काठमाडौं । आगामी आर्थिक वर्षदेखि व्यक्तिगत आयकरको सीमा र वृद्धभत्ता दुबै बढ्ने भएको छ । सरकारले व्यक्तिगत आयकरको सीमा अहिलेको ४ लाखबाट बढाएर ६ लाख रुपैयाँसम्म पुर्याउने भएको छ ।
व्यक्तिगत आयकरको सीमा राख्न विभिन्न अप्सनहरुमा छलफल भइसकेको छ । अर्थ मन्त्रालयले त्यसबाट हुन सक्ने कर नोक्सानको विश्लेषणसमेत गरेको छ ।
व्यक्तिगत आयकर सीमा ६ लाख रुपैयाँसम्म राख्दा कर संकलन धेरै नघट्ने देखिएपछि यसैलाई कायम गर्ने सोचमा अर्थ मन्त्रालय पुगेको छ । आयकरको सीमा एकदमै कम भएको भन्दै सरकारको चौतर्फी आलोचन भइरहेका बेला सरकार आगामी आर्थिक वर्षदेखि बढाउन लागेको हो ।
अहिले आयकरको व्यक्तिगततर्फको न्यूनतम सीमा विवाहितका लागि वार्षिक ४ लाख ५० हजार र अविवाहितका लागि ४ लाख रुपैयाँ र १ प्रतिशत मात्रै कर लाग्छ । हालको आयकरको सीमालाई हेर्दा ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्म १० प्रतिशत कर लाग्छ ।
५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्म २० प्रतिशत कर लाग्छ । ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्म ३० प्रतिशत र २० लाखमाथि ३६ प्रतिशत कर लाग्दै आएको छ । ‘वृद्धभत्ता र व्यक्तिगत आयकरको सीमा बढाउने निर्णय भइसकेको छ’ अर्थस्रोतले भन्यो ।
आयकरको सीमा न्यूनतम ५ लाखदेखि बढीमा ६ लाख रुपैयाँसम्म पुग्ने भएको छ । करको विषयमा शनिबार निर्णय हुने स्रोतले बतायो । यस्तै स्रोतमा कर कट्टी (टीडीएस) को दरमा हेरफेर नहुने स्रोतले जानकारी गरायो ।
यस्तै कमर्चारीको तलववृद्धि, वृद्धभत्ता र करको विषयमा आजै निर्णय गरेर आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटलाई अन्तिमरुप दिने अर्थ स्रोतले बतायो ।
वृद्धभत्ता बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठवन्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्माबीच शुक्रबार छलफल भएको थियो ।
दुई नेताहरुबीचमा वृद्धभत्ता बढाउने विषयम सहमति भएको स्रोतको भनाइ छ । ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई वृद्ध भत्ता दिने र १ हजार रुपैयाँ बढ्ने भएको छ ।