काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताएका छन् । बागमती प्रदेशसभाको दसाैं अधिवेशन बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले हेटौंडा अस्पतालमा नै मिर्गौला प्रत्यारोपण सुरु गर्ने गरी सरकारले काम गरिरहेको बताए । यसका लागि धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य भइरहेको उनले उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताललाई छुट्याएर दुवैको संस्थागत विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले हेटौंडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको अस्पतालको रुपमा विकास गर्ने गरी काम भइरहेको उल्लेख गरे । त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै लागि केन्द्र सरकारबाट स्वीकृति लिएर हेटौंडामा साढे १२ बिघा जमिनको व्यवस्था गरिएको उनकाे भनाइ थियाे ।
त्यस्तै यातायात क्षेत्रको सुधारका लागि ट्रायल सेन्टरको स्थापना, त्यसको पूर्ण सञ्चालन तथा त्यहाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन गरी सवारी चालक प्रमाणपत्र दिने सन्दर्भमा उल्लेख्य काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । सार्वजनिक सवारी साधनमा विद्युतीय भाडा तिर्ने प्रविधि लागू गर्न प्रदेश सरकारले कार्यविधि पास गरिसकेको बताउँदै सरकारले भैंसे–भीमफेदी सडक विस्तारका सन्दर्भमा देखिएको समस्या समाधानका लागि क्षतिपूर्ति निर्धारणसम्बन्धी कार्यविधि पारित गरी स्थानीयलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाएको र उनीहरुले चाँडै क्षतिपूर्ति पाउने मुख्यमन्त्री पाण्डेको भनाइ छ । अहिले सडक विस्तारको काम भइरहेको छ ।
त्यस्तै पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाइन् । उनले देशभर उच्च मूल्यवृद्धि भएकामा चिन्ता व्यक्त गर्दै जनताको दैनिकीमा समस्या सिर्जना भएको उल्लेख गर्दै उनले संघीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचनमा गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहोलबाट डराएर एमालेले जो भेट्यो त्यहीसँग चुनावी तालमेल गरेको आरोप लगाए । बैठकमा विवेकशील साझाका संसदीय दलका नेता रमेश पौड्याल र नेपाल ममजुर किसान पार्टीका सुरेन्द्र गोसाईँ, राप्रपाकी रीना गुरुङलगायतले प्रदेश सरकारले जनताको भावनाअनुरुप काम गर्न नसकेको आरोप लगाए । उ
५ अध्यादेश पेस
बागमती प्रदेशसभामा आज ५ अध्यादेश पेस भएको छ । आजदेखि सुरु भएको प्रदेशसभाको दसाैं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट ५ अध्यादेश पेस भएको हो ।
सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनलाई अध्यादेशमार्फत ल्याएका कारण सदनमा पेस गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गरेका हुन् ।
त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेस गरे । प्रदेश निजामती सेवा अध्यादेश, २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७८ संसद्मा पेस भएको छ । आजै बसेको दोस्रो बैठकमा अर्थमन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको प्री बजेटसमेत पेस गरेका थिए ।