काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा सरकारले राखेको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ । बैंकले चालू आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।
यस्तै सरकारले चालू आर्थिक वर्षको बजेटमा ७ प्रतिशत आर्थिक विस्तारको लक्ष्य लिएको छ । बैंकले बिहीबार ‘साउथ एसिया इकोनोमी फोकस’ सार्वजनिक गर्दै गत वर्ष १.८ प्रतिशत मात्र आर्थिक वृद्धि भएको अनुमान सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्षमा अर्थतन्त्र ४.७ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकको छ । आर्थिक वर्ष ०७६/०७७ मा कोरोना महामारीले गर्दा आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक भएको थियो ।
यस्तै एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकको प्रक्षेपण एडीबीको भन्दा कम छ ।
कोभिडविरुद्धको खोपको संख्या बढ्न थालेसँगै नेपालको अर्थतन्त्र क्रमिक रुपमा सुधार हुन थालेको विश्व बैंकले बताएको छ । यस्तै पर्यटन र आवप्रवासी श्रमिकको चहलपहल पनि बढ्न थालेको कारण आर्थिक क्रियाकलापमा पुनरुत्थानको संकेत देखिन थालेको बैंकले जनाएको छ ।
यस्तै संकटमा पर्यटन क्षेत्र विस्तारै खुल्न थालेको र विदेशबाट प्राप्त हुने रेमिट्यान्स आप्रवाह पनि बढ्ने आधारमा यो लक्ष्य प्रक्षेपण गरेको बैंकले आज सार्वजनिक गरेको इकोनोमिक फोकसमा उल्लेख गरिएको छ । यो वर्ष थप १.८ प्रतिशत अर्थतन्त्र विस्तार हुने बैंकको अनुमान छ । यद्यपि कोरोना जोखिम कायम रहेको बैंकले औंल्याएको छ ।
हाल दक्षिण एसियामा खोपका कारण महामारीको दुस्प्रभावको जोखिम कम भएसँगै वैश्विक मागहरु पनि निरन्तर सुधारमा आइरहेका छन् । यद्यपि यी सुधारहरु पनि जोखिम मुक्त नभएको र महामारी अघिको ट्रेण्ड लेभलभन्दा धेरै टाढा रहेको विश्व बैंकले जनाएको छ ।
नेपालको हकमा पनि आर्थिक पुनरुत्थानका क्रियाकलापहरु जेखिमले भरिएको र यी सबै यस वर्ष प्रदान गरिएको देशव्यापी खोप र सामाजिक दूरीको प्रतिफल भएको विश्व बैंकको निश्कर्ष छ ।
नेपालमा महामारीका कारण डिजिटल सेवाको व्यापक वृद्धि हुँदा दोहोरो अंकमा विद्युतीय भुक्तानीको कारोबार बढेको छ । सेवा क्षेत्रमा भइरहेको वृद्धिले नेपालको अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
तर, घरेलु रोजगारीको कमी, प्राकृतिक प्रकोप, मौसम परिवर्तनको जोखिम तथा पूर्वाधारमा ठूलो कमजोरीलाई भने विश्व बैंकले समस्याको रुपमा औंल्याएको छ ।
दक्षिण एसियामा माल्दिभ्सको सबैभन्दा बढी
चालू आर्थिक वर्षमा दक्षिण एसियाको आर्थिक वृद्धि औसत ७ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ । माल्दिभ्सको चालू आर्थिक वर्षमा ११ प्रतिशतले आर्थिक विस्तार हुने अनुमान बैंकको छ । गत वर्ष माल्दिभ्सको २२.३ प्रतिशत थियो । अघिल्लो वर्ष अर्थतन्त्र विस्तार ३३ प्रतिशतले ऋणात्मक भएको थियो ।
यस्तै भारतको ७.५, श्रीलंकाको २.१, बंगलादेशको ६.४, भुटानको ३.६ र पाकिस्तानको ३.४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान बैंकले गरेको छ । दक्षिण एसियामा भुटान, श्रीलंका र पाकिस्तानको भन्दा नेपालको आर्थिक वृद्धि बढी हुने अनुमान विश्व बैंकको छ ।
धेरै मुलुकले यस अवधिमा न्यून लगानी प्रवाह, आपूर्ति लाइन तथा मानव पुँजी संकलनमा अवरोध, ऋण वृद्धि जस्ता विभिन्न समस्याहरु सामना गरेका छन् । महामारीका कारण दक्षिण एसियामा मात्रै करिब ५ करोड ९० लाख मानिसहरु गरिब हुने बैंकको प्रक्षेपण छ ।
यो पनि हेर्नुहोस
सरकारको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण, यो वर्ष ४.१ प्रतिशत मात्र
आर्थिक वृद्धि ७ प्रतिशत हुने प्रक्षेपण
