चितवन । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँपालिकमा रहेका भूमिविहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिन् ।
भरतपुर महानगरपालिकाको वडा नं. २९ मा रहेका भूमिविहीनहरूलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँपालिकाको जमिनको लालपुर्जा दिने कामलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताइन् ।
उनले आगामी आर्थिक वर्षसम्ममा सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम अगाडि बढाइएको भन्दै देशभित्र रहेका जग्गासम्बन्धी सम्पूर्ण समस्या पनि एक वर्षभित्र समाधान गरिसक्ने गरी योजना बनाएर मन्त्रालय अगाडि बढ्न लागेको बताइन् ।
राष्ट्रिय भूमि आयोगमार्फत भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री श्रेष्ठले समिति र आयोग मात्रै गठन गर्ने र काम नगर्ने प्रवृत्ति पनि अब अन्त्य गर्ने गरी काम भइरहेको पनि बताइन् ।
वास्तविक सुकुम्बासीले मात्रै जग्गा पाउन र गैरसुकुम्बासीले जग्गा नपाउन भन्नेमा सचेत बन्न जनता र जनप्रतिनिधिहरूलाई मन्त्री श्रेष्ठले आग्रहसमेत गरिन् ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवनको इच्छा कामना गाउँपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका र तनहुको बन्दीपुर गाउँपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई लालपुर्जा वितरण गरिसकेकी छन् ।