काठमाडौं । प्रतिस्थापन बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा विभिन्न मन्त्रालयबाट आएको कार्यविधि तीन दिनभित्रमा स्वीकृत गर्न अर्थमन्त्री जनार्दन शर्माले सचिवहरुलाई निर्देशन दिएका छन् ।
बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थबाट सम्पादन हुने कार्यहरुमा कुनै ढिलाई नहुने प्रतिवद्धतासमेत व्यक्त गर्दै मन्त्री शर्माले अर्थमा आएका कार्यविधि निर्माण सम्बन्धी पुराना फाइलहरु ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाईलहरु ३ दिनभित्र टुंगो लगाउने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका हुन् ।
सोमबार अर्थमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो ।
बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विषयहरुमा तत्काल कार्य सम्पन्न गर्ने, अन्तरमन्त्रालय समन्वय गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशिघ्र अघि बढाउनेलगायतका निर्णय भएको छ ।
अर्थमन्त्री शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले प्रतिस्थापन बजेटले निर्धारण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सबै मन्त्रालयहरुले धेरै नै मेहेनत गर्नुपर्ने बताए ।
अर्थसचिव मधुकुमार मरासिनीले गठबन्धन सरकारको न्यूनतम साझा नीति कार्यक्रमअनुसार आएको प्रतिस्थापन बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक कार्ययोजना बनाएर तत्काल काम थाल्नुपर्नेमा जोड दिए ।