काठमाडौं । करिब १८ महिनापछि नेपाली चलचित्र (फिल्म) हलहरु खुल्ने भएका छन् । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानका अनुसार बिहीबारबाट हल खोल्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालिप्रसाद पराजुलीले अनुमति दिएका हुन् ।
काेरोना संक्रमणको पहिलो लहर सुरु भएदेखि २०७६ चैत ९ गतेबाट बन्द भएका हलहरु सञ्चालन हुन लागेका हुन् । स्वास्थ्य मापदण्ड पालना गरी हल खोल्ने तयारी गरिएको अध्यक्ष प्रधानले बताए । मास्क तथा स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम जस्ता स्वास्थ्य मापदण्ड अपनाएर हल सञ्चलन हुने छन् ।
उनकाअनुसार प्रजिअले बिहीबारबाट फिल्म हल खोल्न अनुमति दिए पनि हल सञ्चालन हुन भने एक हप्ता लाग्छ । क्यापिटल नेपालसँग कुरा गर्दै अध्यक्ष प्रधान भने, ‘१७/१८ महिनादेखि बन्द रहेका हल सञ्चालन गर्नका लागि हलवालाले तयारी पनि गर्नुपर्छ । सरसफाइलगायत अन्य व्यवस्थापन गर्न कम्तिमा पनि एक हप्ता लाग्छ त्यसपछि चलचित्र प्रदर्शनको लागि हलहरु तयारी हुन्छन् ।’
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार कुन चलचित्र प्रदर्शन गर्ने भनेर निर्माता संघले छलफल गर्ने तयारी गरेको छ । ‘निर्माता संघ तथा चलचित्र संघलगायतले सम्बन्धित ठाउँमा कुरा पुर्याइ रहेको हो तर, भोलिबाट हल खुल्छ भनेर आज मात्रै जानकारी भएको छ ।
अहिले नै कुन फिल्म प्रदर्शन हुन्छ भन्न त सकिँदैन ।’ उनी भन्छन्, ‘निर्माताहरुसँग छलफल गर्नुपर्छ, फिल्म प्रदर्शन गर्नु भनेको बिज्नेसको कुरा पनि हो त्यसैले निर्माताहरुले फिल्म प्रदर्शन गर्न चाहेका र लगानी उठ्ने सम्भावनाका भएका फिल्म प्रदर्शन हुन्छन् ।’
अध्यक्ष प्रधानकाअनुसार कोरोना अघिसम्म देशभरका २०४ पर्दा भएका हलहरूमध्ये १३ वटा कोरोना भाइरस जोखिमकै बीचमा सदाका लागि बन्द भएसकेका छन् ।
देशभर ६४ वटा हल भूकम्पको प्रभावदेखि नै बन्द भएका थिए । हाल नेपालमा कुल बन्द हुने हलको संख्या ७५ पुगेको छ । देशभर १ सय ५३ हल कोरोना भाइरस जोखिमको प्रभावमा परेका छन् ।
त्यसो त चलचित्रकर्मीले कोरोना प्रभावकै कारण चलचित्र क्षेत्रले झण्डै २ अर्ब रूपैयाँ बराबरको क्षति बेहोर्नु परेको बताउँदै आएका छन् । तर, यसको निश्चित तथ्यांक भने छैन ।
सामान्यतयाः एउटा हलमा १५ देखि २० जनासम्म आबद्ध हुने गर्दछन् । चलचित्र हलको आर्थिक क्षतिलाई आँकलन गर्दा खर्ब नजिक पुगेको संघका अध्यक्ष प्रधान बताउँछन् । चलचित्र हलको भवन बनाउनदेखि डिजाइनसहितको खर्च हुने भएकाले हलमा आर्थिक क्षति बढी भएको उनको भनाइ छ ।
नेपालमा भएका धेरैजसो हल भाडामा सञ्चालन भई थोरै हलको मात्रै आफ्नै भवन रहेको उनको भनाइ छ । नेपालमा फिल्म हल सञ्चालन गर्ने क्यूएफएक्स चेनअन्तर्गत देशभर १२ वटा हल छन् । त्यसमध्ये कोरोनाको कारण २ वटा हल पूर्णररूपमा बन्द भएको क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन अडिगा बताउँछन् ।
आफ्नो मातहतका कुमारी र जय नेपाल हल क्यूएफएक्सले पूर्णररूपमा बन्द गरेको हो । उक्त १२ वटा हलमा करिब साढे ३ सय जनाले रोजगारी पाएका थिए । तर, कोरोनाको कारण भएको आर्थिक क्षतिबारे क्यूएफएक्सले आँकलन नगरेको उनको भनाइ छ ।
चलचित्र निर्माता संघका अनुसार छायांकन भएर प्रदर्शनको पर्खाइमा करिब ७५ वटा फिल्म छन् । ती चलचित्र निर्माण गर्नका लागि १ अर्ब ५० देखि ७० करोडको बीचमा लगानी भएको निर्माता संघले जनाएको छ । यद्यपि नेपाल चलचित्र बोर्डले भने तयारी पूरा गरेर प्रदर्शनमा रोकिएका चलचित्रको संख्या करिब ५० वटा रहेको जनाएको छ ।