काठमाडाैं । क्रिप्टोकरेन्सी, हाइपर फन्डलगायतका माध्यमबाट नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको जानकारी गराउँदासमेत राष्ट्र बैंकले वास्ता नगरेको अर्थमन्त्री जनार्दन शर्माले आरोप लगाएका छन् ।
आफूले सूचना ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको उनको भनाइ थियो । तर, यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेकोप्रति उनको चिन्ता थियो ।
‘प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन । यसको दुरुपयोग हुन नदिने गरी हामीले चाल्नुपर्ने कदममा ध्यान दिनुपर्छ’, उनले भने ।
अर्थतन्त्र यति बेला दबाबमा रहेको बताउँदै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताए । काम गर्ने परम्परागत शैलीलाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउन सक्ने उनको भनाइ थियो ।
मुलुकभित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधार निर्माण थालेर रोजगारी सिर्जना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको बताए ।
वैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने विषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको बताए ।
कोभिड १९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उनको भनाइ छ ।