खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ ।
संघीय सरकारले दिने मासिक तलबमा नगरपालिकाको तर्फबाट ७ हजार रुपैयाँ थपेर आगामी चैत १ गतेबाट उपलब्ध गराउने गरी वृद्धि गरेको हो ।
सरकारले चालू आर्थिक वर्षको कार्यक्रममा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयअनुसार नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए ।
११ वडा रहेको नगरपालिकामा ८९ सामुदायिक विद्यालय सञ्चालित छन् । साे विद्यालयमा ५४ बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, ८९ कार्यालय सहयोगी र १२ कर्मचारी कार्यरत रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिए ।
सरकारले बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीलाई मासिक ८ हजार तथा कर्मचारीलाई १३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । साे तलबमा नगरपालिकाको तर्फबाट तीनवटै तहका कर्मचारीलाई मासिक ७ हजार रुपैयाँ थप गरेर उपलब्ध गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
सरकारले तोके अनुसारको तलब वृद्धि गर्ने निर्णय गरेकोमा नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघ हलेसी तुवाचुङ नगरपालिका कार्यसमितिले नगरपालिकालाई धन्यवाद दिएका छन् । उक्त दुई संगठनले यसअघि उनीहरूको तलब वृद्धि गर्न माग गर्दै आएको थियो ।
दश स्थानीय तह रहेको जिल्लामा ऐंसेलुखर्क, बराहपोखरी, रावाबेंसी र साकेला गाउँपालिकाले यसअघि नै तलब वृद्धि गरी सकेका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत पाँच स्थानीय तहले अहिलेसम्म सरकारले तोकेअनुसारको तलब दिएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बाँकी पाँच स्थानीय तहले स्रोत अभाव देखाउँदै तलब वृद्धि गरेका छैनन् । जिल्लास्थित शिक्षक सङ्गठनले सबै सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गर्न दबाब दिँदै आएका छन् । रासस