काठमाडौं । सरकारले कोभिड–१९ को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई १० हजार रुपैयाँ राहत दिन कार्यविधि बनाउन थालेको छ । अर्थ मन्त्रालयले राहत वितरणका लागि अहिले कार्यविधि बनाइरहेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते ल्याएको प्रतिस्थापन बजेटमा कोभिड महामारीबाट प्रभावित अनौपचारिक एवम् असंगठित क्षेत्रका ५ लाख गरिब र विपन्नलाई राहत स्वरूप एकपटकका लागि १० हजार रुपैयाँ दिने उल्लेख छ ।
सोही घोषणा कार्यान्वयन गर्न अर्थले कार्यविधि बनाउन थालेको हो । राहत वितरणका लागि कार्यविधि बनाउने काम भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । उनले दसैंअघि नै रकम वितरणका लागि तयारी भइरहेको उनले सुनाए । कार्यविधि बनेपछि स्थानीय तहहरुबाट रोजगारी गुमाएका गरिब तथा विपन्नलाई राहत वितरण गर्ने प्रवत्ता आचार्यले बताए ।
सामाजिक सुरक्षा भक्ता र अन्य सुविधा लिनेले सो रकम नपाउने उनले स्पष्टपारे । कोरोनाबाट रोजगारी गुमाएका अति गरिब तथा विपन्न परिवारले मात्र सो रकम पाउने प्रवक्ता आचार्यले स्पष्टपारे । बजेट पास हुन ढिलाइ भएकाले कार्यविधि बनाउनमा केही विलम्ब भएको उनको भनाइ छ । कार्यविधिमा गलत व्यक्तिले राहत नपाउन र वास्तविक गरिब र विपन्नले पाउने भन्ने लक्ष्य रहेको उनले सुनाए ।
बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमा निश्चित मापदण्डका आधारमा सरकारले उक्त सहयोग नगद अनुदानको रूपमा दिने उल्लेख छ । बजेटमा ल्याएको राहातबाट राज्यलाई थप ५ अर्ब रुपैयाँ आर्थिक पर्ने देखिएको छ । चुनाव लक्षित यस्ता कार्यक्रमले राज्यलाई थप दायित्व बढाएको छ ।
सरकारले बजेटमा राहत दिने भने पनि कोभिडले कति क्षति पुग्यो र कतिले रोजगारी गुमाए भन्ने एकिन तथ्यांक नभएको अवस्थामा सरकारले बिना अध्ययन ५ लाख व्यक्ति प्रभावित भएको अनुमान गरेर रकम बाँड्न लागेको हो । यो रकम कार्यकर्ताले पाउने संभावना बढी छ ।
अर्थमन्त्री शर्माले स्थानीय तहमार्फत तथ्यांक लिएर रकम बाँड्ने भने पनि यो विशुद्ध कार्यकर्ता पोस्ने कार्यक्रममा रुपमा अघि सारेको भनेर यसको आलोचनासमेत भएको छ ।
यसअघि केपी ओली नेतृत्वको सरकारले पनि चुनाव लक्षित कार्यक्रम अघि सारेर वृद्धि भत्ता ३ हजारबाट ४ हजार पुर्याएको छ । यसबाट पनि सरकारलाई ठूलो आर्थिक भार परेको भन्दै सर्वत्र आलोचना भएको थियो । अधिकांश क्षेत्र पुनस्थापित हुँदै रोजगारीमा फर्किएपछि फेरि पैसा बाँड्ने कार्यक्रम अघि सार्नु विशुद्ध चुनाव लक्षित मात्रै हो ।
