सीडीओसँगको ‘सेटिङ’मा रातो नम्बर प्लेटका सवारीलाई पास,भाडामा ब्रह्मलुट !

account_box युवराज बस्नेत ,
प्रकाशित: २०७७ साउन ६, मङ्गलबार,०७:३१:AM  
सीडीओसँगको ‘सेटिङ’मा रातो नम्बर प्लेटका सवारीलाई पास,भाडामा ब्रह्मलुट !

काठमाडौं । सरकारले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएपछि प्रमुख जिल्ला अधिकारी(सिडिओ)कै संरक्षणमा रातो नम्बर (निजी सवारी) प्लेटका सवारीले गाँउ–गाँउबाट मनपरि भाडा असुल गरिरहेका छन् ।

जिल्ला जिल्लाका सीडीओलाई प्रलोभनमा पारेर सवारी पास लिने र गाउँ गाउँका यात्रुसँग चर्को भाडा असुलीरहेका छन् । खासगरी बोलेरो, सुमो, स्कार्पियो र व्यक्तिगत कार लगायतका सवारी चालकले सीडीओसँग ‘सेटिङ’ मिलाएर पास लिने र यात्रुलाई निश्चित ठाँउसम्म पुर्याइदिने भन्दै महङ्गो भाडा लिइरहेका छन । 

चरिकोट–काठमाडौंका भाडा पाँच सय रुपैया भएपनि निजी सवारीले तीन हजार देखि १५ हजार रुपैयाँसम्म यात्रुबाट भाडा असुल्दै आएका छन् । 

‘यात्रुबाट हामीले पाँच हजार देखि १५ हजार सम्म भाडा उठाएपनि ७५ देखि ८० प्रतिशत रकम जिल्लाका सीडीओ र प्रहरीलाई बुझाउने शर्तमा मात्र सवारी पास लिने गरेका छौं । एउटा बोलेरो वा सुमोमा १० देखि १२ जना यात्रु अटाउने गर्छन ।’ एक चालकले बताए । 

एक यात्रुबाट पाँच हजार भाडा असुल गरेपनि सीडीओ र प्रहरीलाई कमिसन दिँदा आफुलाई केही खर्च मात्र रहने गरेको ती चालकले जानकारी दिए ।
स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका कार्यकर्ताको निर्देशनमा पनि हुने गरेको पाइएको छ । सार्वजनिक यातायात सञ्चालनको मौका छोपी यतिबेला नीजी सवारीसाधनले यात्रु भाडा चर्को भाडा लिई ब्रह्मलुट नै मच्याएका छन् ।

जिल्ला भित्र अथवा जिल्ला बाहिर यात्रु यस्ता सवारीबाट ठगिएको गुनासा गरेपनि प्रहरी र सरकारी तवरबाट असहयोग हुने बताउँदै आएका छन् ।
कोरोना संक्रमणको सन्त्रासका कारण काठमाडौं बाहिर गाएका मानिस काठमाडौंमा लकडाउन खुकुलो भएपछि धमाधम उपत्यका छिर्न थालेका छन । त्यही मौका छोपेर नीजी सवारीले कानुन विपरीत बढी भाडा असुलेका हुन् । 

जिल्लाबाट पास नपाएका निजी सवारीले पनि चर्को भाडा असुली प्रहरी चेकिङ भएको स्थामा सवारीसाधनबाट झरेर परै देखि पैदल आउने गरेका छन् । सवारीसाधनमा आएर नाकाभन्दा केही पर झरेर वा जगाती लगायतका नाकाबाट उपत्यका प्रवेश गरिरहेको प्रहरीका प्रहरीहरुले नै बताउँछन् । 

गत केही हप्ता अगाडी यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका थिए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका बनाएर रातो प्लेटका सवारीले यात्रु ओसारिरहेको र यात्रुबाट पनि ठूलो दरको भाडा अशुल गरेको सरकारलाई बताएपनि अहिले सम्म कुनै कारबाही हुन सकेको छैन् । 

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई कानुन विपरित चर्को भाडा असुल्ने सवारीको बिषयमा प्रश्न गर्दा यो बिषयमा आफुले नबोल्ने जवाफ दिए । 
 
महासंघका महासचिव सरोज सिटौलाले रातो प्लेटबाट कोरोना नसर्ने जसरी कानूनविपरित भाडा उठाएर रातो प्लेटका सवारीले यात्रु बोकिरहेको भन्दै यसलाई नियन्त्रण गर्न माग गरिएको बताए । 

उनले सरकारले दिएको निर्देशनअनुसार यातायात व्यवसायीहरु अनुशासित भएपनि निजी सवारीहरुले यसैलाई मौका बनाएर कमाउ धन्दा चलाइरहँदा पनि सरकार मुकदर्शक बनेको उनको आरोप छ ।

युवराज बस्नेत

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप

Top