काठमाडौं। लामो समयको प्रतिक्षापछि गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले नेपालमा रहेका होटलमध्ये सबैभन्दा लक्जरी ब्राण्ड ‘द लक्जरी कलेक्सन’ ल्याउने निश्चित भएको छन्।
१२ वर्षअघिबाट काठमाडौंको केशरमहलमा निर्माण भइरहेको होटलको व्यवस्थापनमा म्यारियटअन्तर्गतको लक्जरी होटल ‘द लक्जरी कलेक्सन होटल’ ल्याउने गरी सम्झौता भएको हो।
पछिल्लो समय नेपालमा एकपछि अर्को लक्जरी होटलको ब्राण्ड व्यवस्थापनको रुपमा भित्रिरहेको बेला घलेले हालसम्मकै सबैभन्दा लक्जरी ब्राण्ड ल्याउने गरी सम्झौता भएको उनी निकट एक व्यवसायीले जानकारी दिए। होटल २०२६ को अक्टोबरदेखि सञ्चालनमा आउने छ।
घलेले यसअघि नै नेपालमा हालसम्मकै सबैभन्दा लक्जरी ब्राण्ड ल्याएर नेपालमा महँगा पर्यटकलाई ल्याउने घोषणा गरेका थिए। सबैभन्दा लक्जरी ब्राण्ड ल्याएर धेरैभन्दा धेरै खर्चालु पर्यटक नेपालमा ल्याउने चाहनाअनुसार म्यारियटको द लक्जरीसँग सम्झौता गरेको जनाएको छ। यद्यपि, घलेले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
निर्माणधिन होटलमा यसअघि म्यारियटअन्तर्गतकै सेराटन ल्याउने गरी सम्झौता गरेका थिए। तर, निर्माण अवधि लम्बिएको भन्दै सेराटन बीचमै फर्किएको थियो। सन् २०१४ मा घले र उनी श्रीमती जमुना घलेको संयुक्त कम्पनी एमआईटी ग्रुप होल्डिङले सुरुवाती लगानी ८ अर्बमा सुरु गरेका थिए।
१३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटल विभिन्न कारणले ढिलाई हुँदा लगानीसमेत बढेको छ। यद्यपि, होटलको लगानी बढेर कति पुग्यो भन्ने यकिन भने जानकारी दिइएको छैन।
म्यारियट बोनभोयको सबैभन्दा लक्जरी ब्राण्डको रुपमा द लक्जरी कलेक्सन रहेको छ। यसमा ६ वटा ब्राण्ड रहेको छ।
होटल सञ्चालनमा आएपछि करिब पाँच सयभन्दा बढीले रोजगारी पाउने छन्। २२५ वटा कोठा रहने होटल बेसमेन्टबाहेक १७ तलाको रहेको छ। होटलमा दुई हजार जना अट्ने क्षमताको बैक्युट हल, दुई वटा सभाहल, तीन वटा बैठक हल, चार वटा रेष्टुरेन्ट, फिटनेस क्लब, स्पा, इन्फिनिटिभ स्विमिङलगायतका सुविधाहरु सञ्चालन हुनेछ।
नेपालमा महँगा पर्यटक भित्र्याउँदै आएको कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्यले ‘द लक्जरी कलेक्सन’ को नेपाल प्रवेशलाई सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्। विश्व पर्यटन बजारमा स्थापित लक्जरी ब्रान्ड नेपाल भित्रिँदा उच्च खर्च गर्ने पर्यटकका लागि थप विकल्प खुल्ने उनले बताए।
कस्तो हो ‘द लक्जरी कलेक्सन ब्राण्ड’
म्यारियट बोनभोयको सबैभन्दा लक्जरी ब्राण्डको रुपमा द लक्जरी कलेक्सन रहेको छ। म्यारियटको लक्जरी भित्रको तेस्रो नम्बरमा यो ब्राण्ड पर्छ। यसमा ६ वटा ब्राण्ड रहेको छ।
तीमध्ये लक्जरी कलेक्सन ४० भन्दा बढी देशहरूमा १३० भन्दा बढी प्रख्यात होटल र रिसोर्टहरूको व्यवस्थापन गर्दै आएको छ।