काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कर घटाएर भए पनि पेट्रोलियप पदार्थको मूल्य कम गराउन सुझाएका छन् ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बारे संघीय संसदको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले भने “सरकारले कर घटाएर वा हटाएर भए पनि पेट्रोलियम पदार्थ सस्तो बनाउनुपर्छ यसतर्फ सरकारको ध्यान जाओस ।”
“रुस र युक्रेन युद्धको असर विश्वभरी पर्दा यसबाट नेपाल पनि अछुतो रहन नसक्ने अवस्था छ। यो समस्यासँग सामना एउटा राजनीति दल र सरकारले मात्र गर्न सक्दैन त्यसले सबैको सहयोग आवश्यक छ” उनले भने “महंगीले जनताको ढाड सेकिएको छ । भान्साबाट विद्रोह हुने परिस्थिती बन्दै गएको छ ।”
मूल्य वृद्धिको मारबाट जोगाउन कर छुट दिएर मूल्य समायोजन गर्ने कोशिस भएको छ । कर घटाएर हटाएर जसरी भएपछि पेट्रोलियमको मूल्य वृद्धि रोक्न उनले सरकारलाई सुझाए ।
आत्मनिर्भर हुने प्रक्रियामा जानुपर्ने अवस्था आएको बताउदै अध्यक्ष दाहालले कृषिलाई व्यवसायिकरण, यान्त्रिकरण गरेर उत्पादनमा गुणात्मक फड्को मार्नुपर्ने बेला आएको उल्लेख गरे ।
उत्पादन बढाएर आत्मनिर्भरका निम्ति रेडिकल रिर्फमा निर्णय लिनुपर्ने अवस्था आएको उनको भनाई छ । कतिपय वस्तुको आयात रोकेर देशभित्रको उत्पादनलाई जोड दिनुपर्ने अवस्था आएको उनको भनाई छ ।
५० वर्षअघि धानलगायत अन्य अन्न वाली निर्यात गर्नुपर्ने अवस्थामा रहेको स्मरण गर्दै दाहालले प्रश्न गरे अहिले किन खर्बौंको कृषिजन्य वस्तु आयात गर्ने अवस्थामा कसरी पुग्यौं ? उत्पादन बढाउन रेडिकल रिफर्मतिर लैजान सक्यौ भने जनतामा खुशियाली दिन सकिने उनको भनाई छ ।
सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका विषयमा प्राथमिकता दिएकाले सही मार्गमा डोहोरिएको बताए ।
मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिँदै उनले दक्षिण छिमेकी मुलुकले केही खाद्यान्न निर्यातमा रोक लगाएका अवस्थालाई अवसरका रुपमा लिनुपर्ने बताए । “नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि के कस्ता नीति बनाउनुपर्ने, के कस्तो मेहनत गर्नुपर्ने अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।”