काठमाडौं। आफ्नो पसिना, मिहिनेत र सपना जोडेर दशकौंदेखि उभ्याइएको व्यावसायिक संरचना छिनभरमै खरानीमा परिणत हुँदा उद्योगी व्यवसायी असह्य पीडामा छन्। सोमबारदेखि सुरु भएको जेनजी युवाको आन्दोलन मंगलबार हिंसात्मक बन्दै जाँदा सरकारीसँगै निजी क्षेत्रका संरचना र घरपरिवारमा समेत आक्रमण भए।
सोमबारको आन्दोलनमा सरकारी दमनका कारण १८ युवाले ज्यान गुमाएपछि मंगलबार आन्दोलन झनै उग्र बन्दा आगलागी र भौतिक संरचनामाथि आक्रमण गरियो। हाल मृतकको संख्या ५१ जना पुगिसकेको छ। आक्रोशित आन्दोलनकारीले सरकारी संरचना मात्र होइन, प्रधानमन्त्री र सांसददेखि उद्योगपति, व्यापारीसम्मका निवास र व्यवसायमा तोडफोड र आगजनी गरे।
दशकौंदेखि स्थापित व्यावसाय, घर र प्रतिष्ठान छिनभरमै ध्वस्त हुँदा हजारौं कामदार रोजगारीविहीन अवस्थामा पुगेका छन। अहिले निजी क्षेत्रले भोगिरहेको क्षतिको यकिन तथ्यांक आउन बाँकी छ। तर, खरानी र खण्डबीच उभिएका पीडित व्यवसायीले आँसु पुछ्दै नयाँ यात्रासहित अघि बढ्ने प्रतिज्ञा गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनले ध्वस्त संरचनालाई पुनः निर्माण गर्दै नयाँ उत्साह लिएर काम गर्ने प्रतिबद्धता जनाए। ढलेका संरचनालाई पुनर्निर्माण गर्दै नयाँ अवसरका साथ काम गर्ने उनको भनाइ छ।
महासंघका पूर्वअध्यक्ष एवं गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छाले आन्दोलनलाई कठिन परिस्थितिमा आएको सकारात्मक सन्देशका रुपमा लिइएको बताए। विशेषगरी जेनजी आन्दोलनपछि उत्पन्न अनिश्चितता र तनावबीच आएको सकारात्मक अभिव्यक्ति देशभरको व्यावसायिक समुदायलाई प्रेरणा दिने किसिमको भएको टिप्पणी उनको छ।
‘म र मेरो परिवार निरास वा विचलित भएको छैन,’ पूर्वअध्यक्ष गोल्छाले भने, ‘देशको लोकतन्त्र अझ सुदृढ होस भन्ने कामना गर्दै आफू र आफ्नो परिवार अझ सशक्त रुपमा रोजगारी सिर्जना तथा लगानी बढाउने प्रतिबद्धतामा दृढ छु।’
१२ वटा स्टोर पूर्ण रुपमा खरानी भएको भाटभटेनी सुपर स्टोर्सका अध्यक्ष मीनबहादुर गुुरुङले जेनजी आन्दोलनमा भोगेको ठूलो क्षतिपछि पुनः उठ्ने दृढ संकल्प व्यक्त गरेका छन्।

‘हाम्रा ग्राहकरुपी परिवारको सहयोग र समर्थनका कारण आफ्नो मनोबल अझै मजबुत भएको छ’, अध्यक्ष गुरुङले भने, ‘दुःखद क्षण गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रा स्टोर्स ध्वस्त भए पनि तपाईंहरुको साथले अझ मजबुत महसुस गरिरहेका छौं। हजारौं सहयोगी हातले अहिले सफा गर्ने, आँसु पुछ्ने र पुनः उभिन शक्ति दिने कार्यमा साथ दिएका छन्।’

बीएलसी होल्डिंग्सका अध्यक्ष वसन्त चौधरीले सामाजिक सञ्जालमा पुरानो घरको फोटो राख्दै दिवंगत आमा–बुबालाई सम्झिएका छन्। उनले जीवन सदैव संघर्षमै बितेको बताउँदै आन्दोलनले क्षति पुगे पनि अझै अडिग रहने विश्वास व्यक्त गरेका छन। ‘घरका पर्खाललाई जलेर खरानी बनाउन सकिन्छ, तर परिवारका सम्झना, मूल्य र माया कहिल्यै नष्ट हुँदैनन। ती सधैं अमर रहन्छन्,’ चौधरीले भनेका छन्।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेनजी आन्दोलनमा पारिवारिक घरमा आक्रमण र आगजनी, कारखाना तथा कार्यालयमा क्षति पुर्याइनु, सोरुम लुटिनुजस्ता घटनाले दशकौंको त्याग र मिहिनेतलाई केही घन्टामै खरानीमा परिणत गरे पनि नयाँ आयामको साथ अझै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
‘कठिन घडीमा सीजी परिवारभित्रको एकता र साहस झन् प्रस्ट भएको छ,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘आगोको बीचमा पनि हाम्रो टोलीले हार मानेन। सम्पत्ति जोगाउन, ग्राहक सेवा सुनिश्चित गर्न जीवन जोखिममा राखेर काम गर्यो। तपाईंहरुकै कारण आशा अझै बाँकी छ’।

हिमालयन अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरभ थापाले भने, ‘हाम्रो सम्पत्ति खरानी भएको छ। तर, आत्मा अझ शक्तिशाली भएर दन्किएको छ। कुनै आगोले यसलाई नष्ट गर्न सक्दैन।’