काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नलिए देशको अर्थतन्त्र टाट पल्टिने बताएका छन् । रकमको हिसावले नलिदा फरक नपर्ने भए पनि त्यसको अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश जाने उनले जानकारी गराएका हुन् ।
विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंक जस्ता संस्थाले सहयोग गर्ने हुँदा वैदेशिक मुद्राको सञ्चितीमा समस्या नहुने तर अन्तर्राष्ट्रियस्तरमा जाने सन्देशले समग्र रेमिट्यान्समै असर गर्ने उनले बताएका छन् । सबै भन्दा बढी रेमिट्यान्स कतार, मेलेसिया, युएई, अमेरिकाजस्ता देशबाट आउने हुँदा एमसीसी नलिँदा १५ देशबाट आउने रेमिट्यान्समा असर गर्ने र नेपालको अर्थतन्त्र झन् गम्भिरतातर्फ उन्मुख हुने पाण्डेको भनाइ छ ।
अर्थविद् प्रा.डा. विश्वम्बर प्याकुर्यालले अर्धवार्षिक समीक्षमा बजेटको आकार घटाउँदा देशको अर्थतन्त्र संकुचनतर्फ गएको बताएका छन् । कोरोनाका कारण मुद्रास्फीतिदर बढ्दै गएको र भारतमा गरिएको अध्ययनले ३ महिना अझ मुल्यवृद्धि हुने देखिएको हुँदा नेपालमा महंगी दोहोरो अंकमा पुग्ने बताएका छन् ।
सन् २०२६ सम्म नेपाल अतिकम विकशित मुलुकबाट विकासशील र सन् २०३० सम्म मध्यम आय भएको मुलुमा स्तरोन्नोति हुँदा तिव्र आर्थिक विकास आवश्यक रहेको पुर्वअर्थमन्त्री डा. रामशरण महतको भनाइ छ । सहश्राब्दी विकास लक्ष्य (मिलिनियम डेभलपमेन्ट गोल) सफलतासाथ पुरा गरेको र दीगो विकासका लक्ष्य पनि प्राप्ति हुने उनले बताएका छन् ।
आर्थिक वृद्धि गर्न रोजगानी बढाउनु पर्ने र त्यसको लागि स्वदेशी तथा विदेशी लगानी आवश्य छ । पुँजीगततर्फ बजेट कम विनियोजित हुने गरेको, भएको बजेट पनि कम खर्च हुने र खर्चको पनि सदुपयोग हुन नसक्दा रोजगारी सिर्जना हुन नसकेको डा. महतको भनाइ छ ।
१३ प्रतिशत हिस्सा भएका बस्तुको आयातमा कडाई गर्दा समग्र आयात २२ प्रतिशत घटेको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागमा प्रमुख प्रा.डा शिवराज अधिकारीले प्रस्तुत गरेको कार्यक्रमा नेपालको अर्थतन्त्र गहिरो समस्या तर्फ उन्मुख भएको उल्लेख गरिएको छ । सरकारी निकायबीच समन्वय, बुझाइ र नीतिगत तारतम्यता मिलेको छैन, नीति कमजोर हुँदा लबिङ बलियो हुँदै गएको छ, नीतिहरू अनुसन्धानमा आधारित हुन सकेका छैनन्, विद्यमान अध्ययन अनुसन्धान अपुग छन्’ उनले भने ।
अर्थतन्त्रको विकासमा विभिन्न समस्या देखिएको भन्दै बहस गर्नुपर्ने उपयुक्त समय भएको विभागका रेक्टर प्रा.डा. शिवराज भुसालको भनाइ छ । विश्वविद्यालयमा यस्ता विषयमा छलफल नहुँदा हरेका क्षेत्रमा समस्या देखिएको भुसालले बताए ।
रहेक क्षेत्रमा नीतिगत सुधार गर्न बहस अवश्यक भएको उनको तर्क छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले शुक्रबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रमा नयाँ चुनौतिहरू र समाधानको उपाय खोजी विषयक अन्तरक्रियामा बोल्दै अर्थविद्हरूले अर्थतन्त्रका सूचकहरुले आफ्नो व्यहारमा परिवर्तन गरेको बताएका छन् ।
नेपाली अर्थतन्त्रमा निम्तिदै गरेको चुनौतिको विषयमा बहस सुरु गरेको छ । पछिल्लो ४ दशकमा नेपालको अर्थतन्त्र औषत ४ प्रतिशतले विस्तार भएको तर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ठूलो योगदान गर्ने कृषि र उद्योगजस्ता क्षेत्रको योगदान घट्दो क्रममा रहेको उल्लेख गरेको छ ।
त्यस्तै सेवा क्षेत्रको विस्तार भए पनि अपेक्षित रोजगारी सिर्जना हुन नसकेको उल्लेख गरिएको छ ।