काठमाडौंको महाराजगञ्जमा रहेको सेल्सबेरी कम्प्लेक्स-सहरलाई माथिबाट नियाल्न सकिने हाइराइज भवनको १४औं तलामा एउटा यस्तो टेक प्लेटफर्म सञ्चालनमा छ, जसको सोच, प्रभाव र पहुँच भने विश्वव्यापी छ। यहीँबाट सञ्चालन हुँदै आएको छ, भील। नेपाली युवा दिलीप ढकालले कल्पना गरेको, सिलीकन भ्यालीमा जन्मिएको र विश्वभरका कन्टेन्ट क्रियटर र ब्रान्डलाई एउटै डिजिटल छानामुनि जोड्ने प्लेटफर्म ।
भौतिक उचाइ मात्र होइन, भीलले आज ग्लोबल क्रियटर इकोनोमीमा लिँदै गरेको उचाइ पनि उल्लेखनीय छ। विश्वप्रसिद्ध ब्रान्ड र लाखौं कन्टेन्ट क्रियटरबीचको दूरी घटाउँदै, विज्ञापन र डिजिटल मार्केटिङको नयाँ युगलाई प्रतिनिधित्व गर्ने प्लेटफर्मका रूपमा भील स्थापित हुँदै गएको छ। यसको केन्द्रमा छन्, दृष्टि, प्रविधि र नेपालीपनको संयोजन बोकेका दिलीप ढकाल।
काठमाडौं-सिलिकन भ्यालीदेखि काठमाडौंसम्मको यात्रा
सिलिकन भ्यालीमा वालमार्ट, गुगल एआई भेन्चर र एप्पलजस्ता विश्वविख्यात आईटी कम्पनीमा नेतृत्वदायी भूमिकामा काम गरिसकेपछि पनि ढकालको सपना त्यत्तिमै सीमित रहेन। करिब एक दशक अमेरिका बसेर टेक्नोलोजी र इनोभेसनको अग्रपंक्तिमा काम गरेका उनले एउटा यस्तो प्लेटफर्मको कल्पना गरे, जसले विश्वभरका ब्रान्ड र कन्टेन्ट क्रियटरलाई एउटै प्रणालीमा जोडोस्। यही सोचबाट जन्मियो-भील।
ढकाल अहिले भीलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्। उनका अनुसार आजको विश्वव्यापी विज्ञापन बजारमा कन्टेन्ट क्रियटरको प्रभाव तीव्र रुपमा बढिरहेको छ, तर ब्रान्ड र क्रियटरबीचको सहकार्य अझै पनि झन्झटिलो, असंरचित र असमान अवसरले भरिएको छ। यही चुनौतीलाई टेक्नोलोजीमार्फत समाधान गर्ने उद्देश्यले भीलको अवधारणा अघि बढ्यो।

सन् २०१३ मा सिलिकन भ्यालीका मल्टिपल स्टार्टअपमा काम गर्ने अवसर पाएपछि उनको करिअरले नयाँ मोड लियो।
काठमाडौंको पेप्सीकोलामा जन्मिएका ढकाल विद्यालय जीवनदेखि नै सफ्टवेयर डेभलपमेन्टप्रति गहिरो रुचि राख्थे। त्रिभुवन विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गर्दै गर्दा नै उनले अमेरिका र क्यानडाका विभिन्न कम्पनीसँग फ्रिल्यान्सरका रूपमा काम गर्न थाले ।
सन् २०१३ मा सिलिकन भ्यालीका मल्टिपल स्टार्टअपमा काम गर्ने अवसर पाएपछि उनको करिअरले नयाँ मोड लियो। २०१५ मा वालमार्टमा निर्देशक तहको लिडरसिप रोल, २०१९ मा गुगल एआई भेन्चरमा हेड अफ इन्जिनियरिङ र त्यसपछि एप्पलमा २०२२-२०२४ सम्म वालेट प्रोजेक्टको नेतृत्व-यी सबै अनुभवले ढकाललाई एउटा स्पष्ट आत्मविश्वास दियो, अब आफ्नै टेक कम्पनी निर्माण गर्ने।
दुईवटा स्टार्टअप कम्पनीबाट बाहिरिएपछि अब आफ्नै आईटी कम्पनी सञ्चालन गर्नुपर्छ भन्ने सोच उनमा पलायो। दुईवटै टेक कम्पनीमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकाले उनलाई आफ्नै कम्पनी लिड गर्न सक्छु भन्ने दृढता जागिसकेको थियो।
अन्तर्राष्ट्रिय कम्पनीमा आफ्नो प्रभुत्व जमाइसके पनि मूल पहिचान नेपालसँगै जोडिएको थियो। ‘म नेपालमै जन्मिएको हुँ र त्यसैले कसरी आफ्नो देशलाई केही फिर्ता दिन सकिन्छ भन्ने भावनाले सधैं मन छोइरहन्थ्यो’, सीईओ ढकालले भने, ‘मेरो मुख्य विशेषज्ञता टेक्नोलोजीमै भएकाले योगदान पनि यही क्षेत्रमा हुनुपर्छ भन्ने स्पष्ट थियो। कम्तीमा काठमाडौंमै टेक सेक्टरमा केही सय रोजगारी सिर्जना गर्ने उद्देश्य मेरो पहिलो र मुख्य प्रेरणा बन्यो।’
तर, सुरुआती चरणमा प्रस्ट प्रोडक्ट आइडिया भने थिएन। यही क्रममा उनले एप्पलमा काम गरिरहँदा भिजन-प्रो जस्तो स्पेसियल कम्प्युटरिङ डिभाइसमा संलग्न भए। त्यसमा काम गर्दै जाँदा र त्यसलाई प्रयोग गरेर परीक्षण गर्दा एउटा स्पष्ट ट्रेन्ड देखे-भिडियो इन्डस्ट्री तीव्र गतिमा परिवर्तन भइरहेको थियो र कन्टेन्ट क्रियटरको संख्या तथा प्रभाव दुवै बढ्दै गइरहेका थिए।
‘गहिरिएर हेर्दा अहिले क्रियटर इकोनोमी विश्वव्यापी रूपमा करिब ३८० बिलियन डलरको उद्योग भइसकेको छ,’ उनले भने, ‘तर यति ठूलो बजार हुँदाहुँदै पनि यसमा सक्रिय कन्टेन्ट क्रियटरमध्ये केवल २.५ देखि ४ प्रतिशतले मात्र प्रभावकारी रूपमा मनिटाइज गर्न सकेका छन। बाँकी ठूलो हिस्सा अझै पनि अवसर हुँदाहुँदै आम्दानीको स्पष्ट संरचनाबिना संघर्ष गरिरहेको अवस्था छ।’

मार्केटमा अवसर र उपलब्ध टुल्सबीच ठूलो अन्तर रहेको महसुस उनले सुरुमै गरेका थिए।
यही ग्यापले आफूलाई सोच्न बाध्य बनाएको उनी सुनाउँछन्। ‘यदि टेक्नोलोजीमार्फत क्रियटर र ब्रान्डबीचको दूरी घटाउन सकियो भने, क्रियटरले सजिलै मनिटाइज गर्न सक्ने र ब्रान्डले पनि सही क्रियटर छान्न सक्ने प्लेटफर्म बनाउन सकिन्छ,’ उनले भने, ‘यही सोचबाट हाम्रो प्लेटफर्मको अवधारणा जन्मिएको हो, जसले ग्लोबल क्रियटर इकोनोमीको समस्यालाई समाधान गर्दै नेपालबाटै विश्वस्तरीय टेक प्रोडक्ट निर्माण गर्ने लक्ष्य लिएको छ।’
मार्केटमा अवसर र उपलब्ध टुल्सबीच ठूलो अन्तर रहेको महसुस उनले सुरुमै गरेका थिए। ढकालको बुझाइमा सोसल मिडिया कम्पनीले डिजिटल मार्केटिङलाई आक्रामक रूपमा प्रमोट गरिरहेका छन्, तर वास्तविकता के भने सोसल मिडिया कम्पनी आफैं डिजिटल मार्केटिङ कम्पनी होइनन्।
‘उनीहरूको मुख्य विशेषज्ञता सोसल प्लेटफर्म निर्माण र युजर बेस बढाउनमा केन्द्रित छ। मार्केटिङ रणनीति, कन्टेन्ट इफेक्टिभनेस वा ब्रान्ड-लेड ग्रोथमा होइन। उनीहरूसँग ठूलो युजर बेस भएकाले त्यसलाई क्यापिटलाइज गर्न खोजिएको हो। तर, डिजिटल मार्केटिङ आफैंमा छुट्टै विशेषज्ञता हो,’ उनले भने।
यही कारणले सोसल मिडिया र डिजिटल मार्केटिङबीच एउटा ठूलो ग्याप देखिन्छ। ‘मेरो प्रारम्भिक विश्लेषणअनुसार यो ग्यापको मार्केट अपर्चुनिटी(अवसर) करिब ३८० बिलियन डलर बराबरको छ,’ सीईओ ढकालले भने, ‘सोसल मिडिया प्लेटफर्म र वास्तविक डिजिटल मार्केटिङ आवश्यकताबीचको यही अन्तरलाई अवसरको रूपमा हेर्ने सोचबाट मेरो पहिलो आइडिया जन्मिएको हो। यही बीचको स्पेस किन एक्सप्लोर नगर्ने भन्ने प्रश्नले मलाई भिडियो इन्डस्ट्रीतर्फ गहिरो रिसर्च गर्न प्रेरित ग¥यो।’
भिडियो इन्डस्ट्रीमा इनोभेसन गर्नु सजिलो छैन र यदि यसलाई सिलिकन भ्याली-लेभलसम्म पुर्याउने हो भने सफ्टवेयर क्वालिटी पनि त्यही स्तरको हुनुपर्छ भन्नेमा उनी स्पष्ट थिए। त्यसैले १०-१५ जनाको इन्जिनियरिङ टिम बनाएर सबैलाई स्क्र्याचबाट ट्रेनिङ दिइएको थियो। धेरैजसो फ्रेस ग्राजुयटलाई टिममा ल्याइयो, किनकि उनीहरूलाई नयाँ सोच र प्रविधि सिकाउन तुलनात्मक रूपमा सजिलो भएको उनले बताए।

‘म आफैं सुरुदेखि आजसम्म टिमसँग प्रत्यक्ष रूपमा काम गरिरहेको छु-प्रोडक्ट, टेक्नोलोजी र स्ट्राटेजी तीनै तहमा,’ ढकालले भने, ‘यसरी टिम विस्तार हुँदै गयो-२०-२५ जनाबाट ४०-५० र अहिले हामी करिब १०० जना हाराहारी पुगेका छौँ। अहिलेको ग्रोथ र मोमेन्टम हेर्दा आगामी वर्षसम्म कम्तीमा पनि टिमको साइज डबल भएर २०० जना आसपास पुग्ने अपेक्षा गरिएको छ।’ यो यात्रा केवल एउटा कम्पनी बनाउने मात्र होइन, सोसल मिडिया र डिजिटल मार्केटिङबीचको ग्यापलाई टेक्नोलोजीमार्फत भरिने दीर्घकालीन प्रयास हो।
नेपाली भएकै नाताले सिलिकन भ्यालीमा जन्मिएको भीललाई काठमाडौंमा ल्याएको उनले स-गौरव सुनाए। ‘कानुनी रूपमा नेपालको नागरिकता त्यागे पनि मेरो मन-मुटुमा नेपाल नै छ,’ सीईओ ढकालले भने, ‘नेपाल मेरो मूल देश हो र यहाँ व्यवसाय सञ्चालन गर्नुमा व्यक्तिगत अनुभव र नेटवर्कको फाइदा हुन्छ।’
‘नेपालभन्दा सस्तो श्रमिक पाउन अन्य देश जस्तै बंगलादेश, फिलिपिन्स वा युरोपमा पनि सम्भव छ, तर मेरो उद्देश्य केवल कस्ट सेभिङ होइन,’ सीईओ ढकालले भने, ‘नेपालमा रोजगारी सिर्जना गर्नु भनेको अलिकति भावनात्मक सन्तुष्टि पनि दिन्छ र देशमा टेक्नोलोजीको फोकस एवं अनुभव दिन सकिन्छ।’
कम्पनी सञ्चालन गर्दा यहाँको जनशक्तिलाई इन्टरनेसनल स्ट्यान्डर्डमा पे गरिरहेको उनले बताए। ‘हाम्रो उद्देश्य केवल सस्ता श्रमिक प्रयोग गर्नु होइन, तर दक्ष टिम तयार गर्नु हो। क्रियटरको अनुभव सहज बनाउन हामीले आवश्यक सबै टुल्स उपलब्ध गराएका छौं,’ उनले भने, ‘उदाहरणका रूपमा, भिडियो एडिटिङका लागि प्रायः क्रियटरले क्यापकटजस्ता प्लेटफर्म प्रयोग गर्छन्, तर हामीले त्यसलाई फ्री उपलब्ध गराएका छौं।’ उनीहरूलाई ढकालको प्लेटफर्ममा मनिटाइजेसन ट्रयाक गर्न, ट्याक्स डकुमेन्टेसन हेर्न र सोसल मिडियामा कन्टेन्ट डिस्ट्रिब्युट गर्न सक्ने सुविधा पनि छ। नेपालमा कम्पनी सञ्चालन गर्नुको उद्देश्य केवल व्यवसाय मात्र होइन, टेक्नोलोजी, क्रियटर सपोर्ट र देशमा योगदान पनि हो।
के हो भील, किन ‘भील’?
परिवर्तित विश्व विज्ञापन बजारमा ब्रान्ड अब परम्परागत विज्ञापनमा मात्र निर्भर रहन सक्ने अवस्थामा छैनन् युट्युब, फेसबुक, इन्स्टाग्राम रिल्स र टिकटकजस्ता प्लेटफर्ममा कन्टेन्टमार्फत प्रचार प्रभावकारी बनेको छ। तर, चुनौती त्यहीँ छ-सही, विश्वसनीय र उपयुक्त कन्टेन्ट क्रियटर कसरी भेट्ने?
जहाँ विश्वका प्रतिष्ठित ब्रान्डदेखि विश्वभरका कन्टेन क्रियटरको समेत जमघट हुने थलो बनोस्।
भील यही समस्याको उत्तर हो। यो प्लेटफर्मले ब्रान्ड र कन्टेन्ट क्रियटरलाई एउटै डिजिटल इकोसिस्टममा ल्याउँछ, जहाँ सहकार्य, कानुनी प्रक्रिया, कन्टेन्ट फम्र्याट, पब्लिसिङ टाइमलाइन, भुक्तानी र स्टोरेज सबै कुरा एउटै प्रणालीभित्र व्यवस्थापन हुन्छ।
जहाँ विश्वका प्रतिष्ठित ब्रान्डदेखि विश्वभरका कन्टेन क्रियटरको समेत जमघट हुने थलो बनोस्। जसको कारणले ब्रान्डलाई कन्टेन क्रिएटर खोजीरहनु पर्ने बाध्यता हट्ने र कन्टेन क्रियटरलाई ब्रान्डसँगको अनेकौं झन्झटलाई एकद्वार प्रणालीबाटै समाधान गर्न मद्दत पुगोस्। यही सोचका साथ उनले सन् २०२२ मा भिल नामक कम्पनी सञ्चालनमा ल्याए। सुरुमा अमेरिकालाई मात्र लक्षित गरी सञ्चालनमा आएको भिल अहिले विश्वव्यापी भइसकेको छ। भीलमा दुईवटा मुख्य प्लेटफर्म छन्-एक व्यवसायका लागि र अर्काे कन्टेन्ट क्रियटरका निम्ति।

व्यवसाय पक्षका लागि वेब-बेस एप्लिकेसन उपलब्ध छ, जहाँ ब्रान्डले अकाउन्ट खोलेर सब्सक्रिप्सन प्लान रोज्छन्। मासिक शुल्क तिरेर उनीहरूले क्रियटर खोज्न, क्याम्पेन डिजाइन गर्न, कन्टेन्ट ट्रयाक गर्न र डिजिटल मार्केटिङ रणनीति सुदृढ बनाउन सक्छन्।
यसका साथै प्रो-क्रियटरका लागि भिडियो स्टोरेज सुविधा पनि थपिएको छ। प्रो प्लानमा रहेका क्रियटरले भीलको प्लेटफर्ममै आफ्ना भिडियो सुरक्षित रूपमा स्टोर गर्न सक्नेछन्, जसका लागि उनीहरूलाई २०० गिगाबाइटसम्मको भिडियो स्टोरेज क्षमता उपलब्ध गराइने छ। यो सुविधा फ्री प्लानमा सीमित वा उपलब्ध नहुन सक्छ।
उदाहरणका लागि, कुनै ब्रान्डले एउटा कन्टेन्ट क्रिएटरलाई १०० डलर बराबरको भिडियो बनाइदिन अनुरोध गरे त्यसबाट भिलले ७.५ प्रतिशत सेवा शुल्क लिन्छ। यही शुल्क नै फ्री प्लानमा प्लेटफर्म सञ्चालनको आधार हो, त्यसैले फ्री क्रियटरले अलग्गै पैसा तिर्नुपर्ने अवस्था हुँदैन।
तर, यदि क्रियटर प्रो क्रियटर प्लानमा छन् भने सेवाशुल्क उल्लेखनीय रूपमा घट्छ। प्रो क्रियटरबाट केवल २.५ प्रतिशत मात्र सेवाशुल्क लिइने गरेको छ। यसले विशेषगरी ठूला र प्रोफेसनल क्रियटरलाई प्रत्यक्ष फाइदा पुग्छ, जसले प्रतिभिडियो न्यूनतम १०० डलरदेखि लिएर १० हजार वा १२ हजार डलरसम्म चार्ज गर्ने गरेका छन्।
‘हामीसँग अहिले मिलियन फलोअर्स भएका मेगा क्रियटरदेखि लिएर बलियो अडियन्स भएका माइक्रो क्रियटरसम्म आबद्ध छन्’, सीईओ ढकालले भने, ‘यदि कुनै क्रियटरले १० हजार डलरको कन्टेन्ट डिल गर्छ भने फ्री प्लानमा ७.५ प्रतिशत सेवाशुल्क तिर्नु धेरै ठूलो रकम हुन जान्छ। तर, प्रो क्रियटर प्लान लिएपछि यही शुल्क घटेर २.५ प्रतिशतमा सीमित हुन्छ, जसले उनीहरूलाई दीर्घकालीन रूपमा स्पष्ट आर्थिक फाइदा दिन्छ।’
यस हिसाबले प्रो क्रियटर प्लान क्रियटरका लागि खर्च होइन, बरु बचतको माध्यम बन्छ। उता प्लेटफर्मका लागि भने यो सब्स्क्रिप्सनबाट प्रत्येक महिना निश्चित रेकर्डिङ रेभिन्यू आउँछ। ‘यही मासिक २५ डलर शुल्क भीलको प्लेटफर्मको निरन्तर विकास, सर्भर खर्च, भिडियो स्टोरेज, सिस्टम मेन्टेनेन्स र अपरेसनल लागत व्यवस्थापनका लागि प्रयोग गर्छौं’, ढकालले भने।
यसमा कन्टेन्ट क्रियसन मात्र होइन, भिडियो एडिटिङको सुविधा पनि समावेश गरिएको छ।
अहिले भीलसँग ३०० भन्दा बढी व्यवसाय आबद्ध छन्, जसमा अमेरिका, क्यानडा, युरोप, भारतलगायतका कम्पनी छन्। कन्टेन्ट क्रियटरतर्फ २ लाख ५० हजारभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् भने समग्र डाटाबेस ३ लाख ५० हजारभन्दा बढी क्रियटरको छ। तीमध्ये करिब ९५ प्रतिशत अमेरिका र क्यानाडाका क्रियटर हुन्।
कन्टेन्ट क्रियटरका लागि मोबाइल एप छ। यसमा कन्टेन्ट क्रियसन मात्र होइन, भिडियो एडिटिङको सुविधा पनि समावेश गरिएको छ। क्रियटरले यही एपबाट ब्रान्डसँग सहकार्य गर्न, कन्टेन्ट बनाउने, एडिट गर्ने र भुक्तानी प्राप्त गर्न सक्छन्। बैंक अकाउन्ट कनेक्ट गरेर भुक्तानी पनि भीलमार्फत सहजै लोकल करेन्सीमै ट्रान्सफर गर्न सकिन्छ।
कसरी प्रयोग गर्छन् भील?
कन्टेन्ट क्रियसनको हिसाबले उसले भिडियो बनाएर प्लेटफर्म प्रयोग गर्न सक्छ नै। तर, यो केवल भिडियो बनाउने टुलमा सीमित छैन। यो प्लेटफर्म खासगरी कम्पनी चलाइरहेका व्यक्तिलाई आफ्नो ब्रान्ड र डिजिटल प्रेजेन्स स्ट्राटेजिक रूपमा बढाउन सहयोग गर्न डिजाइन गरिएको हो।
‘सबैभन्दा पहिले कम्पनीले प्लेटफर्ममा साइनअप गर्छ। त्यसपछि हाम्रो टिमले उक्त कम्पनीको ओभरअल डिजिटल प्रेजेन्सको विश्लेषण गर्छ। विश्लेषणपछि कम्पनीलाई स्पष्ट सिफारिस दिन्छौं,’ सीईओ ढकालले आफ्नो प्रडक्ट प्रयोगारे भने, ‘तपाईंले कुन-कुन ५-६ वटा कुरा मिलाउनुपर्छ भन्नेबारे हामी देखाइदिन्छौं। यही रिकमेन्डेसन नै कम्पनीका लागि एउटा महत्वपूर्ण एसेट हुन्छ, जसले ब्रान्डको इमोसनल भ्यालु र डिजिटल स्ट्रेन्थ बढाउन सहयोग गर्छ।’
त्यसपछि दोस्रो महत्वपूर्ण पक्ष आउँछ-कुन प्रकारको एडभर्टाइजमेन्ट फम्र्याट तपाईंको कम्पनीका लागि सबैभन्दा उपयुक्त हुन्छ भन्ने। केवल आधिकारिक भिडियो पोस्ट गर्दा राम्रो हुन्छ कि त्यसलाई बुस्ट गर्नुपर्छ। ‘आधिकारिक भिडियोका कति प्रकारका कन्टेन्ट बनाउनुपर्छ वा ब्रान्डको नेचरअनुसार कुन प्रकारको भिडियोले राम्रो पर्फम गर्छ-यी सबै कुरामा हामी गाइड गर्छौं’, उनले भने।
कन्टेन क्रियटरलाई कसरी हुन्छ पेमेन्ट?
धेरै ब्रान्ड अमेरिकामा रजिस्टर भए पनि उनीहरूको प्रोडक्ट र मुख्य बजार अन्य देशमा हुन्छ। उदाहरणका लागि, धेरै कोरियन कम्पनी अमेरिकामा रजिस्टर छन् तर उनीहरूलाई कोरियन बजारका लागि कोरियन कन्टेन्ट क्रियटर नै चाहिन्छ। ती क्रियटरलाई उनीहरूको लोकल (स्थानीय) करेन्सीमै भुक्तानी गर्नुपर्ने हुन्छ। यही क्रस-बोर्डर पेमेन्टको जटिलतालाई समाधान गर्न सुरुदेखि नै ग्लोबल अप्रोच अपनाएका र अहिले एकैचोटि १२१ देशमा प्लेटफर्म उपलब्ध भइसकेको ढकाल बताउँछन्।
क्रियटरको वालेट वा एपमा अमाउन्ट सीधै लोकल करेन्सीमै रिफ्लेक्ट हुन्छ, जसले गर्दा डलर साटफेर वा बैंकिङ झन्झट हुँदैन।
पेमेन्ट मोडल सरल छ। बिजनेसले अमेरिकन डलरमा पेमेन्ट गर्छ भने कन्टेन्ट क्रियटरलाई उसले पाउने रकमको वास्तविक मूल्यांकान गरी उनीहरूको लोकल करेन्सीमा दिँदै आएको उनको भनाइ छ। कोरियन क्रियटरले कोरियन वनमा, भारतीय क्रियटरले भारुमा र अन्य देशका क्रियटरले आफ्नै लोकल करेन्सीमा पेमेन्ट पाउँछन्। क्रियटरको वालेट वा एपमा अमाउन्ट सीधै लोकल करेन्सीमै रिफ्लेक्ट हुन्छ, जसले गर्दा डलर साटफेर वा बैंकिङ झन्झट हुँदैन।
कुनै एक कम्पनीले आफ्नो उत्पादनको प्रचारका लागि को-कन्टेन क्रियटर प्रयोग गर्ने र त्यसका लागि कस्ता-कस्ता कानुनी डकुमेन्ट चाहिन्छ, भिडियो फम्र्याट कसरी क्रियट गर्ने, कुन प्लाटफर्ममा कहिले पब्लिस गर्ने अनि कुन क्रियटरलाई कति पैसा दिने र भिडियो सबै स्टोर गरेर कहाँ राख्नेलगायत सबै विषय भिलको प्लाटफर्मभित्र उपलब्ध हुन्छ।
नेपालसँगको भावनात्मक सम्बन्ध
कानुनी रूपमा नेपाली नागरिकता नरहे पनि ढकालको मन–मुटुमा नेपाल गहिरो रूपमा बसेको छ। ‘नेपालमा कम्पनी खोल्नु मेरो दायित्व र चाहना दुवै हो’, उनी भन्छन्, ‘सस्तो श्रम मात्र खोज्ने उद्देश्य होइन, बरु नेपालमै अन्तर्राष्ट्रिय स्तरको टेक टिम तयार गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य छ।’
सिलिकन भ्यालीमा सार्वजनिक भीलको मुख्य कार्यालय अहिले काठमाडौंमा सञ्चालनमा छ। ‘नेपाली भएको नाताले नेपालमा कम्पनी खोल्नु मेरो दायित्व थियो,’ सीईओ ढकालले भने, ‘यहाँको हावापानी मेरा लागि ऊर्जा हो। त्यसैले यहाँ पनि कार्यालय खोलेको हुँ।’
भीलले नेपालमै बसेर विश्वस्तरीय टेक प्रोडक्ट बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेको छ। ढकाल भन्छन्, भील केवल एउटा सामाजिक सञ्जाल वा टेक प्लेटफर्म होइन, यो क्रियटर इकोनोमीको ग्यापलाई टेक्नोलोजीमार्फत जोड्ने प्रयास हो-जहाँ ब्रान्ड, क्रियटर र प्रविधि एउटै दिशामा अघि बढ्छन्।’
सिलिकन भ्यालीमा जन्मिएर काठमाडौंमा सञ्चालन हुँदै विश्वतर्फ फैलिएको भील र त्यसका केन्द्रमा उभिएका ढकाल, नेपाली युवाको ग्लोबल सम्भावनाको सशक्त प्रतीक बनेका छन्।
डेटा प्राइभेसी प्रमुख प्राथमिकता
युरोप वा अन्तर्राष्ट्रिय बजारमा कम्पनी सञ्चालन गर्दा सबैभन्दा ठूलो र संवेदनशील विषय भनेकै डेटा प्रोटेक्सन र डेटा प्राइभेसी हो। नेपालमा यो विषय कहिलेकाहीँ सहज रूपमा बुझिए पनि, बाहिरका बजारमा यसले कम्पनीको विश्वसनीयता निर्धारण गर्छ। यदि डेटा प्राइभेसीमा पूर्ण रूपमा आत्मविश्वासी नभएको भए, ठूला अन्तर्राष्ट्रिय ब्रान्डले काम गर्ने सम्भावनै रहँदैनथ्यो। त्यसैले आफूहरूका लागि डेटा प्राइभेसी र सेक्युरिटी कुनै सहायक पक्ष होइन, यो पहिलो प्राथमिकता रहेको उनको धारणा हो।
पेमेन्ट प्रोसेसिङको सवालमा पनि सुरक्षा एवं विश्वसनीयतालाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ।
सफ्टवेयर विकास एवं सञ्चालनमा डेटा सेक्युरिटीका लागि उपलब्ध सबै अग्रणी प्रविधि र टुल्स प्रयोग गरिँदै आएको छ। ‘हाम्रो सम्पूर्ण डेटा र डेटाबेस उच्च स्तरको इन्क्रिप्सनसहित एडब्लूएसका सुरक्षित स्टोरेज प्लेटफर्ममा राखिएका छन्,’ सीईओ ढकालले भने, ‘यसले डेटा ह्याकिङ, अनधिकृत पहुँच र सम्भावित साइबर आक्रमणबाट प्रणालीलाई सुरक्षित राख्न मद्दत गर्छ। डेटा कहाँ राखिएको छ र कसरी सुरक्षित गरिएको छ भन्ने कुरामा हामीले कुनै सम्झौता गरेका छैनौं।’
पेमेन्ट प्रोसेसिङको सवालमा पनि सुरक्षा एवं विश्वसनीयतालाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ। बजारमा निःशुल्क वा कम लागतका विकल्प भए पनि पेमेन्ट डेटा र ग्राहकको संवेदनशील जानकारी सुरक्षित राख्न जानाजानी सेवाशुल्क तिरेरै सुरक्षित प्लेटफर्म प्रयोग गरिरहेको ढकालले बताए।

‘डेटा प्राइभेसी कागजमा सीमित कुरा होइन भन्ने हाम्रो बुझाइ छ। त्यसैले हाम्रो टेक्निकल टिमले प्रत्येक महिना नियमित रूपमा सेक्युरिटी टेस्टिङ, भल्नरेबिलिटी चेक र सिस्टम अडिट गर्दै आएको छ। परीक्षणका क्रममा साना–ठूला कमजोरी देखिए तिनलाई तुरुन्तै समाधान गरेर प्रणालीलाई अझ सुरक्षित बनाइन्छ। यो प्रक्रिया निरन्तर चलिरहने अभ्यास हो, एकपटक गरेर सकिने काम होइन’, ढकालले भने।
अन्ततः टेक्नोलोजी भनेको केवल प्रोडक्ट वा सफ्टवेयर मात्र होइन। यो विश्वास, लगानी र दीर्घकालीन प्रतिबद्धताको क्षेत्र हो। त्यसैले डेटा प्राइभेसी र सेक्युरिटीलाई खर्चको रूपमा होइन, दीर्घकालीन विश्वास निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण लगानीको रूपमा हेरिरहेको उनले बताए।
सगुनको नजिर दोहोरिन नदिन सचेत छौं
नेपालमा यसअघि ‘सगुन’जस्ता क्राउड फन्डिङ मोडलबाट चलेका प्लेटफर्मका कारण टेक स्टार्टअपप्रति केही नकारात्मक अनुभव बनेको सन्दर्भलाई गम्भीर रूपमा उनले अध्ययन गरेका छन्।
‘हाम्रो मोडल त्यसबाट पूर्ण रूपमा फरक छ। हामीले कुनै पनि प्रकारको क्राउड फन्डिङ गरेका छैनौं र भविष्यमा गर्ने योजना पनि छैन,’ सीईओ ढकालले भने, ‘अहिलेसम्म कम्पनीमा लगानी गरिएको सम्पूर्ण रकम फाउन्डरको बुटस्ट्रयाप र सीमित फ्रेन्ड्स-एन्ड-फ्यामिली एन्जेल इन्भेस्टमेन्टबाट आएको हो। सार्वजनिक रूपमा पैसा उठाएर कम्पनी चलाउने अनुभवसँग हाम्रो केस मेल खाँदैन। त्यसैले अघिल्ला असफल वा विवादित उदाहरणका आधारमा हामीलाई तुलना गर्नु उपयुक्त हुँदैन भन्ने स्पष्ट धारणा छ।’
करिब १०-१२ वर्ष सिलिकन भ्यालीमा बसेर ठूला टेक कम्पनी र उच्च मूल्यांकन भएका स्टार्टअपमा काम गर्ने अवसर पाएकाले पनि लगानी कसरी सुरक्षित गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञानसमेत पाएको उनी बताउँछन्।
‘प्लेटफर्मको हिसाबले हामी इन्फ्लुएन्सर र कन्टेन क्रियटर दुवैलाई समान प्राथमिकता दिन्छौं। हाम्रो मुख्य फोकस कन्टेन्टको अथेन्टिसिटी हो, पोजेटिभ वा नेगेटिभ भन्ने होइन,’ उनले भने, ‘यसका लागि हामीसँग इन-हाउस एआई-आधारित भिडियो मोडरेसन सिस्टम छ, जसले हेट स्पीच, फेक रिभ्यू, एआई-जेनेरेटेड कन्टेन्ट र अनुचित सामग्री फिल्टर गर्छ।’ यसलाई सेन्सरसिप होइन, गुणस्तर र विश्वास कायम गर्ने प्रक्रिया मानिन्छ। कन्टेन्ट क्रियटरको स्वतन्त्रता जोगाउँदै ब्रान्ड र युजर दुवैका लागि विश्वसनीय इकोसिस्टम बनाउनु नै हाम्रो दीर्घकालीन उद्देश्य हो।’