काठमाडौं। ‘नेपालको’ लक्जरी पर्यटनले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गरेको छ। मुस्ताङमा रहेको शिन्ता मणि मुस्ताङ प्रतिष्ठित रोब रिपोर्टले सार्वजनिक गरेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीमा विश्वकै नम्बर–१ लक्जरी होटल घोषित भएको हो। यस उपलब्धिले नेपाललाई हिमाल र साहसिक पर्यटनको मात्र होइन, उच्चस्तरीय लक्जरी पर्यटन गन्तव्यका रूपमा समेत विश्वमाझ स्थापित गरेको कम्पनीको दाबी छ।
नेपाललाई लामो समयदेखि हिमाल, साहसिक पर्यटन र समृद्ध सांस्कृतिक सम्पदाको देशका रूपमा चिनिँदै आएको छ। सन १९७० र १९८० को दशकमा नेपाल एसियाकै प्रतिष्ठित पर्यटन गन्तव्यमध्ये एक मानिन्थ्यो, जहाँ विश्वका राजपरिवार, अन्वेषक र अन्तर्राष्ट्रिय हस्तीहरूको आगमन हुने गथ्र्यो। समयसँगै नेपाल ट्रेकिङ र साहसिक पर्यटनको पर्याय बने पनि विश्व लक्जरी पर्यटन बजारमा यसको उपस्थिति क्रमशः कमजोर बन्दै गएको थियो।

यही अवस्थालाई परिवर्तन गर्दै नेपाललाई पुनः विश्वस्तरीय लक्जरी गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ शेर्पा हस्पिटालिटी ग्रुप (एसएचजी) ले विगत केही वर्षदेखि सांस्कृतिक मौलिकता, दिगोपना, स्वास्थ्य तथा पुनर्जागरणमुखी आतिथ्य सेवामा आधारित पर्यटन अनुभव विकास गर्दै आएको छ। सन २०२३ को अगस्टमा लोअर मुस्ताङमा सञ्चालनमा आएको समूहको प्रमुख लक्जरी रिसोर्ट शिन्ता मणि मुस्ताङ यस अभियानको केन्द्रमा रहँदै आएको छ।
यो सूची विश्वका सबैभन्दा अनुभवी २४ जना ट्राभल मास्टर्स अर्थात् लक्जरी यात्रा विशेषज्ञहरूको मूल्यांकनका आधारमा तयार गरिन्छ। उनीहरूले विश्वभरका उच्चस्तरीय यात्रुका लागि विशेष यात्रा अनुभव तयार पार्ने भएकाले रोब रिपोर्टको यो सूचीलाई लक्जरी पर्यटन उद्योगको सबैभन्दा विश्वसनीय मापदण्डमध्ये एक मानिन्छ। यस वर्षको सूचीमा विश्वका चर्चित लक्जरी होटलहरू समावेश भए पनि तिनलाई पछि पार्दै शिन्ता मणि मुस्ताङ पहिलो स्थानमा रहन सफल भएको हो।
शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नाम्ग्याल शेर्पाले यो सम्मान एउटा होटलको उपलब्धिमात्र नभई नेपालकै पर्यटन क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताए।
‘हाम्रो लक्ष्य नेपाललाई विश्वका उत्कृष्ट लक्जरी गन्तव्यहरूमध्ये एकका रूपमा पुनः स्थापित गर्नु हो। हामीले नेपालको पहिचान परिवर्तन गर्ने होइन, बरु हाम्रो संस्कृति, प्राकृतिक सौन्दर्य, सम्पदा र समुदायको मौलिकतालाई विश्वसामु प्रस्तुत गर्ने प्रयास गरेका छौं।’ सिईओ शेर्पाले भने ‘रोब रिपोर्टबाट प्राप्त यो सम्मानले नेपाल पनि विश्वका प्रतिष्ठित लक्जरी गन्तव्यसँग समान स्तरमा उभिन सक्ने पुष्टि गरेको छ।’
उनका अनुसार शिन्ता मणि मुस्ताङको अन्तर्राष्ट्रिय यात्रामा निरन्तर सफलता मिलिरहेको छ। सन २०२४ मा ‘बेस्ट अफ द बेस्ट’ तथा ‘द ५० बेस्ट लक्जरी होटल्स इन द वल्र्ड’ सूचीमा स्थान बनाएको होटलले २०२५ मा ‘बेस्ट लक्जरी एडभेन्चर होटल’ को उपाधि जितेको थियो। त्यसपछि २०२६ मा विश्वकै नम्बर–१ लक्जरी होटल बन्न सफल भएको हो।

सिईओ शेर्पाले यो सफलता होटलका कर्मचारी, साझेदार, मुस्ताङका स्थानीय समुदाय तथा होटललाई विश्वास गर्ने सम्पूर्ण अतिथिहरूको साझा उपलब्धि भएको उल्लेख गरे।
यो उपलब्धिसँगै शिन्ता मणि मुस्ताङ मात्र नभई नेपाल पनि विश्व लक्जरी पर्यटनको अग्रपंक्तिमा उभिएको कोर्रा टुर्स एण्ड ट्राभल्सका कार्यकारी निर्देशक विजय अमात्यको भनाइ छ।
‘यो उपलब्धिले नेपालप्रतिको अन्तर्राष्ट्रिय धारणा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ’ कार्यकारी निर्देशक अमात्यले भने ‘अहिले विश्वभरका उच्चस्तरीय पर्यटकहरू मौलिक संस्कृति, दिगोपन, स्वास्थ्य तथा स्थानीय समुदायसँग जोडिने अनुभव खोजिरहेका छन।’