काठमाडौं । सरकारले आयातमा कडाइ गर्ने नीति लिए पनि आयातमा खर्च हुने रकममा खासै ठूलो परिर्वतन देखिएकाे छैन ।
भन्सार विभाागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैत महिनामा मात्रै नेपालले १ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरेको छ ।
फागुनसम्म १३ खर्ब ८ अर्बको सामान आयात भएको थियो । चैत महिनामा आइपुग्दा आयातमा खर्च भएको रकम १४ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । यसको अर्थ नेपालले चालू आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब रुपैयाँबराबरको सामान आयात गरको छ।
चालू आवको ९ महिनामा आयातमा खर्च भएको रकम गत आर्थिक वर्ष २०७७/०७८ को भन्दा ३१.९७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनदेखि चैतसम्मममा कुल ११ खर्ब ११ अर्बको सामान आयात भएको थियो ।
यसैगरी चालू आवको ९ महिनामा नेपालले १ खर्ब ६० अर्बको सामान निर्यात गरेको छ। निर्यात गत आर्थिक वर्षकाे भन्दा ६९.४४ प्रतिशतले बढी हो ।
गत आवको ९ महिनामा नेपालले ९४ अर्ब ७६ करोड रुपैयाँबराबरीको सामान निर्यात गरेको थियाे । समग्रमा चालू आवको ९ महिनामा नेपालको वैदेशिक व्यापारघाटा भने ३४.९१ प्रतिशतले बढेको छ ।
नेपालले ९ महिनामा कुल १६ अर्ब २७ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ ।
गत आर्थिक वर्षकाे सोही अवधिको वैदेशिक व्यापार १२ खर्ब ६ अर्ब रुपैयाँ थियो ।
यसैगरी नेपालको व्यापारघाटा चालू आवको ९ महिनामा २८.४७ प्रतिशतले बढेको छ । चालू आवको ९ महिनामा कुल व्यापारघाटा १३ खर्ब ६ करोड रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा नेपालको व्यापारघाटा १० अर्ब १६ अर्ब रुपैयाँ थियो ।