म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योति माविको भवन निर्माणका लागि विकास बेल्जियमले करिब १ करोड रुपैयाँ सहयोग गरेको छ ।
विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे कक्षा कोठा भवन बनाउन लागिएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले विद्यालयको भवन बनाउन गाउँपालिकालाई ९७ लाख ३६ हजार रुपैयाँ उपलब्ध गराएको जानकारी दिए ।
२ करोड १३ लाख ९५ हजार ७ सय ६२ रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित १ करोड ६० लाख ७२ हजार ९ सय ७२ रुपैयाँमा त्रिशक्ति कन्ट्रक्सन इन्जिनियरिङले ठेक्का लिएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाले बताए।
२०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुई तले भवनको कूल खर्च हुने रकमको ७५ प्रतिशत विकास बेल्जियम र २५ प्रतिशत गाउँपालिकाले ब्यहोर्ने सम्झौता भएको थियो । संस्थाले ब्यहोर्नेमध्येको खर्च गाउँपालिकालाई उपलब्ध गराएको बरुवालले बताए ।
उनका अनुसार ढलान सकिएको भवनको प्लास्टर, रङरोगन, विद्युत्, फर्निचरका काम बाँकी छन् । ६० प्रतिशत निर्माण सकिएको उनले बताउनुभयो । प्रअ रघुनाथ आचार्यका अनुसार कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २७० विद्यार्थी छन् । विसं २००४ मा स्थापना भएको विद्याज्योति धौलागिरि क्षेत्रकै पुरानो विद्यालय मानिन्छ ।
विकास बेल्जियमले यसअघि धौलागिरि गाउँपालिकाका–७ मा ताकम माविको भवन र बेनीको कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो । तीन चरणमा ८६ लाख ९ हजार २ सय ५२ रुपैयाँको लागतमा १ हजार ९ सय ५२ मिटर पक्की पदमार्ग निर्माण हो ।
ठाडो भिरको उकालोमा सिँढी र रेलिङसहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारीबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ । रासस