खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले ९ महिनाको अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो ।
विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा ५ हजार ४ सय १ सवारी साधनका चालकलाई कारबाही गरेको थियो ।
साउनमा २ लाख ६३ हजार, भदौमा ४ लाख ४४ हजार, असोजमा ४ लाख ७ हजार, कात्तिकमा ६ लाख ५३ हजार, मंसिरमा ७ लाख १० हजार, पुसमा ३ लाख ७८ हजार, माघमा ३ लाख ७९ हजार, फागुनमा ३ लाख ६३ हजार र चैतमा ३ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिए ।
ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।
यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताए। रासस