काठमाडौं। ८ अर्ब लागतमा निर्माण भई सञ्चालनमा आएको एक वर्षमै पाँचतारे होटल हिल्टन पूर्ण रुपमा ध्वस्त भएको छ। भ्रष्टचार अन्त्यसहितको माग राख्दै सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनको क्रममा केही युवाले हिल्टनमा लगाएको आगोले पूर्ण रुपमा जलेर ध्वस्त भएको हो।
२०८१ साउन १८ गते निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको होटल भदौ २४ गतेको आन्दोलनमा आगो लगाएपछि पूर्ण रुपमा जलेको हो। विदेशी पर्यटक होटलमा रहँदा-रहँदै अराजक भिडले होटलमा आगो लगाइदिएका थिए।
होटलभित्र रहेका विदेशी पर्यटकलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा स्थान्तरण गरेका थिए। हाल होटलमा आगलागी हुँदै गर्दा कति पर्यटक थिए भन्ने यकिन जानकारी आइसकेको छैन। आगलागीबाट होटल पूर्ण रुपमा जलेको छ। होटलभित्र रहेका गाडीसमेत जलेका छन्। आगलागीबाट कतिको क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ।
व्यावसायिक घराना शंकर ग्रुपले निर्माण गरेको पाँचतारे होटल हिल्टन ८ अर्ब रुपैयाँ लागतमा निर्माण भएको थियो। होटलमा १७४ कोठा छन। २०१८ बाट निर्माण थालिए पनि कोरोना महामारीले निर्माण प्रभावित बनाएको थियो। होटल व्यवस्थापनको जिम्मा बेलायतको हिल्टन वल्ड्रवाइड म्यानेजमेन्ट लिमिटेडले गरेको छ। यसमा हिल्टन वल्ड्रवाइड इन्कर्पोरेटेड अमेरिकाको स्वामित्व छ।
यसरी एउटा ब्राण्डमाथि भएको आक्रमणले विश्वको पर्यटन बजारमा नकरात्मक सन्देश जाने होटल एसोसिएन अफ नेपालका एक पदाधिकारीको भनाइ छ।
अमेरिकी हस्पिटालिटी कम्पनी हिल्टनले ११८ देशमा ६ हजार २१५ होटल तथा ९ लाख ८३ हजार ४६५ कोठा व्यवस्थापन गरिरहेको छ। विश्व प्रसिद्ध अमेरिकी ब्राण्ड हिल्टनमाथि भएको आक्रमणले विश्वको पर्यटन बजारमा नकरात्मक सन्देश फैलिएको पर्यटन व्यवसायीहरुको भनाइ छ।
पछिल्लो समय विश्व प्रसिद्ध ब्राण्ड एकपछि अर्को गरी नेपाल आइरहेको बेला हिल्टनमा लगाएको आगोबाट नकरात्मक सन्देश गएको व्यवसायीले बताएका हुन्। यसरी एउटा ब्राण्डमाथि भएको आक्रमणले विश्वको पर्यटन बजारमा नकरात्मक सन्देश जाने होटल एसोसिएन अफ नेपालका एक पदाधिकारीको भनाइ छ।
विदेशी ब्राण्ड नेपाल आएसँगै विश्वभर नेपालको निशुल्क प्रचार हुने र निश्चित पर्यटकसमेत आउने विश्वास लिँदै आएको छ। जगदम्बा हस्पिटालिटीले सन् २०१२ मा शंकर ग्रुपले स्थापना गरेको आतिथ्य सत्कार कम्पनी हो। कम्पनीले पाँच अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ।
दुई दशक लामो व्यावसायिक अनुभव रहेका अध्यक्ष शाहिल अग्रवालको होटलमा ९० प्रतिशत लगानी छ। ग्रुपले सिमेन्ट र डन्डी उद्योगमा आक्रामक लगानी गरिरहेको छ। यस्तै बैंक तथा बिमा, जलविद्युत, व्यापार र घरजग्गालगायत अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छ।