काठमाडौं । नेपालले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूसएआईडी) बाट ६५ करोड ९० डलर (७९ अर्ब ७१) करोड रुपैयाँ अनुदान सहायता लिने भएको छ ।
शुक्रबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारले उक्त सहयोग लिने घोषणा गरेको हो । नेपालले ५ वर्षभित्र उक्त अनुदान खर्च गरिसक्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
प्रत्येक वर्ष १३ करोड २० लाख डलर (१६ अर्ब १३ करोड रुपैयाँ) अनुदान सहयोगको आवश्यक्ताका आधारमा उपयोग गर्न सकिने भएको छ । उक्त अवधिभित्र कुनै वर्ष धेरै वा थौरै गरेर उपयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, निजी क्षेत्रको क्षमता विकासलगायतका क्षेत्रमा उक्त अनुदान खर्च गर्न सकिने बताइएको छ । यसैगरी दुई देशको सहमतिअनुसार अन्य क्षेत्रमा पनि खर्च गर्न सकिने अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्यालले बताए ।
‘यो बृहत् अनुदान सम्झौता हो । आगामी आर्थिक वर्षको बजेटमार्फत नै यो अनुदान सुरु हुन्छ । अहिले ६५ करोड ९० लाख डलर स्वीकृत भएको हो । पछि १ अर्ब डलरसम्म पुग्न सक्छ’, उनले क्यापिटल नेपालसँग भने ।
१ अर्ब डलरसम्म अनुदान प्राप्त हुने बताइए पनि अहिले प्रतिबद्धता प्राप्त भएको अनुदान रकम मात्रै स्वीकृत गरिएको अर्यालले बताए । उक्त अनुदानमा खासै ठूला सर्तहरु नरहेको उनले बताए ।
अर्थतन्त्रमा विभिन्न वृहत पूर्वाधारका क्षेत्रमा लगानीको प्रतिबद्धता प्राप्त भएकाले सम्बन्धित विषयगत मन्त्रालयहरुले बनाएको आयोजनाअनुसार अनुदान खर्च हुने बताइएको छ । अर्थ मन्त्रालय, सम्बन्धित विषयगत मन्त्रालय र दातृ निकायहरुले आपसी समन्वयका आधारमा अनुदान खर्च गरिनेछ ।
यूएसआईडीले अहिले पनि नेपालको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहायता उपलव्ध गराइरहेको छ । त्यसलाई नै बृहत रूपमा अगाडि बढाउने उद्देश्यले अनुदान उपलव्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ ।