काठमाडौं। २०८० अटोमोबाइल बजारका लागि ईभीमय वर्ष बन्यो। विगतवर्षको तुलनामा २०८० सालमा इन्जिन (आइसी) गाडीको तुलनामा विद्युतीय गाडीको प्रवेश ठूलो मात्रामा भयो। यो क्रमले २०८१ अर्थात् यस वर्ष पनि निरन्तरता पाउने देखिन्छ।
यस वर्षको सुरुवातमै केही मुख्य ब्रान्डका गाडी लन्च हुने छन्। तथापि, आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट घोषणा नजिकिएकाले त्यसले अपनाउने नीति हेरेर पनि सवारीसाधन भित्र्याउने योजनामा अटोव्यवसायीहरु हुनेछन्।
यस वर्षको सुरुवातमै करिब आधा दर्जन बढी गाडी नेपाल भित्रिने तयारीमा छन्। भित्रिने तयारीमा रहेका अधिकांश गाडी पनि विद्युतीय नै छन्। नेपाल भित्रिएका विद्युतीय सवारी साधनहरुमा विशेष गरी चिनियाँ गाडीको ‘क्रेज’ बढी देखिन्छ। नेपाल भित्रिने तयारीमा रहेका अधिकांश गाडी पनि चिनियाँ ब्रान्डकै रहेका छन्।
भित्रिँदैछ एक्सपेङ ‘जि–सिक्स’
चिनियाँ कम्पनी एक्सपेङको जि–सिक्स नेपाली बजारमा भित्रिने तयारीमा छ। चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङको गाडी ‘जी–सिक्स’ नेपाल भित्र्याउनका लागि सिजी मोटर्स र एक्सपेङबीच सम्झौता भइसकेको छ। कम्पनीले आफ्नो लाइनअपमा रहेका एसयूभीमध्ये सबैभन्दा पहिला जी–सिक्सलाई राइट ह्याण्ड ड्राइभमा ल्याउने तयारी गरेको छ।
जी–सिक्समा ६६ किलोवाट आवर र ८७.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक हुनेछ। कम्पनीका अनुसार जी–सिक्सको रेन्ज ५८० र ७५५ किलोमिटर रहेको छ। यसले ४८० किलोवाटसम्मको डिसी फास्टचार्जर सपोर्ट गर्नेछ।
![cb8d8942-3806-40eb-a7ea-46fc34c1bf68-1713185810.jpg](https://www.capitalnepal.com/uploads/posts/cb8d8942-3806-40eb-a7ea-46fc34c1bf68-1713185810.jpg?timestamp=1713185811162)
कम्पनीले जी–सिक्समा २१८ किलोवाटका सिंगल मोटर रियर ह्वील ड्राइभ र ३५८ किलोवाटको ड्यूल मोटर अलह्वील ड्राइभ सिस्टम दिएको छ। यसको अधिकतम टर्क ६६० न्यूटन मिटरसम्म रहनेछ।
सिजीले भित्र्याउनेछ स्मार्ट ह्यास ट्याग–१
२०८१ को सुरुवाती समयमै स्मार्ट मोटर्सको ह्यास ट्याग–१ भित्रिनेछ। यस गाडी भित्र्याउनका लागि सिजि मोटर्स र स्मार्ट मोटर्सबीच सम्झौता भइसकेको छ। कम्पनीले पहिलो उत्पादनको रुपमा स्मार्ट ह्यास ट्याग–१ नेपाली बजारमा भित्र्याउने तयारी गरेको जानकारी दिएको छ। यस गाडीको ब्याट्री प्याक ६२ किलोवाट आवर युनिट क्षमताको छ।
![be474c64-d7ba-4467-bd54-40b07c107278-1713185775.jpg](https://www.capitalnepal.com/uploads/posts/be474c64-d7ba-4467-bd54-40b07c107278-1713185775.jpg?timestamp=1713185775548)
एसी चार्जरको सहायतामा ७.५ घन्टामा फुल चार्ज गर्न सकिने यसको ब्याट्रीलाई डिसी फास्ट चार्जरले भने जम्मा ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसले एक पटकको फुल चार्जमा ४४० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
२८ लाख मूल्यसम्मको ह्याचब्याक ‘टी–०३’
२८ लाख मूल्यसम्ममा चिनियाँ विद्युतीय ह्याचब्याक टी–०३ नेपाली बजारमा भित्र्याउने तयारी भइरहेको छ। नेपाली बजारमा २४ लाख ९९ हजारदेखि २७ लाख ९९ हजारसम्म मूल्य तय हुनसक्ने यस गाडी नेपालका लागि आधिकारिक बिक्रेता वाणिज्य विकास प्रालिले ल्याउने तयारी गरिरहेको छ।
चिनियाँ ब्रान्ड लिपरमोटरको गाडी भित्र्याउने भन्दै वाणिज्य विकास प्रालिले २०८० चैत २६ मा गाडीको मूल्यसमेत सार्वजनिक गरेको थियो। दुई मोटर क्षमतामा आउने टी–०३ मा ५५ किलोवाट र ८० किलोवाट क्षमताको मोटर अप्सन पाउन सकिनेछ।
![76a9fe7c-6d5b-4a2a-99b4-12febf74542b-1713185845.jpg](https://www.capitalnepal.com/uploads/posts/76a9fe7c-6d5b-4a2a-99b4-12febf74542b-1713185845.jpg?timestamp=1713185845697)
गाडीमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ३१० देखि ४०३ किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ। यसमा ३१.९ किलोवाटर आवर र ४१ किलोवाट आवर क्षमताको ब्याट्री छ। यस गाडीमा ४५ किलोवाटको फाष्ट चार्जर र ६.६ किलोवाटको एसी चार्जर सपोर्ट गर्ने बताइएको छ।
सिनोगोल्ड भित्र्याउने तयारीमा विशाल ग्रुप
यस वर्षको सुरुवाती चरणमै चिनियाँ ब्रान्ड सिनोगोल्ड पनि भित्रिने तयारीमा छ। विशाल ग्रुपले नयाँ ब्रान्ड सिनोगोल्डको उक्त गाडी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ।
![d9b946d9-101a-4b93-86a1-c87f155afcaa-1713185936.jpg](https://www.capitalnepal.com/uploads/posts/d9b946d9-101a-4b93-86a1-c87f155afcaa-1713185936.jpg?timestamp=1713185963701)
सिनोगोल्ड चिनियाँ अटोमोबाइल उत्पादन कम्पनी हो। यो कम्पनी विशेष गरी विद्युतीय सवारीसाधन उत्पादन गर्ने गरी स्थापना भएको हो। सिनोगोल्ड ब्रान्ड २०१६ मा स्थापना भएको ब्रान्ड हो। यस गाडीका अन्य विशेषताहरु सार्वजनिक गरिएको छैन।
दुगडले भित्र्याउनेछ गेटोरका विद्युतीय गाडी
व्यवसायिक घराना दुगड ग्रुपले गेटोरका विद्युतीय कार नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ। दुगडले उक्त ब्रान्डका गाडी बिक्रीका लागि सम्झौता गरिसकेको छ। गेटोर ब्रान्ड २०१८ मा स्थापना भएको ब्रान्ड हो। यो ब्रान्ड चीनको चेरी समूहको सबब्रान्डका रुपमा स्थापना भएको थियो।
गटोर ब्रान्डका ५, ६ र ७ सिट क्षमताका क्रसओभर र एसयूभी उत्पादन हुने गरेको छ। गेटोर ब्रान्डका आइसी इन्जिनयुक्त, पुर्णविद्युतीय र प्लगइन हाइब्रिड कार उत्पादन भइरहेको छन्। चिनियाँ चारपांग्रे ब्रान्ड गेटोर र दुगड समूहबीच सम्झौता भएकाले उक्त ब्रान्डका गाडीले पनि नेपाली बजारमा छिट्टै प्रवेश पाउने बताइएको छ।
भियतनामी ब्रान्ड भिनफास्ट भित्रिने तयारीमा
भियतनामी इलेक्ट्रीक कार ब्रान्ड भिनफास्ट नेपाल भित्रिने तयारीमा छ। यो गाडी विशाल ग्रुपले ल्याउने तयारी गरिरहेको छ। कम्पनीको भिएफ–३ मिनी एसयूभी निकै स्टाइलिस डिजाइनमा बनेको छ। यसको लम्बाई केबल ३११४ एमएम छ। दुई ढोका मात्रै भएको मिनी एसयूभीमा सिट भने ५ जनाको लागि प्रयाप्त रहेको छ।
![90ac04b3-a133-4991-b1dc-608277d2ffb5-1713185654.jpg](https://www.capitalnepal.com/uploads/posts/90ac04b3-a133-4991-b1dc-608277d2ffb5-1713185654.jpg?timestamp=1713185657312)
यसको बडी निकै कप्याक्ट छ, १६ इन्चको ह्वीलसहित अग्लो साइजमा आएको भिएफ ३ को ग्राउन्ड क्लियरेन्स झण्डै २०० एमएम छ। यसले सिंगल चार्जमा २०० किलोमिटर हाराहारी रेन्ज दिन्छ।
एमडब्लुले भित्र्याउनेछ नामी–०१
एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपाल ल्याउन लागेको नामी ब्रान्डको नामी ०१ निकै प्रतिस्पर्धी मूल्यमा आउने भएको छ। क्रसओभर सेगमेन्टको नामी ०१ विद्युतीय कार ३२ लाख रुपैयाँकै वरिपरी मूल्य निर्धारण हुने भएको छ। कम्पनीले ३० देखि ३४ लाख भित्रै यो कारको मूल्य तय गर्ने छ। ३१.४५ र ४२.३ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा यो कारमा छ।
![0ff068f9-d222-40c2-b337-e61babbecf46-1713185635.jpg](https://www.capitalnepal.com/uploads/posts/0ff068f9-d222-40c2-b337-e61babbecf46-1713185635.jpg?timestamp=1713185635730)
७० किलोवाटको मोटर जडान भएको यो कारको टप स्पीड १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ। चाइना लाइट–ड्युटी भेहिकल टेस्ट साइकल (सीएटीसी)को दाबीअनुसार ३१.४५ केडब्लूएच ब्याट्री भएको नामी ०१ ले फुल चार्जमा ३ सय ३० किलोमिटर र ४२।३ केडब्लूएच ब्याट्री भएकोले ४ सय ३० किलोमिटर रेन्ज दिने छ। डीसी फस्ट चार्जरमार्फत ३० देखि ८० प्रतिशत चार्ज हुन जम्मा ३० मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ।
सिजी मोटर्सको बहुप्रतीक्षित मोडल ‘नेटा एक्स’को इन्ट्री
सिजी मोटर्सको बहुप्रतिक्षित मोडल ‘नेटा एक्स’ नेपाल भित्रिएको छ। चीनमा उत्पादन भएका एकपछि अर्को एसयूभी नेपाल आउनेक्रम बढ्दो छ। आकर्षक बडी डिजाइन, ठूलो साइज र राम्रो रेन्ज प्रदान गर्ने नेटा एक्समा ६२ किलोवाट आवर क्षमताको ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ। नेपाली बजारमा उपलब्ध हुने नेटा एक्सको सानो ब्याट्रीले ४०० र ठूलो ब्याट्रीले ५०० किलोमिटर माथि रेन्ज दिने कम्पनीको दावी छ।
![netax-1713189662.jpg](https://www.capitalnepal.com/uploads/posts/netax-1713189662.jpg?timestamp=1713189666223)
यसमा सबैभन्दा स्मार्ट फिचरको रुपमा क्वालकमको स्मार्टड्रागन ८१५५ ककपीट दिइएको छ। यसमा ३ वटा स्मार्ट ड्राइभिङ चीप पाउन सकिन्छ। नेटा एक्सको लम्बाई ४६१९ एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ। कम्पनीले यसमा २७७० एमएमको ह्वीलवेस पाउन सकिन्छ। यसमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ।