काठमाडौं। हुन्डी तथा क्रिप्टो कारोबार, सम्पत्ति शुद्धीकरण र धितोपत्र बजारमा जालसाजीको आरोप लाग्दै नेपालका ठूला व्यापारिक घरानाहरू एकपछि अर्को सरकारको निशानामा पर्दैछन्। केही व्यवसायी प्रहरी नियन्त्रणमा पुगिसकेका छन् भने केही पक्राउको डरले देश छाडेर भागेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार केही व्यावसायिक घरानाका व्यवसायीका नाम उच्च तहमा छलफलमा आउन थालेका छन्। "विगतका सरकारसँग नजिक भएर अनुचित लाभ लिइरहेका केही व्यवसायी छन्", प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने, "तिनीहरूमाथि सरकारले सूक्ष्म निगरानी बढाइरहेको छ। यस्तो गतिविधिमा संलग्न भएको केही प्रमाण जुटाइएको छ।" सरकार अझै निजी क्षेत्रमाथि धरपकड गरेरै अघि बढ्ने सोचमा रहेको बुझिएको छ। व्यवसायीलाई थुन्ने र सामाजिक प्रतिष्ठामा आँच पुर्याउने काममा सरकार लाग्ने ती अधिकारीको बुझाइ छ।
दीपक भट्ट र सुलभ अग्रवाल : व्यवसायी दीपक भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरिसकेकाे छ। भट्ट पक्राउ परेपछि व्यवसायी शुलभ अग्रवाल पनि नियन्त्रणमा छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवालसहितको अनुसन्धान अन्तिम चरणमा पुगेको छ र छिट्टै मुद्दा दायर गर्ने तयारी भइरहेको छ।
शेखर गोल्छा : नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पनि अहिले प्रहरी नियन्त्रणमा छन्। धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ र सोही प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको बुझिएको छ। जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध अनुसन्धानका लागि ४ दिन म्याद दिएको छ। साेमबार उनकाे म्याद सकिँदै छ
विक्रम पाण्डे : निर्माण व्यवसायी तथा पूर्वसांसद विक्रम पाण्डेलाई पनि सरकारले नियन्त्रणमा लिएको छ। ई-प्रोक्युरमेन्ट प्रणालीमा अनाधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खुल्नु अगावै कागजात परिवर्तन गरिएको अभियोगमा उनी पक्राउ परेका हुन्।
देश छाडेर भागेका व्यवसायी
धितोपत्र बोर्डले तयार पारेको प्रतिवेदनमा जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, व्यवसायी ऋषिराज मोर र सन्दीप चाचान कसुरका आरोपित तथा रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता सहयोगीका रूपमा देखिएको उल्लेख छ। यी मध्ये राजबहादुर शाह, रोहित गुप्ता, अमित मोर र ऋषिराज मोरलगायत व्यवसायी पक्राउको डरले नेपाल छाडेर विदेश पुगिसकेका बताइन्छ।
यो पूरै प्रकरणको केन्द्रमा धितोपत्र बजारमा कृत्रिम मूल्यवृद्धि र सम्पत्ति शुद्धीकरणको जाल रहेको अनुसन्धानले देखाएको छ। नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रतिवेदनमा सुलभ र भट्टसहित शुभी अग्रवाल, शाह, व्यवसायी ऋषिराज मोर र सन्दीप चाचानलाई शंकास्पद भूमिकामा राखिएको छ। बोर्डले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छा र रोहित गुप्तालाई सहयोगीका रूपमा उल्लेख गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार हालसम्म सुलभ र दीपकसहित सीआईबीको नियन्त्रणमा रहेका गोल्छालगायत २५ जनाभन्दा बढीसँग बयान लिइसकिएको छ। विभागले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग पनि बयान लिइसकेको छ, जसले गत साता पदबाट राजीनामा दिए।
थप व्यवसायी राडारमा
प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार यो धरपकड यहीँ सकिने अवस्था छैन। हुन्डी र क्रिप्टो कारोबारमा संलग्न थप व्यवसायीहरूमाथि सरकारको नजर परिसकेको छ। अनुसन्धान निकायहरूले प्रमाण जुटाउने काम तीव्र गतिमा अघि बढाइरहेका छन्।
व्यवसायीमाथि लगातार धरपकड हुँदा एकातिर जनमानसमा सरकारले वाहवाही पाइरहेको छ भने अर्कातिर निजी क्षेत्रमा त्रास र अनिश्चितताको वातावरण पैदा भएको छ। उद्योग व्यवसायीहरू कानुनी प्रक्रियाको सट्टा राजनीतिक प्रतिशोधको आशंका पनि गर्न थालेका छन्।