काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ७ महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।
सात महिनामा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रूपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख रूपैयाँ बराबरको सामान निर्यात भएको थियो ।
चालू आवको सात महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । सात महिनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रूपैयाँभन्दा बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रूपैयाँ बढीको आयात भएको थियो ।
निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । सोही अबधिमा रु एघार खर्ब बढीको आयात हुँदा ३८ दशमलव ४५ प्रतिशतले व्यापार घाटा बढेको छ ।
चालू आवको सात महिनामा नेपालको १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रूपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रूपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस्तैगरी चालू आवको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६।४३ प्रतिशतले बढेको छ । यस अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रूपैयाँ बराबरको पुगेको विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा ८ खर्ब ७३ अर्ब ५६ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
सोही अवधिमा नेपालमा १ सय ४५ देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रूपैयाँ बढीको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । ७ महिनामा नेपालले भारतबाट ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख रूपैयाँ बढीको आयात भएको छ भने १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ ।
नेपालको भारतसँग मात्रै ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख रूपैयाँ बढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट सात महिनामा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख रूपैयाँ बराबरको आयात भएको छ भने ४८ करोड ७९ लाख १५ हजार रूपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख रूपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।