काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेलले गरेको निर्णयलाई उल्टाउँदै इन्जिनियरिङ महाशाखा प्रमुख प्रभाकरचन्द्र मल्लिक जहाज निरीक्षणका नाममा विदेश सयरमा गएको खुलेको छ ।
एयरलाइन्सलाई अतिरिक्त आर्थिक भार पर्ने र सेफ्टीमा समेत लापरबाही हुने देखिएपछि तत्कालीन महानिर्देशक पोखरेलले अब उप्रान्त जहाज निरीक्षणका लागि विदेश नपठाउने नीतिगत निर्णय गरेका थिए ।
तर, त्यसलाई मल्लिकले उल्टाएर केही साता अघिमात्रै श्री एयरलाइन्सको जहाज लिनका लागि स्लोगाभिया गएर आएको खुलेको हो ।
यसअघि पनि प्राधिकरणका कर्मचारीहरू जहाज लिने नाममा विदेश जाने र विभिन्न बाहना देखाएर बसाइँ लम्ब्याउनेसमेत गरेका थिए । उनीहरू विदेशमा गएर निरीक्षण गर्ने भने होइनन् । पुनः नेपालमै आएर जहाज निरीक्षण गर्ने गरेका छन् ।
तर, प्राधिकरणका अधिकारीले भने एयरलाइन्सलाई प्रभावमा पारी विदेश घुम्न जानेको संख्या बढेपछि नीतिगत निर्णय गरेर रोकेको थियो । अहिले फेरि जहाज ल्याउने निहुँमा विदेश जान लागेको एक उच्च अधिकारीले क्यापिटललाई जानकारी दिए ।
‘नियामक निकायले नेपालमै बसेर नियमन गर्ने हो’ ती अधिकारीले भने, ‘कम्पनीमा गएर ल्याउने काम सम्बन्धित निकायको हो । त्यहाँ प्राधिकरणका कर्मचारी जान आवश्यक छैन । यसरी कर्मचारी जाँदा सेफ्टीमा बार्गेनिङ हुन सक्छ’ ।
अहिले एयरलाइन्सहरुमा सेफ्टीका समस्या धेरै आइरहेका छन् । यस्तो बेला महाशाखा प्रमुख नै कुनै एयरलाइन्सको जहाज लिन विदेशमा जानु गम्भीर कुरा भएको ती अधिकारीको भनाइ छ ।
‘सेफ्टी हेर्ने प्रमुख नै कुनै एयरलाइन्सको जहाज खरिदमा जानु भनेको गम्भीर गल्ती हो’ ती अधिकारीले भने, ‘यदि त्यो जहाजमा कुनै समस्या आए कस्तो रिपोर्ट आउला ?’
पहिले पनि जहाज खरिदका लागि विभागका इन्जिनियरहरु विदेश जान हानथाप गर्थे । पछि सेफ्टीमा समस्या आउन थालेपछि रोक लगाएको थियो । जहाज खरिद गर्न जाँदा उनीहरुले सम्बन्धित कम्पनीबाट मोटो रकमसमेत लिने गरेका छन् ।
एयरलाइन्स पनि प्राधिकरणका कर्मचारीसँग डराएर उनीहरुले भनेझैं काम गर्ने गरेको छ । कुनै बेला दुःख देलान् कि भनेर पनि प्राधिकरणका कर्मचारीले भनेबमोजिम नै कर्मचारी लैजाने र त्यहाँको सबै खर्च बेहोर्ने गरेको छ । यस विषयमा युरोपको हवाई सुरक्षा हेर्ने निकाय (ईआसा) ले पनि जहाज खरिदमा प्राधिकरणका कर्मचारी जाने गरेको विषयमा प्रश्न उठाएको थियो ।
प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले महाशाखा प्रमुख मल्लिक जहाज लिनका लागि विदेश गएको स्वीकार गरेका छन् । ‘पहिले किन रोकिएको थियो थाहा भएन’ प्रवक्ता कर्णले भने, ‘अहिले प्राधिकरणले आवश्यक ठानेर उहाँलाई पठाएको हो ।’
जहाज लिनका लागि प्राधिकरणका अधिकारी जाँदैमा सेफ्टीमा बार्गेनिङ हुन्छ भन्नु गलत भएको कर्णको दाबी छ ।