काठमाडौं। गत भदौ २३ गते भएको आन्दोलन र दंगापछि राजधानीसहित देशका विभिन्न भागमा निजी सम्पत्तिमा भएको आक्रमणको पीडामा परेका व्यवशायी ध्रुव थापाका छोरा सौरभ थापाले पोखराको आफ्ना घर, अफिस र सम्पत्ति जलाइएपछि हृदयविदारक बयान सार्वजनिक गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो भावनात्मक वक्तव्यमा आफू सुरुदेखि नै जेनजी आन्दोलनको समर्थनमा रहे पनि आन्दोलनलाई भडकाएर आएको हिंसात्मक परिणामले परिवारलाई विनाशमा पुर्याएको उल्लेख छ।
‘हाम्रो घर, हाम्रो अफिस र भाडामा दिएका सम्पत्तिसम्म आक्रमणमा परे। यो सामान्य दंगा मात्र थिएन। पेट्रोलका डब्बा बोकेर एक एक तलामा आगो लगाइयो। हाम्रो प्रिय घरपरिवारकी सहयोगी दिदी फसिन् र जिउँदै जलेर मृत्यु भयो,’ बयानमा भनिएको छ।
बाबुको तीन दशकको सपना खरानी
बयानमा पारिवारिक व्यवसायको यात्राको चर्चा गर्दै भनिएको छ, ‘बाबुले पुर्ख्यौली घरमै पुराना मोटरसाइकल सफा गरेर बेच्ने बाटोबाट सुरु गर्नु भयो। ३० वर्षको संघर्षपछि उहाँले साम्राज्य खडा गर्नु भयो। पोखराबाट नाडाका पहिलो अध्यक्ष बन्नु भयो। भूकम्पताका राहत बाँड्न जीवन जोखिममा पार्नु भयो। कोभिडताका एम्बुलेन्स दान गर्नुभयो, छात्रवृत्ति दिनु भयो।’
परिवारले आर्थिक नोक्सानभन्दा ठूलो घाउ सपनामा परेको घाउ भएको उल्लेख गर्दै लेखेको छ, ‘आगोले भित्ताभित्तामात्र होइन पसिना, त्याग र सपना समेत जलायो। किन? किनभने बाबुको दाजु राजनीति गर्छन्। यो त केवल असफल डाह र राजनीतिक स्वार्थको परिणाम हो।’
बयानमा आक्रोश व्यक्त गर्दै भनिएको छ, ‘के नेपालमा सफल हुनु अपराध हो? के आफ्नै देशमै रहेर निर्माण गर्नु, जोखिम लिनु गलत हो? मैले सधैं विदेशमा रहेका साथीहरूलाई फर्कन आग्रह गरेको थिएँ। तर आज म के भन्न सक्छु?’
यति भयावह क्षणमा पनि साथ दिने शुभेच्छुकलाई धन्यवाद दिँदै परिवारले भनेको छ, ‘तपाईंहरूको सद्भाव सधैं हाम्रो हृदयमा रहने छ। हो, हाम्रो घर गयो, अफिस खरानी भयो, तर हाम्रो आत्मबल छैन हराएको। हाम्रो सपना छैन हराएको। नेपालप्रतिको प्रेम छैन हराएको।’
बयानको अन्तिममा भनिएको छ, ‘हाम्रो सम्पत्ति खरानी भएको छ। तर हाम्रो आत्मा अझ शक्तिशाली भएर दन्किएको छ। कुनै आगोले यसलाई नष्ट गर्न सक्दैन।”