काठमाडाैं । सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले स्वास्थ्य बिमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो ।
बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ ले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि–२०७८’ स्वीकृत गरेको छ । ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरिरहेको बोर्डका सूचना अधिकारी शोभित रिजालले जानकारी दिए ।
‘वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ भएको व्यवस्थाअनुसार कार्यविधि जारी गरेको छ । उक्त व्यवस्था कार्यान्वयन गर्न श्रम मन्त्रालयसँग छलफल भइरहेको छ । श्रम मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयनमा जान्छ’ उनले भने ।
कार्यविधि स्वीकृतिमा आएसँगै वैदेशिक रोजगारीमा जाने प्रत्येक व्यक्तिले अनुमति लिँदा परिवारको स्वास्थ्य बिमाको अद्यावधिक परिचयपत्र पेस गर्नुपर्नेछ । कार्यक्रममा आबद्धताका लागि बोर्डले वैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रम स्वीकृति दिने कार्यालयमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्धता हुने व्यवस्था मिलाउनुपर्नेछ ।
वैदेशिक रोजगारमा गएको व्यक्तिको परिवारको बीमालेख नवीकरण बिमालेखको म्याद समाप्त हुनु एक महिना अगावै गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बीमालेख अनलाइन वा दर्ता सहयोगीमार्फत गर्न सकिनेछ ।
बोर्डले सातै प्रदेशका प्रदेश शाखा कार्यालय र ७७ जिल्लाका सम्पर्क शाखा कार्यालयलाई पत्र लेख्दै वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने कार्यमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गर्न निर्देशन दिएको छ ।
नेपालको संविधानको धारा ९५१० को उपधारा ज ९१५० मा ‘नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ व्यवस्था गरेको छ । त्यस्तै, स्वास्थ्य बिमा ऐन, २०७४ को दफा ९३० को उपदफा ९४० मा ‘वैदेशिक रोजगारीमा जाने कामदारको परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ’ भनी उल्लेख गरिएको छ ।