काठमाडाैं । उद्योग संगठन मोरङले सिआईएम बिजनेस क्लिनिक कार्यान्वयनमा ल्याएको छ ।
उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा यो क्लिनिक सञ्चालनमा आएको हो ।
गतसाता काठमाडौंमा संगठनको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयको टिमसमक्ष बिजनेस क्लिनिकमा हालसम्म संकलन गरिएका सदस्य उद्योग प्रतिष्ठानका १०४ वटा विभिन्न क्षेत्र तथा बिषयसँग सम्बन्धित समस्या प्रस्तुत गरेसँगै क्लिनिक कार्यान्वयनमा आएको हो ।
क्लिनिकमा संकलित सदस्य उद्योग प्रतिष्ठानका समस्या समाधानार्थ सहजीकरणका लागि उद्योग मन्त्रालयमा सम्पर्क समन्वय बिन्दु तोक्ने, हरेक तीन महिनामा संगठन र मन्त्रालयबीच सहजीकरण बैठक तथा समीक्षा बैठक गर्ने समझदारी भएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।
संगठनले सदस्य उद्योग प्रतिष्ठानका समस्या संकलन गर्न सदस्य प्रतिष्ठानमा प्रत्यक्ष भ्रमण गर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ । यसरी संकलित समस्यालाई कार्यान्वयन तहका, नीतिगत तहका, उद्योग विशेष वा साझा समस्या तथा ऊर्जा, कर, राजस्व, श्रम, भन्सार, निर्यात आयात, बैंक तथा वित्तीय क्षेत्र, स्थानीय सरकारजस्ता विषयमा वर्गीकरण गर्नेछ । यस्तै सोहीअनुरूपको समाधानका लागि सम्बन्धित निकायमा पहल र प्रयत्न गर्दै आएको छ । उद्योग मन्त्रालयमा फोकल बिन्दु तोकिएसँगै अब उद्योगी व्यवसायीका समस्याहरूको एकै स्थानबाट समाधानका लागि पहल र प्रयत्न गर्न सहज हुने अध्यक्ष प्याकुरेलले जानकारी दिए ।
संगठनले सञ्चालनमा ल्याएको बिजनेस क्लिनिकमा आन्तरिक र बाह्य गरी दुईवटा कम्पोनेन्ट रहेका छन् । आन्तरिक कम्पोनेन्टअन्तर्गत सम्बन्धित उद्योग वा व्यवसायको आन्तरिक क्षमता जाँचपड्ताल डायग्नोसिस गर्न बिजनेस हेल्थ चेकअपको सेवा उपलब्ध रहेको छ । यस्तै बाह्य कम्पोनेन्टअन्तर्गत उद्योग व्यवसायका समस्याहरू संकलन तथा पहिचानका लागि उद्योग भ्रमण गर्ने, समस्याको वर्गीकरण गर्ने, नीति विश्लेषण तथा अनुसन्धान गर्ने र समाधानका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको फोकल बिन्दुमार्फत सहजीकरण गर्नेजस्ता बिषय समेटिएको संगठनका महानिर्देशक चूडामणि भट्टराईले बताएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा संगठनका अन्य कार्यक्रमहरू सीप विकास, स्टार्टअप तथा इनोभेसन, औद्योगिक अध्ययन केन्द्र, नीतिगत बहस पैरवी फ्रेमवर्क, मेरो देश मेरै उत्पादन लगायतका कार्यक्रमका बारेमा समेत प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेलले संगठनले अघि सारेका सबै कार्यक्रममा सरकारको प्राथमिकता तथा मन्त्रालयको कार्यक्षेत्रभित्रै पर्ने भएकाले सहकार्य गरी काम गर्न तत्पर रहेको उल्लेख गरे ।
उद्योग मन्त्रालयको कार्यक्रममा सहसचिव, विभागीय प्रमुख तथा सम्बन्धित शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । संगठनबाट वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्षद्वय राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुशील रिजाल तथा अध्यक्षीय सल्लाहकार सोम अधिकारीको सहभागिता रहेको थियो ।