काठमाडौं । अमेरिकी डलर पुनः बलियो भएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले १ डलरबराबर १२१.३५ रुपैयाँ बिक्रीदर तोकेको छ । बिहीबार केन्द्रीय बैंकले १ डलर बराबर ११९.६० पैसा बिक्रीदर तोकेको थियो ।
बिहीबारको तुलनामा डलरसँग नेपाली मुद्रा १.७५ रुपैयाँले कमजोर भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपालमा परेको हो ।
डलर मजबुत हुनाको कारण अहिले नदेखिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल बताउँछन् ।भारतीय रिजर्भ बैंक (आरबीआई) का अनुसार भारु कमजोर भई १ डलर बराबर ७५ रुपैयाँमाथि पुगेको छ ।
भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएकाले भारु बलियो भए नेपाली रुपैयाँ मजबुत र कमजोर भए अवमूल्यन हुने गरेको छ । डलर महँगिंदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ ।
डलरमा पठाउने रेमिट्यान्स बढी हुनेछ । यस्तै निर्यात व्यापारमा फाइदा हुन्छ । डलरमा निर्यात हुने भएकाले व्यवसायीलाई फाइदा हुनेछ । डलर मजबुत भएपछि महंगी बढ्नेछ ।
आयात गरिने वस्तु महँगो हुने भएकाले बजार भाउ बढ्न सक्छ । पेट्रोलियम पदार्थको भाउ पनि बढाउने छ । यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा वृद्धि हुने छ ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । डलर महंगो भएपछि नेपालले तिर्नुपर्ने दायित्व बढी हुनेछ । यसैगरी विदेशी कम्पनीहरूले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश विदेशमा लैजानेलाई फाइदा हुनेछ ।