काठमाडौं। आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा न्यूजिल्याण्डले टस जितेर पहिला बलिङ रोजेको छ। भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भर्खरै भएको टसमा न्यूजिल्याण्डका कप्तान मिचेल स्यान्टनरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। यससँगै भारतले पहिला ब्याटिङ गर्नेछ।
भारतको टोलीको कप्तानी सूर्यकुमार यादवले सम्हाल्ने छन् भने विकेटकिपरको जिम्मेवारी सञ्जु सैमसनले लिएका छन्। भारतको प्लेइङ–११ मा अभिषेक शर्मा, सञ्जु सैमसन, इशान किशन, सूर्यकुमार यादव, तिलक बर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, अर्शदीप सिंह, वरुण चक्रवर्ती र जसप्रित बुमराह रहेका छन्।
न्यूजिल्याण्ड टोलीको विकेटकिपर टिम सेइफर्ट रहेका छन्। न्यूजिल्याण्डको प्लेइङ–११ मा फिन एलेन, टिम सेइफर्ट, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, ड्यारिल मिचेल, मिचेल स्यान्टनर, जेम्स निशाम, म्याट हेनरी, लोकी फग्र्युसन र जेकब डफी रहेका छन्।
दुवै टोली बलियो भएकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। भारतले सेमिफाइनलमा दुई पटकको विश्वकप विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो भने यता न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो।