काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, श्यामवहादुर श्रेष्ठ, मनोज साह कलवार र विष्णु प्रसाद घिमिरेविरुद्ध राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
राजस्व चुहावट गर्ने मनसायले भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरू काठमाडौं ल्याई विना विल बिजक बिक्री गरी राजस्व चुहावट गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो ।
विभागका अनुसार जिल्ला पर्सा, साविक बगही गाउँविकास समिति वडा नम्बर ९, हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ ठेगाना भएका, रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, पाँचखाल नगरपालिका वडा नं ४ काभ्रेपलाञ्चोक स्थायी ठेगाना भएका ना. ७ ख १६७ नम्बरको ट्रकका धनी तथा चालक, वर्ष ३१ का श्यामवहादुर श्रेष्ठ रहेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका, विष्णु एण्ड विकेश सप्लायर्सको कारोबार हेर्ने व्यक्ति तथा रमाशंकर गुप्ताको काठमाडौं कारोबार हेर्ने कर्मचारी, वर्ष ४२ का मनोज साह कलवार, गुल्मी वाग्ला ७ स्थायी ठेगाना भएका विष्णु एण्ड विकेश सप्लायर्सका प्रोप्राइटर वर्ष ४२ का विष्णुप्रसाद घिमिरे, हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलमा बसोबास गर्ने भारतीय आधारकार्ड नम्बर भारतीय राजदूतावास काठमाडौंबाट जारी परिचयपत्र नम्बर ४८र०९ भएका, विमला इन्टरनेसनलको सम्पूर्ण कारोबार गर्ने, वर्ष ३२ का अमितकुमार अग्रवाल माथि मुद्दा दायर गरेको विभागले जनाएको छ ।