काठमाडौं। जेनजी आन्दोलनका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको भैसेपाटी र चितवनमा रहेका दुवै घरमा आगो लगाइयो। भ्रष्टाचार अन्त्य लगायत विभिन्न मागसहित आन्दोलनमा उत्रिएका जेनजीहरूले दुवै ठाउँका घरमा आगो लगाएपछि बिहीबार बिहानै सामाजिक सञ्जालमा भावुक स्टेटस लेख्दै गभर्नर पौडेलले आफ्नो पीडा पोखेका थिए।
अराजक भीडले आफ्ना दुवै घर जलाएर घरबारविहीन बनाएका गभर्नर पौडेल शुक्रबार कार्यालयमा आए। त्यसैदिन उनले जेनजी आन्दोलनकै क्रममा घरबार र व्यवसायनै ध्वस्त पारेर पीडामा रहेका व्यवसायीहरूसँग छलफलमा जुटे।
आन्दोलनका क्रममा ध्वस्त भएका व्यवसायिक प्रतिष्ठानहरूलाई कसरी उठाउने र व्यवसायीमाथि परेको नकारात्मक असरलाई सरकारी स्तरबाट कसरी कम गर्न सकिन्छ भन्ने विषयमा गभर्नर पौडेलले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग छलफल गरे।
महासंघका केन्द्रीय सदस्य प्रबलजंग पाण्डेका अनुसार गभर्नर पौडेलले जेनजी आन्दोलनले निजी क्षेत्रमा पारेको प्रभाव र क्षतिको बारेमा संक्षिप्त जानकारी लिए। व्यवसायीहरूसँगको छलफलमा राष्ट्र बैंकको तर्फबाट व्यवसायीहरूलाई तत्कालीन साथ र सहयोगका लागि सधैं तयार रहेको समेत उनले बताए।
‘गभर्नर पौडेल आफैं घर जलेको पीडामा रहँदारहँदैपनि व्यवसायीहरूको मनोबल उकास्न के गर्न सकिन्छ भनेर छलफलका लागि बोलाउनुभयो,’ महासंघका केन्द्रीय सदस्य पाण्डेले भने। ‘दीर्घकालीन असर नगर्ने गरी नीतिगत निर्णयमा सुझाव दियौं।’
व्यवसायीहरूलाई आफ्ना विषय राख्न र समस्या समाधानका लागि सहज होस् भन्ने उद्देश्यका साथ राष्ट्र बैंकले उद्योग र बैंक हेर्ने गरी निर्देशकहरू गुरु पौडेल र किरण पण्डितलाई फोकल पर्सनको रूपमा जिम्मेवारी दिएको छ। पौडेलले बैंक तथा वित्तीय संस्थाको समन्वय गर्ने र पण्डितले उद्योग तर्फको समन्वय गर्ने गरी जिम्मेवारी पाएका छन्।
राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा भएको क्षति र त्यसबाट परेको प्रभावको बारेमा निजी क्षेत्रसँग गभर्नर पौडेलले छलफल गरेको बताए। ‘अहिले प्रारम्भिक छलफल भएको छ,’ प्रवक्ता पण्डितले भने।
जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ठूलो क्षति भएको छ। यसका कारण निजी क्षेत्र त्रसित भइरहेको बेला राष्ट्र बैंकका गभर्नरले निजी क्षेत्रका प्रतिनिधिहरूलाई बोलाएर ढाढस दिएका छन्। आफैं घर जलेको पीडामा रहिरहँदा पनि व्यवसायीहरूमाथि परेको घाउँमा मलहम लगाउने प्रयासलाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिएको छ।