काठमाडाैं। केही वर्षअघिसम्म पसलमा गएर मात्र किनमेल गर्ने बानी भएका मानिसहरू अहिले मोबाइल र कम्प्युटरबाटै आफूलाई चाहिने सामान मगाउन थालेका छन्। युक्रेनका दुई अध्येता ओलेना कोभाल्चिक र इरिना कोभाल्चिकले हालै गरेको अध्ययनले विश्वव्यापी अनलाइन व्यापारमा देखिएका प्रमुख परिवर्तनहरू औंल्याएको छ। अध्ययन अनुसार, सन् २०२१ मा विश्वभर अनलाइन किनमेलको कारोबार करिब ४.९ खर्ब (ट्रिलियन) डलर पुगेको थियो । यो रकम सन् २०२४ सम्ममा ६.४ खर्ब डलर नाघेकाे र सन् २०२५ सम्ममा कुल किनमेल व्यापारको २४ देखि २५ प्रतिशत अंश अनलाइनबाटै भइरहेकाे छ । अर्थात्, अब किनेको हरेक चार वस्तुमध्ये एउटा वस्तु अनलाइनबाटै आउनेछ ।
कोरोना महामारीले यस्तो परिवर्तनलाई थप गति दिएको अध्ययनले देखाएको छ। पसल बन्द हुनु, घरबाटै काम गर्नुपर्ने बाध्यता, र खाना तथा सामान घरमै मगाउने प्रवृत्तिले अनलाइन व्यापारलाई अझ बलियो बनायो ।
वर्षैपिच्छे कति बढ्दैछ अनलाइन व्यापार ?
अध्ययनमा प्रयोग गरिएको तथ्याङ्कले विश्वको अनलाइन किनमेल वर्षैपिच्छे कस्तो गतिमा बढिरहेको छ भन्ने स्पष्ट चित्र दिन्छ। सन् २०१९ मा जम्मा ३ खर्ब ३५ अर्ब डलरको रहेको यो कारोबार महामारी सुरु भएको सन् २०२० मा नै २५ प्रतिशतभन्दा बढीले उफ्रियो। त्यसपछिका वर्षहरूमा वृद्धिदर क्रमशः घट्दै गए पनि व्यापारको आकार भने निरन्तर ठूलो हुँदै गएको छ
| वर्ष |
अनुमानित कारोबार (खर्ब डलर) |
अघिल्लो वर्षभन्दा वृद्धि |
| २०१९ |
३.३५ |
— |
| २०२० |
४.२० |
करिब २५ प्रतिशत |
| २०२१ |
४.९० |
करिब १७ प्रतिशत |
| २०२२ |
५.५५ |
करिब १३ प्रतिशत |
| २०२३ |
६.२० |
करिब १२ प्रतिशत |
| २०२४ |
६.८० |
करिब १० प्रतिशत |
| २०२५ (अनुमान) |
७.४० |
करिब ९ प्रतिशत |
यसरी हेर्दा सन् २०१९ देखि २०२५ सम्मका ६ वर्षमा विश्वको अनलाइन व्यापार आकारमा दोब्बरभन्दा बढी वृद्धि भइरहेकाे छ। औसतमा हरेक वर्ष करिब १४ प्रतिशतको दरले बढेकाे देखिन्छ। वृद्धिदर विस्तारै घट्दै गए पनि यसको अर्थ व्यापार सुस्ताएको होइन, आधार निकै ठूलो भइसकेकाले प्रतिशतमा वृद्धि सानो देखिने मात्र हो। सन् २०१९ मा कुल किनमेलको जम्मा १४ प्रतिशतजति अंश ओगट्ने अनलाइन व्यापारले सन् २०२५ सम्ममा त्यो अंश २४–२५ प्रतिशत पुगेकाे छ।
कुन प्लेटफर्ममा कति ग्राहक पुगे ?
महामारीकालमा संसारभर कुन अनलाइन प्लेटफर्ममा ग्राहकको भीड सबैभन्दा बढी थियो भन्ने पनि अध्ययनले तथ्याङ्कसहित देखाएको छ। एक महिनामा भएको जनसंख्या-भ्रमण (भिजिट) संख्याका आधारमा विश्वका शीर्ष दश अनलाइन प्लेटफर्महरू यस्ता छन् :
| स्थान |
प्लेटफर्म |
मासिक संख्या |
| १ |
अमेजन |
४० करोड ५९ लाख |
| २ |
इबे |
१२ करोड २७ लाख |
| ३ |
राकुटेन |
८ करोड ४ लाख |
| ४ |
सामसङ |
६ करोड ४८ लाख |
| ५ |
वालमार्ट |
६ करोड १४ लाख |
| ६ |
एप्पल |
५ करोड ६२ लाख |
| ७ |
अलिएक्सप्रेस |
५ करोड ३२ लाख |
| ८ |
एट्सी |
३ करोड ९५ लाख |
| ९ |
होमडिपो |
२ करोड ९२ लाख |
| १० |
एलेग्रो |
२ करोड ७२ लाख |
यो तथ्याङ्कले के देखाउँछ भने, सूचीमा पहिलो स्थानमा रहेको अमेजनको मासिक संख्या दोस्रो स्थानमा रहेको इबेको भन्दा साढे तीन गुणाभन्दा बढी छ। अर्थात् विश्वको अनलाइन किनमेल बजारमा अमेजनको एकाधिकार जस्तै अवस्था देखिन्छ। त्यस्तै, सूचीमा रहेका दस मध्ये धेरैजसो (अमेजन, इबे, अलिएक्सप्रेस, एट्सी, एलेग्रो) साना-ठूला असंख्य विक्रेताको सामान एकै ठाउँमा राख्ने "डिजिटल बजार" (मार्केटप्लेस) प्रकारका छन्, भने सामसङ, वालमार्ट, एप्पल र होमडिपो आफ्नै ब्रान्डको सामान बेच्ने कम्पनी हुन्। यसले डिजिटल बजारहरूको लोकप्रियता परम्परागत एकल-ब्रान्ड अनलाइन पसलभन्दा बढी रहेको संकेत गर्छ ।
पहिले उत्पादकले आफ्नो सामान पसलेमार्फत मात्र ग्राहकसम्म पुर्याउँथे। अहिले धेरै कम्पनीले बिचौलिया नराखी सिधै ग्राहकलाई सामान बेच्न थालेका छन्। यसो गर्दा सामान सस्तो हुन्छ र कम्पनीले पनि बढी नाफा कमाउँछ । यो प्रवृत्ति युक्रेनमा पनि विस्तारै लोकप्रिय हुँदैछ ।
सानो तर विशिष्ट पसलको बढ्दो चलन
अचेल ग्राहकहरू जे पायो त्यही किन्नुभन्दा आफूलाई मन परेको खास किसिमको सामान मात्र बेच्ने पसल खोज्न थालेका छन्। जस्तै, सबै खालका जुत्ता बेच्ने ठूलो पसलभन्दा दौडिनका लागि मात्र बनेका जुत्ता बेच्ने पसललाई ग्राहकले बढी विश्वास गर्छन्। यस्ता विशिष्ट पसलहरूमा सामानको गुणस्तर राम्रो हुन्छ, ग्राहकलाई विज्ञको सल्लाह पाइन्छ र विज्ञापनमा पनि कम खर्च लाग्छ। यही कारण आगामी दिनमा यस्ता विशिष्ट पसलहरूको संख्या अझ बढ्ने अध्ययनको अनुमान छ ।
मोबाइल फोन अहिले किनमेलको मुख्य माध्यम बन्दैछ। अध्ययनका अनुसार मोबाइलमार्फतको मात्रै विश्वव्यापी किनमेल कारोबार ३ खर्ब ७९ अर्ब डलर पुग्ने प्रक्षेपण छ, जुन कुल अनलाइन व्यापारको ठूलो हिस्सा हो। सन् २०२१ को अन्त्यसम्ममा विश्वभरको करिब ७३ प्रतिशत किनमेल मोबाइल फोनबाटै हुने अनुमान गरिएको छ। अर्थात् दश मध्ये सात किनमेल अब कम्प्युटर वा पसलको साटो हातको मोबाइलबाटै भइरहेको छ। इटलीमा त झन्डै आधा (५१ प्रतिशत) अनलाइन खरिद स्मार्टफोनबाटै भएको पाइएको छ। पसलमा गएर किन्ने भए पनि धेरैजसो मानिसले पहिले मोबाइलमै सामानबारे बुझ्ने र मूल्य तुलना गर्छन्।
आजका ग्राहकहरूले कहिले अनलाइनमा हेरेर पसलमा गएर किन्छन्, त कहिले पसलमा हेरेर घर आएपछि अनलाइनबाटै मगाउँछन्। त्यसैले व्यापारीहरूले आफ्नो पसल, वेबसाइट, सामाजिक सञ्जाल र अन्य सबै माध्यमलाई एकआपसमा जोडेर राख्नुपर्ने भएको छ, ताकि ग्राहकले जहाँबाट हेरे पनि उस्तै अनुभव पाऊन्।
एउटै वेबसाइटमा थरीथरीका ब्रान्डका सामान पाइने र छिटो डेलिभरी हुने भएकाले धेरै ग्राहकले यस्ता ठूला डिजिटल बजार रुचाउन थालेका छन्। सन् २०२० मा यस्तै डिजिटल बजारहरू सबैभन्दा छिटो फस्टाएको अनलाइन व्यापार माध्यम बने । अहिले विश्वको झन्डै आधा (करिब ५० प्रतिशत) अनलाइन उत्पादन बिक्री यस्तै बजारहरूमार्फत हुने गरेको छ, जसमा खाद्य, डिजाइन, गृह सामग्री र फेसन क्षेत्र सबैभन्दा सक्रिय देखिन्छन् ।
पसलमा गएपछि सामान देखाउने सहयोगीको काम अहिले कृत्रिम बुद्धिमत्ता (एआई) नामक प्रविधिले गर्न थालेको छ। यसले ग्राहकले पहिले के किनेका थिए, वेबसाइटमा के हेरे भन्ने आधारमा उनीहरूलाई मन पर्ने सामान आफै देखाउँछ । अध्ययनअनुसार ७१ प्रतिशत ग्राहकलाई यस्तो व्यक्तिगत सुझाव मन पर्छ, र यस्तो सुविधा नभएका पसलमा ग्राहक फर्केर नआउने सम्भावना बढी हुन्छ।
यस प्रविधिमा रिटेल व्यवसायीहरूले गर्ने लगानी पनि द्रुत गतिमा बढ्दैछ। सन् २०२२ सम्ममा एआईमा हुने खर्च चार गुणासम्म बढेर ७३ करोड डलरबाट ७ अर्ब ३० करोड डलर (लगभग ७.३ बिलियन डलर) पुग्ने अनुमान गरिएको छ । यसले अन्य कुनै पनि प्रविधिको तुलनामा एआईमा हुने लगानी सबैभन्दा छिटो बढिरहेको प्रस्ट्याउँछ।
महामारीपछि ठूलो संख्यामा मानिसहरू अनलाइन किनमेलतर्फ आकर्षित भए, तर उमेर समूहअनुसार यसको गति फरक-फरक रह्यो। समग्रमा ५४ प्रतिशत उपभोक्ताले आफ्नो खर्च अनलाइनतिर सारे भने उमेर समूहअनुसार यसको विवरण यस्तो देखिन्छ
| उमेर समूह |
अनलाइनतिर खर्च सार्नेको प्रतिशत |
| ३५ वर्षमुनिका युवा |
६७ प्रतिशत |
| ३५–५४ वर्ष उमेर समूह |
५७ प्रतिशत |
| ५५ वर्षभन्दा माथिका |
४१ प्रतिशत |
यसबाट स्पष्ट हुन्छ कि युवा पुस्ता अनलाइन किनमेलतर्फ सबैभन्दा छिटो र सबैभन्दा बढी आकर्षित भएको छ। यसैगरी, ग्राहकहरूले ठूला कम्पनीभन्दा स-साना र स्थानीय व्यवसायलाई साथ दिन थालेका छन्। ५७ प्रतिशत ग्राहकले आफ्नै ठाउँका, आफ्नै हातले बनेका सामान किन्न रुचाउने बताएका छन् । यसले स-साना व्यवसायीलाई आफ्नो कथा र पहिचानसहित ग्राहकसामु उभिने अवसर दिएको छ।
लुगा वा गहनाजस्ता सामान किन्दा अब पहिरेर हेर्न पसलसम्मै जानु पर्दैन। मोबाइल क्यामेराकै सहायताले सामान शरीरमा कस्तो देखिन्छ भनेर देखाउने प्रविधि (संवर्धित वास्तविकता) प्रयोगमा आउँदैछ, जसले फिर्ता हुने सामानको संख्या घटाउन मद्दत गर्छ। अध्ययनका अनुसार सन् २०२२ सम्ममा विश्वभर करिब १ लाख २० हजार पसलले यस्तो प्रविधि अपनाइसक्नेछन्। यसो गर्नुको एउटा ठूलो आर्थिक कारण पनि छ— साइज वा रङ नमिलेर सामान फिर्ता हुँदा व्यवसायीलाई हुने वार्षिक क्षति सन् २०२३ सम्ममा ३४८ अर्ब डलर पुग्ने अनुमान छ, जुन यस्तो प्रविधिले घटाउन सक्छ।
त्यस्तै, धेरै ग्राहकले डेलिभरी शुल्क बढी लागेकै कारण किनमेल बीचैमा छाड्ने गरेको पनि अध्ययनले देखाएको छ। त्यसैले ग्राहकको नजिकैबाट सामान पठाउने, समयमै डेलिभरी गर्ने र सकेसम्म निःशुल्क डेलिभरी दिने व्यवसायहरू ग्राहकको रोजाइमा पर्दैछन्।
मन पराएको भुक्तानी विधि नपाए धेरै ग्राहकले किनमेल नै रोक्ने गरेको पाइएको छ। त्यसैले डिजिटल वालेट, क्रिप्टोकरेन्सी र क्यूआर कोडजस्ता थरीथरीका भुक्तानी विकल्प दिनु आजको आवश्यकता बनेको छ। विश्वभर अनलाइन व्यापार अझै वर्षौंसम्म बढ्दै जाने देखिन्छ। यो प्रवृत्ति नेपाल र युक्रेनजस्ता देशमा पनि लागू हुँदैछ, जहाँ व्यवसायीहरूले ग्राहकको बदलिँदो रुचि, मोबाइलमैत्री सेवा, र भरपर्दो डेलिभरीमा ध्यान दिनु आवश्यक देखिन्छ ।