काठमाडौं । चालू आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापारघाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
चालू आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४.९४ प्रतिशतभन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापारघाटा ११ खर्ब ४५ अर्ब ६३ करोड थियो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब रुपैयाँबराबर पुगेको छ । यस्तो व्यापार अघिल्लो आवकाे तुलनामा ३०.४९ प्रतिशतले बढी हो ।
गत आवको १० महिनाका अवधिमा मुलकको वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोडबराबको थियो । सार्वजनिक तथ्यांकअनुसार वैदेशिक व्यापारमा उल्यख्य वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापारघाटा चुलिँदो देखिन्छ । विभागका अनुसार गत आवको पहिलो १० महिनाका तुलनामा मुलुकमा आयात २७.९५ प्रतिशतले बढेको छ ।
गत आवको वैशाख मसान्तसम्म १२ खर्ब ५४ अर्ब रुपैयाँबराबरका वस्तु आयात भएकामा चालू आवको समीक्षा अवधिसम्म आयात १६ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै २०७७/७८ को पहिलो १० महिनाका तुलनामा चालू आवको निर्यात ५९.८० प्रतिशतले बढेको छ ।
गत आवको वैशाख मसान्तसम्म १ खर्ब ८ अर्ब ४७ करोड मूल्यबराबरकाे वस्तु निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा १ खर्ब ७३ अर्ब बढी मूल्यकाे वस्तुको निर्यात भएको छ । विभागका अनुसार गत आवको पहिलो १० महिनासम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.०४ प्रतिशत रहेकामा यस्तो हिस्सा १.९४ प्रतिशतले घटेर चालू आवमा ९०.२५ प्रतिशतमा आएको छ ।
त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २२.४६ प्रतिशतले बढेको छ ।
गत आवको वैशाख मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.९६ प्रतिशत रहेकामा चालू आवमा ९.७५ प्रतिशत पुगेको छ । चालू आवको १० महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै रहेको देखिन्छ । यस आवको वैशाख मसान्तसम्म मुलुकमा १ खर्ब २३ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको डिजेल भित्रिएको छ । त्यस्तै पेट्रोल ५४ अर्ब ८३ करोड तथा एलपी ग्यास ५२ अर्ब ५९ लाख बढीको भित्रिएको विभागले जनाएको छ ।
पेट्रोलियम पदार्थपछि भटमासको तेल आयात भएको तथ्यांकले देखाउँछ । १० महिनाकाे अवधिमा ४९ अर्ब ४१ करोड मूल्यभन्दा बढीको भटमासको तेल आयात भएको छ । त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्यांकानुसार स्वदेशबाट ४५ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीकोे तेल निर्यात भएको छ ।
व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ । जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा अल्पकालको लागि बढाएको देखिन्छ । त्यस्तै प्रकृतिको निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेलजस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधन भएर निर्यात हुने गरेको छ ।
सार्वजनिक विवरणानुसार चालू आवको पहिलो १० महिनासम्म ३७ अर्ब ९४ करोड मूल्य भन्दा बढीको पाम तेल निर्यात भएको छ ।
भारतबाट मात्रै ९ खर्ब बढीको आयात
सार्वजनिक तथ्यांकअनुसार चालू आवको फागुनसम्म नेपालले भारतबाट करिब ९ खर्ब ९५ अर्बभन्दा बढी मूल्यमा वस्तु आयात गरेको देखिन्छ भने १ खर्ब ३७ अर्ब मूल्यबराबरकाे वस्तु निर्यात गरेको छ । जसअनुसार नेपालको व्यापारघाटा भारतसँग मात्रै ८ खर्ब ५८ अर्ब भन्दा धेरै छ । त्यस्तै नेपालले चीनबाट २ खर्ब २६ अर्ब मूल्यबराबरकाे वस्तु आयात गरेकामा ६७ करोड ४४ लाख मूल्यबराबरको वस्तु निर्यात गरेको देखिन्छ ।
चालू आवको १० महिनामा सबैभन्दा धेरै वीरगन्ज नाकाबाट ५ खर्ब ७६ अर्ब रुपैयाँभन्दा बढीकाे वस्तु आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट २ खर्ब ५० अर्ब बढी मूल्यबराबरकाे वस्तु आयात भएको तथ्यांकमा उल्लेख छ ।
नेपालले वीरगन्ज भन्सारबाट ७३ अर्ब ९ करोड, विराटनगर भन्सारबाट ४९ अर्ब २८ करोड तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट २६ अर्ब ४४ करोडभन्दा बढी मूल्यका वस्तु मुलुकबाहिर निर्यात गरेकाे छ ।