सूर्यांश वैद्य आफ्नो ‘हाइलक्स २.८’ मा दैनिक अफिस पुग्छन्। अफिस आसपास एकछिन डुल्छन्। अफिसकै तल रहेको सोरुम छेउ पुगेपछि उनको खुट्टा टक्क अडिन्छ। त्यहाँ राखिएको सुन्तला रङ पुन्टे गाडी ‘कोरोना’मा उनको नजर पुगिहाल्छ। त्यो गाडीलाई हातले स्पर्स गर्छन् र थप ऊर्जासहित आफ्नो काममा खटिन्छन्।
सूर्यांशलाई यो पुन्टे ‘टोयोटा कोरोना’को आफूले चढिरहेको १ करोड १८ लाखको हाइलक्सभन्दा प्यारो लाग्छ। कोरोना त्यही गाडी हो, जसलाई ल्याउन उनका हजुरबुबा विजय गजानन्द वैद्यले अनेकौं पापड बेल्नुपरेको थियो। त्यो त्यही गाडी हो, जसलाई विजय गजानन्द आफैंले चलाएर कोलकाताबाट भीमफेदीको बाटो हुँदै काठमाडौं ल्याएका थिए।
यो त्यही गाडी हो जसलाई विजय गजानन्दले असनस्थित आफ्नै निवासबाट डेलिभरी दिएका थिए। त्यो बेला अहिलेजस्तो सुविधासम्पन्न सोरुम नभएकोले घरबाटै गाडी विक्री हुने गरेको थियो।
यो त्यही टोयोटा ब्रान्डको पहिलो गाडी हो, जुन पहिलो पटक सर्वसाधारण नेपालीले किन्ने अवसर पाएका थिए। सन् १९६९ मा नेपाल ल्याइएको यो गाडी तत्कालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहले आफ्ना छोरा गोपाल सिंहका लागि किनिदिएका थिए।
उक्त गाडी ५५ वर्षअघि १ हजार ४३५ डलरमा बेचिएको थियो। १५ सय सिसीको उक्त गाडी पेट्रोल इन्जिन र चालकसहित ५ सिट क्षमताको छ। गोपालले उक्त गाडीमा आफ्नो जीवनको अधिकांश समय बिताएका थिए। गोपालको युवावस्थादेखि बुढेसकालसम्मको साक्षी बन्यो, कोरोना। उनले त्यो गाडी ३७ वर्षसम्म १ लाख ३८ हजार २११ किलोमिटर गुडाए।
उनै गोपाललाई हालका वैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्यले २००६ मा पहिलो जेनेरेसनको टोयोटा कोरोला गाडी सार्वजनिक भएको समय बोलाएका थिए। संयोगवश गोपालले पुरानो कोरोना गाडी अझै चढिरहेका थिए। उनले नयाँ ‘टोयोटा कोरोला’ किन्ने सोच बनाए।
गोपालले ‘कोरोना’सगँ ‘कोरोला’ साटफेर गरे। उक्त कोरोना नेपाल भित्रिएको पहिलो गाडी हो भन्ने जानकार वैद्य अर्गनाइजेसन आफैंले राख्ने निणर्य ग¥यो। ‘बुबाले ल्याएको पहिलो गाडीलाई आँखै अगाडि देख्दा कताकता आत्मा जोडिएजस्तो भान भयो,’ अध्यक्ष वैद्यले भने, ‘पुनः त्यही गाडी किनेर राखेको छु।’ जुन गाडी ल्याएपछि नेपालमा एकछत्र रुपमा टोयाटोले बजार जमाइरहेको छ।
हाल उक्त गाडीलाई सुरजका छोरा सूर्यांश वैद्यले थोरै मर्मत गरेर सोरुममा सजाएर राखेका छन्। ‘यो गाडीलाई अभिभावकको रुप मानेर राखेको छु,’ सूर्यांशले भने, ‘हजुरबुबाले जसरी असल अभिभावकत्व निर्वाह गर्नुभयो, यो गाडीलाई पनि त्यही रुपमा हेरेका छौं।’
यो गाडी ५५ वर्षपछि पनि राम्रो अवस्थामा रहेको सूर्यांश बताउँछन्। ‘हामीले त्यो गाडीमा खासै केही गर्नुपरेन। थोरै डेन्टपेन्ट ग¥र्यौं, कार्पोरेटर फे¥यौं। अहिले राम्रो अवस्थामा छ,’ उनले भने। हजुरबुबा आफैंले चलाएर ल्याएको उक्त गाडी वैद्य अर्गनाइजेसनको गहना भएको सूर्यांश सुनाउँछन्।
![toyota1-1712998983.jpg](https://www.capitalnepal.com/uploads/posts/toyota1-1712998983.jpg?timestamp=1712998984101)
‘यो गाडीले हाम्रो लिगेसी बोकेको छ। भाग्यवशह यो गाडी फेरि हामीसँगै छ। यो गाडी हेर्दा अहिले पनि हजुरबुबाले गर्नुभएको संघर्ष स्मरण हुन्छ,’ उनले भने। यो गाडीले इतिहास बोकेको हुनाले यसलाई हेर्दा मात्र पनि ऊर्जा थपिने सूर्यांश अनुभव सुनाउँछन्। ‘यो हामीले सजाउन मात्र राखेका छैनौं। चाहेको खण्डमा अहिले पनि यो गाडी राम्रोसँग गुड्छ। ५५ वर्षसम्म यसको इन्जिन जस्ताको तस्तै छ,’ उनले भने।
अहिले नेपालीका लागि टोयोटा ब्रान्ड अपरिचित छैन। यो ब्रान्ड नेपाल भित्र्याउन वैद्य अर्गनाइजेसनका संस्थापक विजय गजानन्दलाई त्यति सजिलो थिएन।
विजयले यसरी नेपाल ल्याएका थिए टोयोटा
सरकारी कर्मचारी हुँदै यूएसएडमा काम गरेको अनुभव बटुलेका वैद्यले व्यवसाय गर्ने सोच बनाए। यही क्रममा उनी हङकङ पुगे। त्यो बेला टोयोटाले आफ्नो बजार विस्तार गर्दै थियो। एक चिनियाँ व्यापारीले वैद्यलाई टोयोटाको डिलरसिप लिएर बिजनेस सुरु गर्न सुझाए।
उनीसगँ पनि खासै पैसा थिएन। टोयोटाको डिलर लिन उनी ७ सय डलर बोकेर जापान हान्निए। त्यो बेला उनीसहित धेरै नेपाली जापान पुगेका थिए। जापान पुगेकामध्ये विजयलाई छनोट गर्नुको पनि रोचक किस्सा छन्। डिलर छनोटका लागि बोलाइएका अधिकाशं नेपाली सामान्य होटलमा बसेका थिए। तर, विजय जापानको सबैभन्दा महँगो होटलमा बसेका थिए।
त्यही होटलबाट टोयोटा कम्पनीमा सम्पर्क गरे। कम्पनीका प्रतिनिधि उनलाई भेट्न होटलमै आए। त्यसपछि टोयोटाका प्रतिनिधि र विजयबीच पटक–पटक छलफल भयो। जापानीले पनि अरुलाई भन्दा विजयले राम्रोसँग चलाउन सक्छन् भन्ने विश्वास गरेरै डिलरसिप दिएको बताइन्छ।
नेपाल फर्किएपछि गाडी लिन उनी आफंै कोलकाता गए। पहिलो गाडी आफैंले चलाएर कोलकाताबाट काठमाडौं ल्याए। त्यो गाडी उनले आफ्नै घर असनबाट डेलिभरी दिएका थिए। त्यसपछि टोयोटाको क्रेज नेपालमा बढ्दै गएको विश्वास गरिन्छ। ‘वैद्यले एउटा समय सीमाभित्र ६ वटा टोयोटा गाडी बिक्री गर्ने गरी सम्झौता गरेका थिए। तर, उक्त अवधिमा उनले ९७ गाडी बेच्न सफल भएका थिए’, अध्यक्ष वैद्यले सम्झिए।
गाडीको ब्युटिपार्लर अर्थात् ‘पिट्स्टप’
सूर्यांश वैद्य अध्यन सकेर अमेरिकाबाट नेपाल फर्केपछि पुख्यौली व्यवसायमा जोडिने सोच बनाए। बच्चैदेखि गाडीमा चासो राख्ने उनले वैद्य अर्गनाइजेसनकै ब्रान्ड टोयोटाको हाइलक्स चढ्ने निधो गरे। उनलाई कम्पनीले जस्तो पठायो त्यस्तै गाडी चढ्न मन लागेन। उनी आफ्नो गाडीलाई मोडिफाई गराउन काठमाडौंका विभिन्न वर्कसप पुगे।
तर, उनले भनेजस्तो मोडिफाई गरिदिने वर्कसप कतै भेटेनन्। आफूले चाहेअनुसार गाडी मोडिफाई गर्न नपाउदा उनी दुःखी भए। तर, त्यही मेसोमा उनले नयाँ व्यवसाय देखे।
‘मैलेजस्तो गाडी मोडिफाई गर्न चाहने नेपालमा कति होलान्? मजस्तै अरुले दुःख नपाउन् भनेर यो वर्कसप सञ्चालनमा ल्याएका हौं,’ उनले भने। पिट्सटप नाम दिइएको उक्त वर्कसपमा मोडिफाई भएको पहिलो गाडी सूर्यांशकै हो।
![toyota4-1712998877.jpg](https://www.capitalnepal.com/uploads/posts/toyota4-1712998877.jpg?timestamp=1712998877582)
पिट्सटपलाई उनी बुटिक वर्कसप भन्न रुचाउँछन्। हुन पनि धुम्बाराहीस्थित पिट्स्टप पुग्दा कुनै क्याफे पुगेको महसुस हुन्छ न कि कुनै वर्कसप। त्यहाँ गाडीको काम गराउन आउनेका लागि कफी पिउँदै पर्खिन सकिन्छ।
यस वर्कसपमा गाडीमा हरेक प्रकारको काम गर्न सकिने पिट्सटपका सर्भिस म्यानेजर विभुम श्रेष्ठ बताउँछन्। ‘यस बुटिक वर्कसपमा सानोतिनो डेन्टपेन्टदेखि रि–स्टोरेसनसम्मका काम गर्न सकिन्छ। रङ, सिट, रिम परिवर्तनदेखि डिटेलिङ र रि– स्टोरेसनसम्मकै काम हुन्छन्,’ उनले भने।
ग्राहक चाहनाअनुसार गाडीको एक्टिरियर र इन्टिरियरका सबै प्रकारका काम हुने श्रेष्ठले बताए। ‘पिट्स्टपलाई गाडीको ब्युटिपार्लर भन्दा फरक पर्दैन। त्यहाँ ग्राहकले चाहेअनुसार गाडी बनाइन्छ र फिचर्स थपिन्छ,’ उनले भने।
त्यस्तै, पिट्स्टपबाट दुईपांग्रे सवारीसाधनको पनि काम गरिने श्रेष्ठले जानकारी दिए। पिट्स्टपले ग्राहकलाई गाडी मोडिफाईका लागि परामर्श दिने गरेको छ। त्यसका लागि वैद्य अर्गनाइजेसनले ३ जना मेकानिकल इन्जिनियर खटाएको छ।
![toyota3-1712998910.jpg](https://www.capitalnepal.com/uploads/posts/toyota3-1712998910.jpg?timestamp=1712998910557)
‘कुनै ग्राहकले गाडी यस्तो गर्नुप¥यो भनेर आए त्यसमा थप केही गर्न सकिने ठाउँ छ र अझै राम्रो बनाउन सकिन्छ भने हामी उहाँहरुलाई परामर्श दिन्छौं,’ उनले भने। ग्राहक आवश्यकता र थप्नुपर्ने पाटर््सको आधारमा शुल्क लाग्ने विभुम बताउँछन्।
![toyota2-1712998946.jpg](https://www.capitalnepal.com/uploads/posts/toyota2-1712998946.jpg?timestamp=1712998946649)
‘गाडीमा के–के गर्नुपर्ने हो? कतीपय अवस्थामा पाटर््स नै परिवर्तन गर्नुपर्छ। महँगो पर्न जान्छ। रि–स्टोरेसनै गरे भने झनै महँगो पर्छ। तर, सामान्य डेन्टपेन्ट हो भने त्यति महँगो पर्दैन,’ उनले भने।
(क्यापिटल म्यागजिनको चैत अंकबाट)