काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आयोजना भएको स्टक क्लियरेन्स मेला सकिएको छ । गत बुधबारदेखि सुरु भएको मेलाको ५ दिनमा ९२ हजारले अवलोकन गरेका छन् । चाड पर्वका लागि सस्तोमा सामान किन्न आउनेहरुको चापले आयोजक तथा व्यवसायीहरु उत्साहित बनेका छन् ।
इभेन्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भएको मेलाले एकै छानामुनी सेवाग्राहीलाई सस्तो मूल्यमा गुणस्तरीय सामान किन्ने अवसर प्रदान गरेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यस किसिमका मेलालाई चेम्बरले प्रवद्र्धन गर्दै लैजाने उनले बताए ।
असोज ३ गते संविधान दिवस तथा भोलिपल्ट शनिबार गरी २ दिन बिदा परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिति भएको इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
इभेन्ट सोलुसनले पछिल्लो ३ वर्षदेखि नियमितरुपमा स्टक क्लियरेन्स मेला आयोजना गर्दै आइरहेको छ । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ सञ्चालन गरिएको मेलाबाट उपभोक्ता र व्यवसायी दुवै लाभान्वित भएको सोलुसनका बजार निर्देशक नवीन भट्टले बताए ।
मेलामा जुत्ता तथा चप्पल उद्यमी समूह अन्तर्गतका ४ ओटा नेपाली ब्रान्डका शोरुममा अवलोकनकर्ता तथा ग्रागहकको विशेष चाप देखिएको थियो । बीएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्यान्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने भएकाले खरिदकर्ताको चाप बढेको बीएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए ।
रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्टक क्लियरेन्स मेला सकिए पनि ४ ब्रान्डको जुत्ता मेला भने फूलपातीसम्म निरन्तर चलिरहनेछ । अलग्गै डूममा चलिरहेको जुत्ता मेलामा स्पोर्टस, क्याजुअल तथा पार्टी सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको छ ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्यान्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता थियो ।