काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखी रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए ।
‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ’, भेटमा उनले भने । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ ।
सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । हालसम्म ३ अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजनाहरू सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजनाहरू निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए ।
‘विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ’, मन्त्री शर्माले भने । सो अवसरमा आर्थिक वर्ष ०७९/८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले जानकारी गराएका थिए ।
‘मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुको रुपमा उल्लेख गरेको छु’, उनले भने ।
सो अवसरमा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताइन् । उनले नेपालको विकास साझेदारका रूपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्याउने जानकारी गराएकी थिइन् ।