काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।
विभागको तथ्याङ्कअनुसार ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रूपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख रूपैयाँबराबरको सामान निर्यात भएको थियो ।
चालू आवको ९ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । ९ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रूपैयाँ बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रूपैयाँ बढीको आयात भएको थियो ।
२८ प्रतिशतले बढ्यो व्यापार घाटा
निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको नौ महिनामा रु साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालू आवको ९ महिनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड रूपैयाँ बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रूपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस्तैगरी चालू आवको ९ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रूपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख रूपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
२ खर्बको पेट्रोलियम पदार्थको आयात
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महिनाको तथ्याङ्कअनुसार नेपालले रु दुई खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ ।
९ महिनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रूपैयाँबराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।
तथ्याङ्कअनुसार ९ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा १ खर्ब ५अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रूपैयाँ बढीको पेट्रोलको आयात भएको हो ।
४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रूपैयाँ बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । ९ महिनाको अवधिमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजार रूपैयाँको सोयाविन तेल, ३२ अर्ब ४ करोड ७८ लाख रूपैयाँ बराबरको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख रूपैयाँ बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख रूपैयाँ बराबरको सुन आयात भएको छ ।
१६२ देशबाट आयात
विभागले सार्वजनिक गरेको चालू आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट १४ खर्ब ६६ अर्ब रूपैयाँ बढीको आयात भएको छ ।
तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख रूपैयाँ बढीको आयात गरेको छ भने १ खर्ब २७ अर्ब ८९ करोड ५४ लाख रूपैयाँ बराबरको निर्यात गरेको छ ।
नेपालले भारतसँग मात्रै ७ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रूपैयाँ बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट ९ महिनामा २ खर्ब ११ अर्ब ५ करोड ८० लाख रूपैयाँ बराबरको आयात भएको छ भने ६२ करोड २८ लाख ६२ हजार रूपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र २ खर्ब १० अर्ब ४२ करोड ५१ लाख रूपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।