काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर अँधो गतिमा छ । खासगरी, बैंकले सेयर लगानीकर्तालाई कर्जा नदिएको तथा भएको कर्जा पनि तिर्न ताकेता गर्दा त्यसको प्रत्यक्ष असर आइतबारको सेयर बजार प्रभावित बनेको छ । यद्यपि, आइतबार सूचक ३.६६ अंकले मात्रै घटेको छ ।
आइतबार घटेको न्यून बिन्दूबाट माथि बजार उठेकाले सोमबार बजार बढ्न सक्ने देखिन्छ । तर, अहिले कुनै पनि अवस्था सेयर बजारमैत्री नभएकाले तत्कालै बजारमाथि जाने सम्भावना भने न्यून छ ।
बैंकले सेयर लगानीकर्तालाई नयाँ ऋण दिन रोक्नुका साथै दिएको कर्जा पनि छिटोभन्दा छिटो तिर्न भनेपछि उनीहरु झन् दबाबमा परेका छन् । त्यसको असर पनि बजार परेको हुन सक्छ ।
आइतबार सूचक २५४३.३९ विन्दुमा अडिएको छ । तर, कारोबार २ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । वित्तीय प्रणालीमा तरलता संकुचन र ब्याजदर वृद्धिले बजारलाई अप्ठेरोमा पारेको अनुमान गरिएको छ ।
अहिले लगानीकर्ताले धैर्यता गुमाएर सस्तोमा सेयर बेचे भोलि बढ्यो भने क्षति हुन सक्छ । किनभने बजार सधैंभरि घट्दैन । एउटा चरणबाट बजार बढ्न थाल्छ । त्यही भएर सेयर बेच्न विवेकपूर्ण हुनु जरुरी देखिन्छ । घटेका बेला लगानीकर्ताहरु थप आत्तिएर बिक्री गर्ने भएकाले पनि सूचक थप दबाबमा परेको हो ।
बजार निरन्तर घटेपछि सुधारका लागि सरकार पनि तात्तिएको छ । बुधबार मात्रै अर्थमन्त्रीसहितका सरोकारवाला निकायहरुले सेयर बजार सुधारका लागि लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, त्यसले आइतबारको बजारमा कुनै सकारात्मक संकेत गरेन ।
अर्थमन्त्रीले पुँजी बजारका सबै औजारहरु क्रमशः विकास गर्दै जाने बताएका थिए । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा अझै थुप्रै नयाँ काम गर्न बाँकी रहेको बताए पनि लगानीकर्ताले उनको कुरा पत्याउन सकेका छैनन् ।
२५०० मा झरे २२०० को बाटोमा नेप्से; तरलता, ब्याजदर र महँगी मुख्य कारण