पाेखरा । गण्डकी प्रदेशका प्रहरी नायब महानिरिक्षक दिवेश लोहनीले पर्यटकीय नगरी पोखरालाई शान्ति सुरक्षा अमन चैनको प्रत्याभूतिसहित सुरक्षित गन्तव्यका रुपमा चिनाउन पर्यटन व्यवसायीको साथ र समन्वयको खाँचो रहेको बताएका छन् ।
पोखरा पर्यटन परिषद् र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा ‘पोखरामा पर्यटन व्यवसायमा सुरक्षा व्यवस्थापन विषयक अन्तरक्रियात्मक अनुशिक्षण’ कार्यक्रमको उद्घाटनमा बोल्दै लोहनीले व्यवसायीको साथ र सहयोग हुने हो भने कुनै पनि अपराध लुक्न नसक्ने र अपराधिक घटना न्यूनीकरण हुने बताएका हुन् ।
उनले पर्यटन व्यवसायिले होटलमा आउने पाहुनाको बास्तविक परिचय नलिने र एक जनाले बुकिंग गरेपछि पाँच–छ जना सहजै बस्न दिने, सीसी क्यामेराको व्यवस्थापन नगर्नेजस्ता कतिपय कमजोरीले अपराधिक घटनाको अनुसन्धानमा चुनौती थपिएको बताए । साथै घटना संख्यामा हेरेर विश्लेषण गर्न नहुने भन्दै कुनै एक घटनाले सम्पूर्ण शान्ति सुरक्षालाई नै खलल पार्ने भएकाले घटना हुनुअघि नै सावधानी अपनाउनु पर्ने उनको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादर भट्टराईले पर्यटन क्षेत्रले विभिन्न कठिनाइको सामना गर्नु परिरहेको जनाउँदै पर्यटकका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको बताए । पर्यटकले घुमफिर गर्दा सुरक्षित महसुस गर्न सके मात्र पर्यटकीय गतिविधि बढ्ने भएकाले सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।
लेकसाइडका अधिकांश सोलार बत्तीहरु नबल्ने र साँझ परेपछि अन्धकार देखिने समस्या भएपछि व्यवसायीकै पहलमा १६ लाख खर्चेर बिजुलीबत्तीको व्यवस्थापन गर्नु परेको स्पष्ट पारे । सरकारले व्यवसायीको मर्का बुझेर प्रभावकारी नीति ल्याउन नसकेको जनाउँदै मौद्रिक नीतिको कार्यान्वयन नहुँदा व्यवसायीलाई निराश बनाएको धारणा राखेका थिए ।
वडा नं ६ का वडाध्यक्ष जगत पहारीले शान्ति सुरक्षा लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट अभाव रहेको र नीजि क्षेत्रको पहलमा पनि भइरहेका कार्य प्रशंसनीय रहेको बताए । उनले रात्रिकालीन व्यवसायबाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्न रात्रिकालीन निर्देशिका बने पनि त्यसको कार्यान्वयन हुन नसक्दा चुनौती थपिएको बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापा शान्ति सुरक्षाको जिम्मा प्रहरीको मात्र भन्ने परम्परागत मानसिकता त्यागेर अपराध न्यूनीकरणमा साझा धारणासहित सबैको साथ सहयोग र समन्वयको खाँचो हुने उल्लेख गरे ।
नागरिक बर्दी बिनाका प्रहरी भएकाले सचेत नागरिकबाट समाजलाई हिंसा र अपराधरहित बनाउन सहयोग पुग्ने बताए ।
दुई दिनसम्म चल्ने सो अनुशिक्षण कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ र प्रहरी प्रमुखबाट पर्यटन र सुरक्षासम्बन्धी विषयमा प्रस्तुतीकरण रहने परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार कार्यक्रममा होटल, रेष्टुरेन्ट र डान्सबारका सञ्चालक एवम् कर्मचारीसँगै पर्यटन क्षेत्रसँग अन्तरसम्बन्धित व्यवसायीको सहभागिता रहेको थियो ।