काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै भटमासको कच्चा पदार्थको मूल्य दिनमै १ सय डलरले बढ्न थालेको छ । व्यवसायीका अनुसार सोयाविनको मूल्य दुइ दिनमै २ सय डरलले बढेर १९५० प्रतिटन पुगेको छ । कोरोना महामारीका कारण आपूर्तिमा समस्या हुँदा पछिल्लो एक बर्ष यता नेपालमा खाने तेलको मूल्य निरन्तर बढदै गएको छ ।
गत वर्षको मंसिर अघि भटमासको तेलको कच्चा पदार्थको मूल्य प्रतिटन ८ सय देखि ९ सय डलर थियो । त्यो बेला सोयाविन तेलको मूल्य प्रतिलिटर १२० देखि १३० रुपैयाँ थियो ।
‘त्यो बेला सनफ्लावरको कच्चा पदार्थ पनि सोही मूल्यमै पाइन्थ्यो’ निम्बस होल्डिङस्का कार्यकारी निर्देशक डा. दिनेश गौतमले भने, ‘अहिले सनफ्लावरको तेलको मूल्य निर्धारण नै हुन छाडिसक्यो । भटमासको तेलको मूल्य पनि ३१० रुपैयाँ प्रतिलिटर पुग्नेवाला छ ।’
त्यसपछि कोरोनका कारण कच्चा पदार्थको आपूर्तिमा समस्या भएको र उत्पादन समेत घट्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेपछि उद्योगीले तेलको मूल्य वृद्धि गरेर २४० देखि २५० रुपैयाँ सम्म पुर्याएका थिए । नेपालमा उत्पादन हुने तेलको ९० प्रतिशत कच्चा पदार्थ विदेशबाटै आयात हुने गरेको छ ।
जसमा सनफ्लावर रुस र युक्रेनबाट आयात हुन्छ भने सोयाविन बंगलादेश, ब्राजिल, अमेरिका, इजिप्ट, पोर्चुगल, अर्जेन्टिना, युक्रेनलगायतबाट आयात हुन्छ ।
चालु आर्थिक बर्षको सात महिनामा मात्रै करिब ४२ अर्ब ५२ करोडको ४० लाख भन्दा बढीको कच्चा सोयाविन आयात भएको छ । जसमा युक्रेनबाट ७९ करोड ४७ लाखको कच्चा सोयाविन आयात भएको छ । त्यस्तै अर्जेन्टिनाबाट सबै भन्दा बढी २७ अर्बको सायोविन आयात भएको छ । विभिन्न देशबाट ४२ अर्ब ५२ करोडको कच्चा पदार्थ आयात हुँदा १५ अर्ब ६३ करोड भन्दा बढीको सोयाविन तेल निर्यात भएको छ ।
त्यस्तै चालु आर्थिक बर्षमा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएकोमा ९ अर्ब ५१ करोड बराबरको कच्चा पदार्थ युक्रेन बाट मात्रै यात भएको छ ।
रुसबाट २ अर्ब ५८ करोडको आयात कच्चा पदार्थ आयात भएको छ । ९० प्रतिशत कच्चा पदार्थ आयात हुने युक्रेनमा रुसले आक्रमण गरेपछि कच्चा पदार्थको आयात ठप्प भएको उद्योगीहरुले बताएका छन् । रुस र युक्रेनबीच तनाव बढदै गएपछि रुस र बेलारुसले डेथ–सि गत डिसेम्बरमा सैन्य अभ्यास गरे देखि नै युक्रेनबाट कुनै पनि वस्तु आयात गर्न नसकेको उद्योगी अमित मोरले बताए ।
रुस–युक्रेन तनाव सुरु भएसँगै कच्चा पदार्थको मूल्य बढदो क्रममा थियो । गत बुधबार रुसले युक्रेनमा आक्रमण गरेपछि सनफ्लावर तेलको कच्चा पदार्थको आयात ठप्प भएको छ ।
एक बर्ष अघिसम्म १२० रुपैयाँमा विक्रिवितरण भइरहेको सोयाविन तेलको मूल्य अहिले बजामा २५० पर्ने गरेको छ । कच्चा पदार्थको मूल्य बढेर उद्योगीको लागतनै ३१० पुगेपछि बजार मूल्य अझ आकाशिने देखिन्छ ।