चितवन । चालू आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा १९ गैंडा मरेका छन् । मरेका गैंडामध्ये दुई चोरी सिकारीले मारेको आशंका गरिएको छ । अन्य भने कालगतीले मरेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालू आवको साउनमा छ, भदौमा दुई गैंडा मरेका हुन् । यस्तै असोजमा एक, कात्तिकमा तीन, मंसिरमा पाँच र पुसमा दुई गैंडा मरेका हुन् ।
मरेका गैंडामा बूढाे भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैंडा मरेका हुन् । यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैंडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैंडा सिकारीले मारेको आशंका भएकाे उनले जानकारी दिए ।
कार्यालयका अनुसार आव २०७५/७६ मा ४३ गैंडा मरेका थिए । सो समयमा गैंडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली बनाइएको थियो । यस्तै आव २०७७/७८ मा ३३, २०७६/७७ मा २६, २०७४/७५ मा २६, २०७३/७४ मा २५, २०७२/७३ मा १४, २०७०/७१ र २०७१/७२ मा ११/११ गैंडा मरेका थिए ।
यस्तै आव २०६९/७० मा १० गैंडा मरेको निकुञ्जको तथ्यांकले जनाएको छ ।
पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैंडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन् । गैंडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ । केही समय शून्य चोरी सिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैंडा मार्न थालेका हुन् । गैंडाको संख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्ने संख्या पनि बढी हुने गरेको छ ।
संख्या बढ्दै जाँदा प्राकृतिक कारणबाट मर्ने संख्या बढ्नुलाई अस्वाभाविक रूपमा लिनुनपर्ने विज्ञहरू बताउँछन् ।