकिन्छ र मुलुक भित्र छाइहरेको निराशालाई चिर्न कस्तो भूमिका खेल्ने भन्ने विषयमा छलफल केन्द्रित हुने जनाएको छ। हुन त, अर्थमन्त्री वाग्लेसँग यस अघि पनि निजी क्षेत्रले भेट नगरेको भने हैन। तर, प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई एकल रूपमा भेटेको र त्यहाँ उठेका गुनासोहरू संवोधन गर्ने निकाय नै बाहिर राखिए पनि कार्यान्वयनमा आशंक्का हुन थालेपछि अर्थमन्त्री वाग्लेले पनि उद्योगी व्यवसायीहरूलाई भेट्न थालेका हुन्।
अर्थमन्त्रीले कार्यभार सम्हाले लगत्तै भेट्न पुगेका निजी क्षेत्रका प्रतिनिधिहरूलाई सरकारले निजी क्षेत्रका प्रतिनिधिहरूलाई थुन्ने भन्दा पहिला सुन्ने काम गर्ने आश्वासन दिएका थिए। तर, अर्थमन्त्रीको आश्वासनलाई प्रधानमन्त्री शाहले पुरै इन्कार गर्दै विभिन्न प्रतिष्ठित उद्योगी व्यवसायीहरूलाई निरन्तर रूपमा पक्राउ गर्ने र धरपकड गर्ने गरेका थिए। अर्थमन्त्रीको आश्वासन र प्रतिबद्धता नै कार्यान्वयनमा नआएपछि निजी क्षेत्र पूर्ण रूपमा त्रासमा परिरहेको बेला फेरि अर्थमन्त्री वाग्लेले विभिन्न उद्योगी व्यवसायीहरूसँग भेट्न थालेका हुन्।
प्रधानमन्त्रीको म्याराथुन भेटपछि अर्थमन्त्री वाग्लेले पनि निजी क्षेत्रका प्रनिधिहरुलाई भेट्न लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग भेट्दै सुनेका गुनासोहरू सम्बोधन गर्ने आश्वासन मात्र दिएका छैनन् विभिन्न निर्देशनहरू समेत दिएका छन्। तर, ती निर्देशनहरू संवोधन गर्ने प्रमुख निकायहरू अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रीहरुनै छलफलमा थिएनन्।